|

काठमाडौँ : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रले अनुगमन गर्नेगरी सरकार अघि बढे अर्थतन्त्र चलायमान नहुने बताएका छन्।

आइतवार काठमाडौँमा नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २६औँ वार्षिक साधारणसभामा उनले यस्तो बताएका हुन्। 

उनले निजी क्षेत्रको अनुगमन र निरीक्षण अख्तियार र सतर्कता केन्द्रले गर्दा अर्थतन्त्र चलायमान बन्न नसक्ने, निजी क्षेत्रले रोजगारीको क्षेत्र र उत्पादन वृद्धि गर्न नसक्ने स्थिति आउने दावी गरे। 

उनले अहिले बैंक तथा वित्तीय संस्थामा प्रशस्त मात्रामा लिक्विडिटी रहेको बताए। उनले रेमिट्यान्स बढेको र विदेशी मुद्रा सञ्चिति पनि बढेको बताए। 

उनले मौद्रिक नीतिपछि शेयर बजार बढिरहेको र घरजग्गाको कारोबार बढेको बताए। उनले अर्थतन्त्र सकारात्मक हिसाबले अघि बढिरहेको भन्दै यसलाई दिगो बनाउनुपर्ने बताए। 

‘अख्तियार र सतर्कता केन्द्रसम्बन्धी विषयमा निजी क्षेत्रलाई हेर्नुपर्छ भन्ने हिसाबले राखिएको छ। बैंक तथा वित्तीय संस्थाहरुलाई हेरिराखेको छ‚ भोलि अख्तियारको दायरामा सीधै हेर्ने बैंक तथा वित्तीय संस्था पर्ने हो भने सेन्ट्रल बैंकको रेगुलेटरको भूमिका नियन्त्रित हुन्छ‚’ उनले भने, ‘निजी क्षेत्रलाई फेरि यस्तो गराउन खोजियो भने सारा यो अर्थतन्त्र चलायमान बनाउनुपर्ने, रोजगारी सिर्जना गर्नुपर्ने दायित्व छ, कर बढाउन जुन क्रियाकलाप बढाउनुपर्नेछ, त्यो खुम्चिन्छ।’

सरकारले काम लगाएपछि तत्काल भुक्तानी दिन्छ भन्ने सन्देश दिनसके अन्य अर्थतन्त्र चलायमान बनाउने क्रियाकलाप बढ्ने उनले बताए। 

उनले सीमामा कडाई गर्नुपर्नेमा सरकारले बढी प्राथमिकता दिनुपर्ने बताए। भारतीय पर्यटकलाई सीमामा सहजता प्रदान गर्नसके पर्यटन क्षेत्रमा पनि राम्रो गर्न सकिने पनि उनले उल्लेख गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.