पाल्पा : रम्भा गाउँपालिका –५ ताहुँमा रहेको रम्भा रम्भादेवी मन्दिरमा भक्तालुको आकर्षण बढ्न थालेको छ। सरकारले सय पर्यटकीय गन्तव्यमा राखेपछि यहाँ जिल्ला बाहिरबाट समेत भक्तालु आउन थालेका हुन्।
सोमबार कृष्णजन्माष्टमीका दिन बिहानैदेखि भक्तालुको घुइँचो लागेको थियो। दिनभरि भक्तालुले पुजाआरधाना गरेका थिए। आफ्नो मनोकांक्षा पुरा हुने भन्दै भक्तालुहरू फलफूल, नरिवल, तिर्सुल परेवा लिएर पुजा गर्न पुगेका थिए।
सयौंको संख्यामा भक्तालु आएका थिए। सरकारले सय पर्यटकीय गन्तव्यमा रम्भादेवी मन्दिरलाई राखेपछि मन्दिरप्रतिको आस्था र विश्वास बढेको मन्दिर दर्शन गर्न पुगेका लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारूले बताए। उनीसँगै संघीय सांसद नारायण आचार्य, जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनाललगायतका जनप्रतिनिधि तथा नेताहरूले पनि मन्दिरको दर्शन गरेका छन्।
पाल्पा जन्मिएर राष्ट्रिय ख्याती प्राप्त गरेका कलाकारले सोमबार सांस्कृतिक महोत्सव नै आयोजना गरेका थिए। राष्ट्रिय लोकदोहोरी गायक नारायण रायमाझी, दुर्गा रायामाझी, इन्द्र जिसी, नारायण लेकाली, सकुन्तला गैह्रे, नवीन पौडेल, अमृत अधिकारी लगायतका कलाकारको प्रस्तुति रहेको थियो ।
रम्भादेवी धार्मिक पर्यटकीय स्थलको प्रचारप्रसार गर्न, यस क्षेत्रको कला संस्कृति संरक्षण गर्न, जातीय विविधता र प्रचलित भेषभुषाको प्रवर्द्धन गर्नका लागि कलाकारहरूकै पहलमा रम्भादेवी सांस्कृतिक महोत्सव आयोजना गरिएको आयोजक संस्था सहयात्रा नेपालका अध्यक्ष दुर्गा रायमाझीले बताए।
जंगलको बीचमा मन्दिर छ। त्रेता युगमा भगवान राम र सीता मुक्तिनाथको यात्रा गर्ने क्रममा यस जंगलमा आइपुग्दा सीतालाई पानी प्यास लाग्यो। पानी खोज्दा कतै नभेटेपछि रामले वाणले हानेर पानी उत्पादन गरेको हुनाले रामवाण पानी, रामवाण पानी भन्दाभन्दै रम्भा पानी रहन गएको किंवदन्ती छ।
पर्यटकीय गन्तव्यको रुपमा रहेको यस यस मन्दिरमा धार्मिक तथा अन्य कुनै पनि पर्यटक दैनिक आइरहने वातावरण सिर्जना गरी काम भइरहेको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए।
्
तपाईंको ईमेल गोप्य राखिनेछ ।