काठमाडौं : पहिले झरी, खेतबारीका बालीलगायत प्राकृतिक कुराले तीजको संकेत गर्दछ। तीजलाई विशेष गरेर चेलीबेटीको पर्वको रूपमा लिने गरिन्छ। चेलीबेटी व्यक्तिगत भोगाइ, उनीहरूलाई परेका पीरमर्काका कुरा, अरूलाई भन्न नसकेका कुरा माइती साथीसंगीलाई सुनाउने चलन छ। यति मात्र होइन गीतमा रमाएर नाचगान गर्ने प्रचलन पनि रहँदै आएको छ।
पछिल्लो दुई दशकमा तीज मनाउने तरिकामा जसरी परिवर्तन आइरहेको छ। जसले गर्दा तीजलाई आधारित रहेर गाइने गीत वा बनाइने गीतमा पनि त्यो परिवर्तन भएका छन्।
कुनै बेला पहिले कुनै गाउँमा घटेका घटना, कसैको व्यक्तिगत भोगाइलाई एउटा लय दिएर कसैले रचना गरेको गीत एउटा गाउँ, अर्को गाउँ गर्दै फैलिने, अघिल्लो वर्ष सुनेकै भरमा अरू अरू वर्ष पनि त्यो गीत गाइने र त्यो समयको कथा बोल्ने एउटा रचना वर्षौँसम्म बाँच्ने गरेका थिए। अहिले संख्यात्मक रूपमा धेरै गीत आए पनि गीतको आयु भने कम हुने गरेका छन्।
अहिलेका कतिपय गीतहरूलाई अपाच्य रहेको भन्दै आलोचना भइरहेको छ। तर, पनि कलाकारहरूले आफ्नो क्षमताअनुसार गीत निकालिरहेका छन्।
अहिले गाउँ तथा सहरमा तीजको रौनकताले छोइसकेको छ। विभिन्न क्षेत्रमा तीज विशेष कार्यक्रमहरू भइरहेका छन्। दिदीबहिनीहरू नाचगान गरेर रमाइलो गरिरहेका दृश्यले सामाजिक सञ्जाल भरिएका छन्।
तीजको रौनक दिदी बहिनीहरूलाई जति लागिरहेको छ, उस्तै गरेर नेपाली सर्जकहरूलाई पनि तीजले छोपिसकेको छ। अहिले कलाकारहरू व्यस्त बनिरहेका छन्। सर्जकहरूलाई देशदेखि विदेशसम्म नै सांगीतिक कार्यक्रमले व्यस्त बनाएको छ।
तीजमा महिला कलाकारलाई मात्र नभएर पुरुष कलाकारलाई पनि तीजका कार्यक्रममा उत्तिकै स्थान पाइरहेका छन्। विभिन्न खाले चाडपर्वले कलाकारको आर्थिक पाटोलाई पनि केही हदसम्म सन्तुलनमा ल्याउने गरेका छन्।
नेपालका विभिन्न कलाकारहरू यतिबेला देश तथा विदेशका कार्यक्रममा व्यस्त रहेका छन्। गायिका शान्तिश्री परियार, रचना रिमाल, ज्योति मगर र कलाकार करिष्मा ढकाल तीजको मौका पारेर साङ्गीतिक यात्राका क्रममा यतिबेला अमेरिकामा छन्। यस्तै, गायक दुर्गेश थापा गत साता अष्ट्रेलिया पुगेर फर्किए भने गायक श्रीकृष्ण बम मल्ल बेलायत पुगेका छन् भने गायिका लक्ष्मी मल्ल मल्लले यतिबेला हङकङ छिन्।
गायिका समिक्षा अधिकारी, रामजी खाँड जापानमा रहेका छ भने गायिका कोमल वली, देवी घर्ती, गायक पशुपति शर्मालगायत कलाकारले पनि तीजका अवसरमा अष्ट्रेलियाका विभिन्न सहरमा प्रस्तुति दिइरहेका छन्।
नागोया, फुकोआका लगायतका जापानका विभिन्न सहरमा आफूहरूको प्रस्तुति रहने गायिका अधिकारीले जानकारी दिइन्।
