|
फाइल तस्वीर : कर्णाली राजमार्गमा अड्किएका जुम्लाबाट स्याउ बोकेर आएका ट्रक।

सुर्खेत : पहिरोले ५ दिनदेखि अवरुद्ध भएको कर्णाली राजमार्ग (करिडोर) आज खुलेको छ।

कर्णाली राजमार्गको दहीखोला, गगनेखोला र मेयरखोलामा गएको पहिरोले पूरै ठप्प भएको राजमार्ग खुलेसँगै सवारीसाधन सञ्चालन भएपछि सर्वसाधारण र स्याउ बोकेका ट्रकहरु सुर्खेततर्फ आउन थालेका छन्।

राजमार्गको कालीकोट खण्ड आइतवार दिउँसो खुले पनि दैलेख खण्डको पहिरो पन्छाउन समय लागेकाले अबेर भएको थियो। 

सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख इन्जिनियर चेतनकुमार मण्डलले राजमार्ग अवरुद्ध हुँदा रोकिएका सवारीसाधन गन्तव्यतिर लागेको बताए।

जिल्ला कृषि विकास कार्यालयका अनुसार जुम्लाबाट स्याउ बोकेका ६५ वटा ट्रक बाटोमा रोकिएका थिए। ५ दिनदेखि करिब ८ करोड रुपैयाँको स्याउ सडकमै अड्किएको कार्यालय प्रमुख बालकराम देवकोटाले बताए। 

प्रमुख देवकोटाका अनुसार यो सिजनमा जुम्लाबाट ९ हजार मेट्रिकटन स्याउ बाहिर बिक्री भइसकेको छ। जुम्लामा यो वर्ष १५ हजार मेट्रिकटन स्याउ उत्पादन हुने अनुमान छ। उनले स्याउ बोकेका ट्रकलाई प्राथमिकतामा राखेर राजमार्ग सञ्चालन गराउन आग्रह गरिएको बताए। 

जुम्ला–सुर्खेत राजमार्गमा अलपत्र परेका मालवाहक ट्रकका स्याउ के कति क्षति भएको छ यकिन गर्ने र क्षति भएको पाइए त्यसको सम्बोधनका लागि कृषि विकास कार्यालय जुम्लाले अनुगमन गरी सुझावसहितको प्रतिवेदन पेश गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले बताए।

राजमार्ग खुलेसँगै यातायात सञ्चालनमा आएपछि ५ दिनदेखि अलपत्र परेका यात्रु पनि गन्तव्यतर्फ लागेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.