सर्लाही : वर्षाका कारण बाटाहरु ठाउँ ठाउँमा भत्किएपछि सर्लाहीको उत्तरी चुरे भेगका दर्जनौँ गाउँका बासिन्दाको दैनिकी कष्टकर बनेको छ।
वर्षाले लालबन्दी, इश्वरपुर, हरिवन र बागमती नगरपालिकाको चुरे क्षेत्रका बस्तीमा पर्ने गोरेटा बाटाहरु वर्षाले भत्काएपछि त्यस क्षेत्रका बासिन्दाको दैनिकी कष्टकर बन्दै गएको हो।
अहिले त्यस क्षेत्रमा एउटा बस्तीबाट अर्को बस्तीसम्म आवतजावत गर्न मुश्किल परिरहेको स्थानीयवासीले गुनासो गरेका छन्।
जिल्लाको उत्तरी चुरे क्षेत्रका दर्जनौँ गाउँका बासिन्दा मुश्किलले पैदल हिँड्न सकिने अवस्था भए पनि मोटरसाइकल, जीप, बसलगायत सवारीसाधन भने चल्ने अवस्था नरहेको त्यस क्षेत्रका स्थानीयले बताएका छन्।
दैनिक उपभोग्य सामग्री चामल, दाल, नुन, तेल लगायतका खाद्यान्न मान्छेले नै बोकेर मुस्किलले ढुवानी गरिरहेको लालबन्दी–१२ का वडाध्यक्ष दुर्गाबहादुर आलेले जानकारी दिएका छन्। उनले अब बर्खा रोकिएपछिमात्र बाटो मर्मत गरिने बताए।
लालबन्दी नगरपालिकामा पर्ने लखन्देही, बाहुनीलगायत साना खहरे खोलामा बाढी आएर बाटो बिगारेपछि गएको ३ महिनादेखि सवारीसाधन सञ्चालन हुन सकेका छैनन्।
खोलामा पानी घटेका वेला व्यवसायीहरुले निकै मुस्किलले ट्याक्टरमार्फत खाद्यान्न सामग्री ढुवानी गर्दै आइरहेका छन्। यात्रुवाहक बस भने जेठदेखि नै पूर्णरुपमा ठप्प भएका छन्। पत्थरकोट हुँदै सिन्धुलीको मरिन, छाप, कर्मैयाबाट हरिहरपुरगढीसम्म बस चल्ने गर्छ।
लालबन्दी नगरपालिकाको वडा नं. १४ नारायण खोलाबाट पत्थरकोटसम्म आउँदा खोलाको बगर प्रयोग गर्नुपर्ने बाध्यता छ। गाडी नचल्दा नारायण खोलाको माथिल्लो भेगका बासिन्दा लालबन्दी बजारलगायत अन्य ठाउँसम्म आउजाउ गर्न ४/५ घन्टासम्म पैदल हिँड्नुपर्ने बाध्यता छ।
पत्थरकोटदेखि लालबन्दीसम्म टेम्पु, अटोलगायतका अन्य सवारी चले पनि गाउँबाट पत्थरकोटसम्म आइपुग्न ४ घन्टा पैदल हिँड्नुपर्ने बाध्यता रहेको लालबन्दी-१४ नारायणखोलाका स्थानीय पूर्ण लुंगेलीले बताए।
चुरे भेगमा दिनहुँजसो वर्षा भइरहेकाले खोलामा बाढी आउँदा बजारसम्म किनमेल गर्नका लागि पत्थरकोटसम्म पैदल हिँडेर आउनसमेत समस्या भइरहेको गुनासो उनले गरे। अहिले यस क्षेत्रमा उत्पादन भएको तरकारीलगायत अन्य खाद्यान्यसमेत बजार लगेर बेच्न नपाएको किसानहरु बताउँछन्।
गाडी नचल्दा स्थानीयलाई‚ विद्यार्थी स्कुल जान‚ विरामी पर्दा लालबन्दीसम्म औषधि उपचारका लागि आउन गाह्रो परिरहेको छ।
खोलाको बाढीले गर्दा नारायण खोलासम्म मोटरसाइकलसमेत लिएर जान सक्ने अवस्था नरहेको स्थानीय गणेशबहादुर लामा बताउँछन्। यसले गर्दा जिल्लाको चुरे क्षेत्रका सर्वसाधारणको दैनिकी कष्टकर बनेको गुनासो स्थानीयले गर्दै आइरहेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।