काठमाडौं : लेखक सरला गौतमको नवीनतम कृति ‘अम्रिकाने काशी’ केही दिनअघि प्रकाशन भएको छ। सामाजिक, राजनीतिक र पर्यावरणीय क्षेत्रमा कलम चलाउँदै आएकी गौतमले यो उपन्यासमा विवेकशील एक कुकुरलाई केन्द्रीय पात्र बनाएकी छिन्।
उपन्यासमा मुस्ताङकको लेतेमा जन्मिएको कुकुर ‘काशी’ले आफ्ना हक अधिकारका लागि अमेरिकासम्म पुग्छ। अधिकार स्थापनाका लागि मानव समाजसँग संघर्ष गर्छ।
यसअघि डुमेरो (उपन्यास) र पिञ्जडाको मान्छे( निबन्ध) ल्याएकी गौतमको यो तेस्रो कृति हो। उनीसँग यही कृतिमा आधारित भएर थाहाखबरकर्मी राजु पौडेलले गरेको कुराकानीको सम्पादित अंश-
कहिले दुनै, कहिले किमाथांका, कहिले गड्डाचौकी होस या मेचीनगर पुगेर त्यहाँको समाजको वस्तुस्थितिको बारेमा लेख्ने एउटा लेखकले हामीले आफ्नै वरिपरी देखिरहेको तर खासै चासो नदिने गरेको कुकुरलाई केन्द्रीय पात्र बनाएर पुस्तक लेख्नुभएको छ। के कुराले ‘ट्रिगर’ गर्यो?
तपाईँले मलाई मेरो यात्रा सम्झाउनु भयो। मलाई लेखक बनाएकै यात्राले हो। यात्राको क्रममा मैले भेटेका मान्छेहरू हुन्, लेखनको प्रेरणा स्रोत। प्रकृतिको अनुपम छँटामा म रम्दै हिँडेको छु। अनकन्टारमा कहिले गुनगुनाँउदै, कहिले कहालिँदै हिँडेको छु। यात्राको क्रममा पछिपछि लागेर अनेकौँ कुकुरले साथ दिएका छन्।
मधेश आन्दोलन चर्केको वेला म त्यहीँ थिएँ। म बसेको घरमा दुईवटा कुकुर थिए। राति बाहिर ट्वाइलेट जानुपर्दा कुकुरहरू ढोकामा बसेर साथ दिन्थे। कतै काममा जाँदा उनीहरू मेरो पछिपछि हिँड्थे। फेरि त्यही ठाँउमा लिन पनि आँउथे। मानिसहरूसँग जोगिएर सतर्क भएर हिँडेको समय थियो।
ती अबोध प्राणीहरू मेरो अङ्गरक्षक भएर हिँडेका थिए। कुकुरप्रति मेरो मनमा एक खालको गाढा माया त्यही वेलादेखि बस्यो। आफ्नो पेसामा पण्डित ठहरिएर बसेका मानिसहरूबाट माया होइन इर्ष्या र असहयोग भेटेँ। साधारण भनिएका मानिस, जनावर, रुख बिरुवा र सिङ्गो प्रकृतिबाट धेरै सिकेँ। माया पाएँ। समाज, प्रकृति र केटाकेटीको प्रेमले मलाई अम्रिकाने काशीको लेखक बनायो।
उपन्यासमा विभिन्न प्राणीहरूको प्रश्न छ। विद्रोह छ। ममता छ र सबैभन्दा ठूलो कुरा चित्कार छ। प्राणीहरूको चित्कार सुनाउन प्राणीहरूकै चरित्र निर्माण गरिदिनुभयो। मान्छेले मान्छेको भाषा बुझ्न छोडेँ भन्ने लागेर प्राणीलाई माध्यम बनाउनु भएको हो?