यस्तै, करिब डेढ महिना युके बसेर गायक सूर्य खड्का आफ्नो कर्मभूमि जापान पुगेका छन्। उनले भने, ‘लगभग डेढ महिनाको युके बसाईपछि जापानतिर लागियो। यो बीचमा धेरै कार्यक्रममा उपस्थित हुने अवसर पाएँ सम्झनुहुने सम्पुर्णलाई हृदय देखिनै धेरै धेरै धन्यवाद॥ पछिल्ला दिनमा युकेमै धेरै ठाउँबाट निमन्त्रणा आउदा पनि जापानमा पहिलै तय भएका कार्यक्रमहरूले गर्दा उपस्थित हुन सकिन क्षमा चाहान्छु, पुन छिट्टै भेटौला॥ अबको तीज धमका जापानका विभिन्न सहरमा हुनेछ।' कलाकार कला लम्साल यतिबेला बेलायतमा आफ्नो प्रस्तुति दिइरहेकी छन्।
सांगीतिक कार्यक्रममा विदेश नपुगेका सर्जकहरू देशका विभिन्न स्थानका कार्यक्रममा पुगिरहेका छन्। गायक थापाले यही २० गते बागलुङ र २१ गते तीजका दिन पोखराको लामाचौरमा हुने तीज महोत्सवमा प्रस्तुति दिने जानकारी दिए।
करिब तीन सयभन्दा बढी गीत रिलिज
एकातिर तीजका अवसरमा हुने मेला, उत्सव पनि कलाकारका लागि आयआर्जनको बाटो बनेको छ भने युट्युब ‘भ्यूज’ का आधारमा कलाकारले पैसा पाउने आधार बनेको छ। यो वर्ष मात्र करिब तीन सय तीज गीतहरू बजारमा आएका छन्। सामाजिक सञ्जाल फेसबुकदेखि युट्युबसम्म तीज विशेष गीहरूले भरिएका छन्। कतिपय गीतहरू लोकप्रिय बनिरहेका छन्। गायिका विष्णु माझीको ‘आइन आमा यो तीजमा...’ ले युट्युबमा तहल्का मच्चाएको छ।
छोटो समयमा सबैभन्दा बढी हेरिएको गीत १ करोड १६ लाखले हेरेका छन्। सुन्दरमणि अधिकारीको शब्द र संगीत रहेको गीतमा तीजमा माइत जान नपाइकी चेलीको वेदना समेटिएको छ।
यस्तै, शान्तिश्री परियारको स्वरमा काली पसम कि, विस्ताराले पोल्यो बजारमा आएको छ। विस्ताराले पोल्यो गीतले परियारको आलोचना भइरहेको छ। उनले माफीसमेत मागेकी थिइन्। समीक्षा अधिकारी र मोहन खड्काको स्वर रहेको ‘बरिलै’, पशुपति शर्मा र प्रिया भण्डारीको स्वर रहेको मै लुरी, एलिना चौहानको स्वर रहेको गीत मन परेको मान्छे बजारमा छन्।
यस्तै, चन्द्रवती वाग्लेको शब्द, संगीत र स्वरमा सार्वजनिक ‘बालेन’ बोलको गीत सार्वजनिक भयो। पोखरा महानगरकी कर्मचारी उनले बालेनको गीत निकाल्दा पोखराका मेयर धनराज आचार्यले दण्डस्वरूप वाग्लेलाई सरूवा गरेको आरोप लागेपछि गीतले थप चर्चा पायो।
सूर्य खड्का र सुनिता बुढा क्षेत्रीको सीताको माइती पनि सार्वजनिक भयो। प्रीति आलेको स्वर, शब्द र संगीतमा रहेको ‘दुनियाँलाई’, राजन कार्की, जीवन दाहाल, कमला सुनार र शान्ता बर्देवाको स्वरमा ‘हरहर महादेव’, अस्मिता डल्लाकोटीको स्वर र शब्द रहेको ‘पीर कल्लाई छैन र’लगायतका गीतहरू बजारमा रहेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।