जनकपुरधाम : मानवअधिकार रक्षकको सुरक्षा र संरक्षण तथा शहीद प्रतिष्ठानसँग जोडिएका दुई विधेयक अघि बढाउन मधेश प्रदेशमा सक्रिय मानवअधिकारकर्मीहरूले मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको ध्यानाकर्षण गराएका छन्।
बुधवार जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री सिंहसँग भेटेर मानवअधिकारकर्मीको समूहले मधेश शहीद प्रतिष्ठानले मधेशलगायत आन्दोलनका शहीद र घाइतेलाई मात्र समेटेकोमा सो संस्थाको कार्यक्षेत्रभित्र अन्य वेलाका शहीद, घाइते र द्वन्द्वपीडितलाई राख्नेगरी कानून ल्याउन माग गरे।
उनीहरूले मानवअधिकार रक्षकको सुरक्षा र संरक्षणसम्बन्धी कानूनसमेत अगाडि बढाउन मुख्यमन्त्री सिंहसँग आग्रह गरे।
विभिन्न चरणमा छलफल भई दुवै कानूनका मस्यौदाले अन्तिम रूप लिइसकेको र केही कानूनी प्रक्रियासमेत अघि बढिसकेको भन्दै छिटोभन्दा छिटो दुवै विधेयक पारित गराउन उनीहरूले मुख्यमन्त्री सिंहको ध्यानाकर्षण गराए।
प्रत्युत्तरमा मुख्यमन्त्री सिंहले कानूनको मस्यौदामा थप परिमार्जन गर्न दुवै विधेयकलाई सम्बद्ध मन्त्रालय र निकायमा पठाई विधेयक अघि बढाइने बताए।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का प्रदेश संयोजक राजु पासवानको अगुवाइमा मुख्यमन्त्री कार्यालय पुगेको टोलीमा अधिवक्ता राजकुमार महासेठ, जमुना भुजेल, निकेश यादव, प्रियंका ठाकुर, सन्तोषकुमार यादव, सन्तोषकुमार यादव र सञ्जू पंजियारलगायत समावेश थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।