|
प्रतीकात्मक तस्विर

भोजपुर : जिल्लामा चौँरीपालन व्यवसायमा किसानको आकर्षण घट्न थालेको छ। चौँरीको दूधबाट उत्पादित परिकारको बजारमा राम्रो माग भए पनि व्यवसायमा किसानको आकर्षण घटेको हो । 

चरन क्षेत्रको अभाव तथा नयाँ पुस्ताको रोजाइमा नपर्दा यो व्यवसाय संकटमा परेको किसान बताउँछन्। एक दशकअघिसम्म मैयुङ क्षेत्रमा सयौँको सङ्ख्यामा हुने चौँरीगोठ अहिले आठ÷दश वटामा सीमित रहेको स्थानीय चौँरीपालक कृषक प्रविन राईले बताए। पछिल्लो समयमा चौँरीपालक कृषकको मुख्य समस्या चरन क्षेत्र बनेको गुनासो उनले गरे।

सामुदायिक वन तथा अन्य निकायले चरनमा रोक लगाएपछि व्यवसायलाई प्रत्यक्ष असर परेको किसान राईले बताए। चौँरीलाई चरनका लागि प्रशस्त घाँसेमैदान चाहिने भए पनि अहिले चरन क्षेत्र अभाव हुँदै गएको उनको भनाइ छ। 

‘चौँरीको दूधबाट बन्ने सामग्रीको बजारमा राम्रो माग छ’, किसान राईले भने, ‘तर चौँरीपालन गर्ने किसानको सङ्ख्या बर्सेनी घट्दै गएको अवस्था छ। किसानको मुख्य समस्या नै चरन क्षेत्र बनेको छ।चरन अभाव हुँदा व्यवसाय नै संकटमा पर्ने अवस्था छ’, उनले भने। 

चौँरीको दूधबाट उत्पादित वस्तु स्थानीय बजारसँगै गोठबाट नै बिक्री हुने किसानको भनाइ छ। चौँरीको घ्यू तथा छुर्पीको माग धेरै रहेको किसान राईले बताउनुभयो।नौनी घ्यू गोठबाट धार्नीको  दुई हजार ५०० रुपैयाँमा बिक्री हुँदै आएको गोठवालाहरूको भनाइ छ। छुर्पी प्रतिकेजी ८०० देखि एक हजारसम्म बिक्री हुने गरेको छ।यहाँको मैयुङडाँडा, सिलिचुङ साउनेडाँडालगायत माथिल्लो भेगमा चौँरीको व्यावसायिक पालन हुने गरेको छ। चौँरीलाई किसानले बर्खाको समयमा माथिल्लो भेग र चिसो मौसम शुरु भएपछि  गाउँघरका खेतबारीमा झर्ने गरेका छन्। 

चरन अभावमा परम्परागत व्यवसाय सङ्टकमा पर्दै गएको किसान विमल राईले बताए। चरनका लागि एक दिनमा चौँरीले सरदरमा १२ देखि १५ किलोमिटर घुम्ने उहाँको भनाइ छ।सीमित ठाउँमा चराउँदा घाँस अभाव तथा सहज रूपमा घुम्न नपाउँदा चौँरी नफस्टाउने उनको भनाइ छ।

पछिल्लो समय चौँरीका लागि चाहिने पोसिलो घाँस मासिँदै गएको अवस्था छ। यसले पनि व्यवसायमा असर पुगेको छ। चौँरीको चरन क्षेत्रको व्यवस्थापनमा पहल हुनुपर्ने यहाँका किसानको माग छ। 

चौँरीले बढी चिसो सहन सक्ने भएकाले दुई हजार मिटरदेखि उच्च हिमाली क्षेत्रको पाँच हजार मिटरसम्मको उचाइमा पाल्न सकिने पशु विज्ञहरूको भनाइ छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.