‘मैदान अभाव तर यू-२० साफ च्याम्पियनशिपको तयारी पूरा भयो’

|

काठमाडौँ : अखिल नेपाल फुटबल संघ (एन्फा) ले खेल्ने मैदान अभावकै बीच साफ यू–२० च्याम्पियनशिपको तयारी पूरा भएको जनाएको छ।

आगामी भदौ २ गते नेपालमा शुरु हुने च्याम्पियनशिपमा ६ राष्ट्रले प्रतिस्पर्धा गर्ने छन् तर बिहीवार एन्फाले पत्रकार सम्मेलन गर्दै आफ्नो तयारी पूरा भएको जनाए पनि मैदानबारे भने अहिलेसम्म अन्योल प्रकट गरेको छ। 

नेपालले उद्घाटन खेलमा आइतवार श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ तर मैदानको अवस्था नाजुक भएकाले उद्घाटन खेल पनि सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सर्न सक्ने सम्भावना बढेको छ। 

म्याच कमिस्नरले मैदान हेरेपछि मात्र च्याम्पियनशिप कहाँ गर्नेबारे टुंगो लाग्ने एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिए।

एन्फाले सहभागी टोलीका लागि लगनखेलस्थित आर्मीको फुटबल मैदान, च्यासल र एन्फा कम्प्लेक्सलाई ट्रेनिङ मैदानको विकल्पका रूपमा तयारी भइरहेको बताएको छ।

फिफा र एएफसीले रंगशाला निर्माणमा सघाउने

एन्फा उपाध्यक्ष दीपक खतिवडाले फुटबल रंगशालाको अभाव भइरहँदा फिफा र एएफसीबाट रंगशाला निर्माणमा सहयोग हुने पत्र आइसकेको उल्लेख गरे।

त्यसैले एन्फाले जग्गा खोजिरहेको उनले बताए। सरकारले नै जग्गा दिए आफूहरू रंगशाला बनाउन तयार रहेको उनले बताए। 

टिकटको मूल्य मैदान तय‍ भएपछि तोकिने

मैदान तय भएपछि सातदोबाटोको एन्फा कम्प्लेक्सका लागि टिकट मूल्य निर्धारण गरिने भएको छ। सातदोबाटोमै खेल भए सामान्यतर्फको मात्र टिकट बिक्री हुने भएको छ।

दशरथ रंगशालामा नै खेल भए सामान्यतर्फ २ सय र भिआइपीतर्फ ५ सय मूल्य तोकिएको छ। 

दक्षिण एशियाली फुटबल महासंघ (साफ) ले सार्वजनिक गरेको खेलतालिकाअनुसार समूह चरणका ६ खेलसहित सेमिफाइनलका २ र फाइनल खेल दशरथ रंगशालाको मैदानमै हुने तय छ।

प्रतियोगितामा नेपाल समूह ‘ए’मा परेको छ। नेपालको समूहमा बंगलादेश र श्रीलंका छन्। समूह ‘बी’मा साविक विजेता भारत, माल्दिभ्स र भूटान छन्।

नेपाली यू–२० टोलीले उज्जन श्रेष्ठको प्रशिक्षणमा तयारी गरिरहेको छ। 

प्रतियोगिताका लागि माल्दिभ्सको टोली आजै नेपाल आइसकेको छ। भूटान, श्रीलङ्का र भारत यही साउन ३२ गते नेपाल आइपुग्ने छन्।

बंगलादेश भदौ १ गते नेपाल आइपुग्ने तय भएको आयोजक एन्फाले जनाएको छ।

नेपाली टोलीमा जियारथ शेख, कृशल मोक्तान, विशाल केसी, सिमान्त थापा, अश्विन घोरासैनी, विक्रम तामाङ, आयुष तिम्सिना, अविनाश स्याङ्तान, जनप्रकाश बम, लक्षु थापा र मदन पौडेल छन्। 

राम थापा, समिन घिमिरे, सरोज दर्लामी, निनसाङ लिम्बू, कुशल देउवा, निरज कार्की, हरिश राज भट्ट, धर्मेन्द्र कुँवर, अनिल बम्जन, समिर तामाङ, निराजन धामी र रोहन खड्गी पनि नेपाली टोलीमा समावेश रहेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.