तपाईँले चित्कार धेरै छ भन्नुभयो यो होइन। काशीमा प्राणीहरूको वेदनाको साथमा दृष्टिकोण छ। हामी मानिसहरूसँग अहिले जे चाह्यो त्यही छ। तर दृष्टि फराकिलो छैन। दृष्टि उदार नभएपछि दृष्टिकोण बलियो हुने कुरै भएन। जस्तै मै हुँ भन्ने विद्वान् होस वा शासक सबै दृष्टिकोण हराएका ‘बुख्याचा’ भएका छन्।
नयाँ कुरा जान्ने जोश र उदारता छैन। जानेको कुरा बोल्दाबोल्दा थोत्रो भइसक्यो। मानिसहरूमै पनि जो कम बोलिरहेछन्, उनीहरू दृष्टिकोणले भरिपूर्ण छन्। किनभने उनीहरू धेरै कुरा ‘अब्जर्ब’ गरिरहेछन्। मान्छेले मान्छेकै भाषा पनि त कहाँ बुझेको छ र? सुनेको त छैन। आदिवासीहरूले जानेको ज्ञान र उनीहरूले देखाउने संवेदनाको कुरा कसले सुन्छ ? प्राणीहरूको कोणबाट यो संसार कस्तो देखिएला !
यो त केवल कल्पना हो। अहिले त उनीहरूको हाउभाउ र ‘रियाक्सन’बाट अनुमान गर्ने कुरा हो। उनीहरूलाई थोरै नियालेर मात्र हेर्ने हो भने पनि धेरै कुरा थाहा लाग्छ। यो दुनियाँका मुठ्ठिभर मानिसहरूको मुर्खता नै विचार होइन। नबोलिरहेका मानिस र बाँकी प्राणीको विचार, व्यवस्थित र सुखी संसारका लागि आवश्यक छ। जनावरहरू यो धर्तीका पात्र हुन्। हाम्रो लेखनको पनि पात्र स्वत: बन्नुपर्छ।
हरेक सजीव वस्तुको आफ्नै भाषा हुन्छ। काशीले नेपालदेखि अमेरिकासम्म पुग्न खुबै विद्रोह गर्यो। उनीहरूको भाषा बुझ्न कल्पनाशक्तिले मात्र काम गर्ने रहेछ कि लेखकले अन्य केही ‘टेक्निक’ पनि अपनायो?
जनावरको मनको कुरा सोच्न र लेख्न कल्पनाले मात्र पुगेन। वरिपरीको परिवेशमा जनावरको संसार नियाल्न पर्यो। कुकुर, बाँदर बिराला, हात्तीहरूको स्वभाव नियालेँ। कथा सुनेँ। समाचार र रिपोर्टहरू पढेँ। भिडियोहरू हेरेँ। परेवा त मेरै वरिपरि छन्। उनीहरूको तौरतरिका र पारा नियाल्दा पनि कति कुरा थाहा भयो।
कोठामा आउने साङ्ला र मुसा पनि कति बाठा हुन्छन्। परेवाले विद्रोह गरेको त आँफैले भोगेँ। चारो दिन ढिलो गरेको बेला बैठकमै आएर पर्दा माथिमाथि हिँडिदिन्थे। बाहिर जाऊ भन्दा पनि नमान्ने। परेवाले चटक देखाउन सक्छ भने कुकुर त झण्डै मान्छे जस्तै त हुन्छ। कुकुरको कथा, फिल्म, वास्तविक जीवनमा उनीहरूको दैनिकी सबैले मलाई सहयोग गर्यो। कल्पनाबाहेक प्राणीहरूको चालचलनको अध्ययन महत्त्वपूर्ण रह्यो।
हाम्रो समाजका कुनै पनि प्राणी मान्छेले दया गर्नुपर्ने हिसाबले कमजोर छन् या मानिसले नै उनीहरूलाई कमजोर बनाएर दयाको पात्र बनाइरहेका छन्?
