|

काठमाडौँ : नेपालको एकमात्र अन्तरराष्ट्रिय स्तरको दशरथ रङ्गशालाको अवस्था बिग्रिएपछि पर्सी (आइतवार) शुरु हुने साफ यू–२० च्याम्पियनशिप फुटबल प्रतियोगिता सातदोबाटोमा गराइने भएको छ।

दशरथ रङ्गशाला खेल्न नमिल्ने गरी बिग्रिएकोले च्याम्पियनशिप एन्फा मैदान सातदोबाटो सारिएको हो। 

अखिल नेपाल फुटबल संघ (एन्फा) ले रङ्गशालाको अवस्था खेल्न नमिल्ने भएपछि खेल एन्फा मुख्यालयको एस्टो टर्फमा खेलाउन लागिएको जानकारी दिएको हो। 

एएफसी च्यालेन्ज कपको प्लेअपअन्तर्गत चर्च ब्वाइज युनाइटेड र भुटानको पारो एफसीबीच मंगलवार भएको खेलले दशरथ रङ्गशालाको अवस्था बिग्रिएको थियो।

हिलाम्मे मैदान र खेलाडीको बिजोग अवस्थाबारे सर्वत्र आलोचना भएको थियो दशरथ रङ्गशालाको अवस्था देखेपछि दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) ले एन्फालाई मैदानको विकल्प खोज्न आग्रहसमेत गरेको थियो।

मैदान अभावका कारण यस च्याम्पियनशिप एन्फाको टर्फमै खेलाउने र फाइनल खेल दशरथ रङ्गशाला हुने एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिए। 

च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको पनि बिहीवार एन्फाले जनाएको छ। च्याम्पियनशिपका भाग लिन माल्दिभ्स टोली बिहीवार नै नेपाल आइपुगेको छ। अन्य टोली शनिवारसम्म आइपुग्नेछन्। 

साफ यू-२० च्याम्पियनशिप ६ देशको सहभागिता रहनेछ। सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा नेपालसहित बंगलादेश र श्रीलंका रहेको छ। 

समूह ‘बी’ बाट भारत, माल्दिभ्स र भुटान रहेका छन्। उद्घाटन खेलमा नेपाल र श्रीलंकाले प्रतिस्पर्धा गर्नेछन्। च्याम्पियनशिपका लागि एन्फाले नेपाली खेलाडी टोलीको घोषणासमेत गरिसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.