|

जनकपुरधाम : ऐतिहासिक तथा धार्मिक महत्त्वको दुग्धमती नदीको प्राकृतिक बहाव क्षेत्र पहिचान गरी सीमा निर्धारण तथा उत्खनन गरिने भएको छ। 

उद्गमस्थलदेखि भारतीय सीमासम्मको २९ किलोमिटरसम्म उक्त काम गरिने भएको हो। 

मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहको अध्यक्षतामा बुधबार बसेको उच्चस्तरीय बैठकले विसं २०२४-२०२६ मा भएको नापीका आधारमा दुग्धमती नदीको सीमा यकिन गर्ने तथा सो कार्यका लागि आवश्यक प्राविधिक तयारी गर्ने निर्णय गरेको छ। 

बैठकले दुग्मती नदीको सीमा यकिन भएपछि अतिक्रमणका विषयमा जानकारी हुने र त्यस आधारमा नदीको बहाव क्षेत्र खाली गराउने कार्य तीव्र गतिमा अघि बढाउने निर्णय गरेको छ।

ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री शेषनारायण यादव, प्रदेशका प्रमुख सचिव लोकनाथ पौड्याल, बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शीतल साह, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयका सचिव जक्की अहमद अन्सारी, धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरिया, नेपाल प्रहरीका नायब महानिरीक्षक यज्ञविनोद पोखरेल, सशस्त्र प्रहरी बलका नायब महानिरीक्षक कालीदास धौवजी, सडक डिभिजन कार्यालय जनकपुरका डिभिजन प्रमुख दीपककुमार झा, धनुषाका प्रमुख मालपोत अधिकृत विष्णुप्रसाद सिटौला, धनुषाका नापी अधिकृत कामेश्वर राउत लगायत सहभागी थिए। 

यसैगरी दुग्धमती नदीको बहाव क्षेत्र अतिक्रमण लगायतका स्थितिबारे जानकारी लिन मुख्यमन्त्री सिंहले धनुषाको क्षिरेश्वर नगरपालिका–५ स्थित दुग्धमतीको उद्गमस्थलदेखि लिएर लक्ष्मीनियाँ गाउँपालिका-३ स्थित बनिगामासम्म अवलोकन गरेका छन्।

लक्ष्मीनियाँ गाउँपालिका-३ स्थित बनिगामाभन्दा उत्तर उद्गमस्थलसम्म नदीको बहावक्षेत्र नै अतिक्रमित छ। त्यस क्षेत्रमा खेतमुनि भएर पानी बग्ने गरेको छ।  

दुग्धमती नदीमा धार्मिक तथा पौराणिक ग्रन्थमा उल्लिखित पवित्र नदी मानिन्छ। श्रीपञ्चमीका दिन नदीको उद्गम स्थलमा ठूलो मेला लाग्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.