प्राकृतिक व्यवस्थामा न कोही कमजोर छ, न कोही बलियो। यो केवल परिस्थितिको कुरा हो। नत्र बाँधिएको भैँसीले बाघ कसरी मार्न सक्छ? बाँदरको झुण्डमा मान्छे एक्लै उभिन सक्दैन। कमिलाको बथानले न्याउरी मुसा सिध्याउन सक्छ। शहरमा बाघ डराउला। जंगलमा मान्छेको सातो जान्छ।
मान्छेले समूहमा चल्न, सोचविचार गर्न र निर्णय गर्न सक्यो। पूरै सामाजिक संरचना आफ्नो ‘फेवर’मा निर्माण गर्यो। केही बलिया मानिसहरू संसारको स्रोत त, साधनको अधिपति भए। बाँकी मानिस कमजोर होइनन्, सामूहिक विचार निर्माण र शासन प्रणालीभन्दा बाहिर भएका मात्र हुन्। यो पृथ्वीमा कहिले कस्को पालो घुमेर आउँछ भन्न सकिन्न।
पर्खालभित्रका प्राणीहरू दैनिक रूपमा भोका हुँदैनन्, तर, मालिकको बन्धनमा छन्। पर्खालबाहिरका प्राणीहरू स्वतन्त्र जस्ता देखिए पनि मान्छेबाट मारिने डरमा छन्। यी दुवै थरिकाका प्राणीको चित्कारमा केके समानता होलान्? केके असमानता देख्नुभयो?
जनावरको दुनियाँलाई म मानिसकै संसारसँग तुलना गर्छु। मान्छेले निर्माण गरेको बन्द संरचनामा खाना छ, छाना छ बन्धन पनि छ। जनावर पनि जो घरमा छन्, मानिसको नियममा कैद छन्। कतिपय त डोरीले बाँधिएरै बसेका छन्। मानिसलगायत सबै प्राणी प्राकृतिक अस्तित्व स्वतन्त्रता हो। स्वतन्त्रताको अर्को सिक्का जोखिम हो। यसैले चार दिवार भित्र हुनेहरू तुलनात्मक रूपमा सुरक्षित छन्। स्वतन्त्र छैनन्। पर्खाल बाहिर स्वतन्त्रता छ। सुरक्षाको ग्यारेन्टी छैन। स्वतन्त्रता चाहने जोखिम मोल्छन्। सुरक्षा चाहनेले कैद रोज्छन्।
उपन्यासमा पात्रले एक ठाउँमा प्रश्न गर्छ- मान्छेले आफैँलाई किन सर्वश्रेष्ठ ठान्छ? समयको चक्रसँगै प्राणीले नै प्रश्न गर्नुपर्ने अवस्थामा आइपुग्दा पनि मान्छे आफूलाई आफैँलाई किन सर्वश्रेष्ठ ठानिरहेको छ?
मानिसले आफूलाई किन ठालु ठान्छ, अचम्मै छ। बाँकी प्राणी जस्तै उ पनि प्रकृतिको आश्रयमा जिउने एक जनावर हो। प्राकृतिक व्यवस्थाको एक हिस्सा हो।
आफ्नो अस्तित्वलाई एक मिनेट नियालेर हेर्यो भने यो भ्रम समाप्त होला। प्रकृतिमाथि विजय हासिल गर्न सक्छु भन्ने मानिसको दम्भ र भ्रमलाई सिध्याउन एउटै खोलाको बाढी काफी छ। यसैले मानिसले आफूलाई श्रेष्ठ ठान्नुभन्दा पहिला विवेकी बनाउन जरुरी छ। विवेक अरुका लागि होइन मानिस स्वयंको जीवनका लागि चाहिएको छ।
कुकुर (विविध प्राणी) माथिको आख्यान लेखन केवल रहर मात्र होइन होला, यिनीहरूले भोगिरहेको प्रसव पीडा आख्यानमार्फत लेखेर सामाजिक रूपान्तरण हुने कुरामा लेखक स्वयं कति विश्वस्त छ?
अम्रिकाने काशीले प्राणी र प्रकृतिको वकालत गर्छ। यो केवल कुकुरको आत्मकथा होइन। मान्छेले विरूप पार्दै गएको सामाजिक प्राकृतिक व्यवस्थाविरुद्धको खबरदारी हो। यो बिग्रिएको व्यवस्थामा मानिसकै पनि हित समेटिएको छैन। प्राकृतिक न्यायको कुरा नगरी सामाजिक राजनीतिक न्यायको कुरा पूर्ण हुँदैन। मानिसकै संसार राम्रो हुन, खोलानाला, खेतबारी, वनजंगल, बोटबिरुवा र बाँकी प्राणीपक्षीको संसार राम्रो हुनुपर्छ। विकास र पर्यावरणको सन्तुलित चरित्रको वकालत चाहिएको छ। यो लेखन रहर होइन, कर्तव्य हो। काशीले कथा भन्न सुरु गरेको हो। भन्दै जानेछ।
कुनै कथामा पात्रमाथि उसको चरित्र वा भूमिकालाई लेखकले कथाको माग अनुसार कैची लगाउने छुट पाउँछ। तर, जनावरमाथि लेखकले कथाको माग अनुसार भावनामा बग्न सहज छ? डुमेरो उपन्यास र अम्रिकाने काशीबीचका चरित्रमाथि आख्यान लेखिरहँदा कस्तो अनुभव गर्नुभयो?
डुमेरोभन्दा यो नितान्त भिन्न रह्यो। डुमेरोको भावनात्मक आवेग आफ्नै मनबाट पनि सापटी लिन पाएँ। यसमा त्यो चान्स भएन। केटाकेटी र जनावरको मनोभावप्रति निकै सजग रहनु पर्यो।
केटाकेटीसँग म सधैँ नजिक हुने भएकोले उनीहरूलाई सुन्न र बुझ्न सक्थेँ। घरका सबै केटाकेटीसँग सधैँ अति नजिकको सम्बन्ध रह्यो। यही कारण लेखनलाई गति दिन सजिलो भयो। पहिलो उपन्यासमा भाषामा धेरै सतर्क हुनु परेन। तर केटाकेटीको लागि पनि उपयुक्त उपन्यास बनाउने सोच भएकोले यो पुस्तकमा निकै सतर्क हुँदै लेखेँ। जनावरको सोच पनि आफ्नै दिमागले लेख्नुपर्ने भयो। अभिव्यक्तिको हिसाबले पहिलो उपन्यास भन्दा चुनौती त थियो।
कुनै विषयमा कथा वा उपन्यास लेख्नुको यात्रा रोमाञ्चक र पीडामय दुवै हुन्छ। प्राणीको जीवनलाई पुस्तककै रूपमा ल्याउन गरिएको यात्रा कस्तो रह्यो?
रोमान्चकता नै धेरै भयो अम्रिकाने काशीको लेखन। विषयवस्तुको हिसावले मलाई गाह्रो भएन। गैर आख्यान लेखनले समसामयिक विषयप्रति सजग र जानकार थिएँ। अम्रिकाने काशीको चरित्र दिमागमातयार थियो। निकै बर्ष दिमागमा बसिरह्यो। लेख्न खोज्दा पनि सकिन। जब लेख्न थालेँ तब यो जादुको यात्राजस्तो भयो। आफैंले लेखिरहेको बखत आफैँलाई अर्को मान्छेजस्तो गरी नियाल्थेँ।
हैन यो सबै कसरी लेखिरहेछु। यी वाक्यहरू कसरी बन्दैछन् जस्तो लाग्थ्यो। लेख्दालेख्दै पात्र उभिन्थे। नाम दिमागमा फ्याट्ट आउँथ्यो। आफ्नो दिमागमा निर्माण हुँदै गरेको अर्को संसार, पात्र र परिवेश मलाई कुनै रोमाञ्चक यात्राजस्तो लाग्यो। आफ्नो भाषामा केटाकेटी र तन्नेरीको लागि उपयुक्त पुस्तक तयार भयो। म निकै रमाएँ। त्यो खुशीको नशामा छु।
तपाईंको ईमेल गोप्य राखिनेछ ।