|

विराटनगर : सत्ता साझेदार दल नेपाली कांग्रेसले आफ्नो दलबाट हुने मन्त्रीको नाम तय गर्न नसक्दा कोशी प्रदेशको मन्त्रिपरिषद अझै विस्तार हुन सकेको छैन। कांग्रेसको आन्तरिक किचलो नसुल्झिँदा कोशी सरकारको विस्तार अड्किएको हो।

कांग्रेसका इतर पक्षका नेता शेखर कोइरालाको आफ्ना पक्षका २ जना मन्त्री हुनपर्ने अडानका कारण सत्ता साझेदार कांग्रेसले सरकारमा सामेल हुनेको नाम टुंग्याउन सकेको छैन।

कांग्रेस संसदीय दलका नेता उद्धव थापा मन्त्रीहरुको नाम टुंगो लगाउन राजधानी काठमाडौँ पुगेका थिए तर टुंगो नलागेपछि उनी त्यसै फर्किएका थिए। कांग्रेसमा संस्थापन पक्ष, नेता कृष्णप्रसाद सिटौला पक्ष र नेता कोइराला पक्षबीच मन्त्रीको नाममा सहमति हुन सकेको छैन। 

संसदीय दलका नेता थापाले यसअघि पनि सरकारमा कांग्रेस सहभागी भएर प्रदेशसभाको बैठक बस्ने दावी गरेका थिए। तर उनले गरेको दावीअनुसार कांग्रेस अहिलेसम्म सरकारमा सहभागी हुन सकेको छैन।

कांग्रेस–एमालेबीच असार १७ गते भएको सहमतिअनुसार संघमा र ६ वटा प्रदेशमा सरकार गठन भइसकेका भए पनि कोशी प्रदेशमा भने कांग्रेस सहभागी हुन सकेको छैन।

कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भने कांग्रेसको गति सुस्त भएकाले गति बढाउनुपर्ने सुझाव दिएका थिए। बुधवार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग उनले यस्तो सुझाव दिएका थिए। 

उनले कांग्रेसका कारणले सरकार विस्तारमा ढिलाइ भएको बताएका थिए। उनले सरकार विस्तार भएपछि सरकारले गति लिने भएकाले छिटै सरकार विस्तार हुने बताए।

कांग्रेस संसदीय दलका नेता थापा भने सरकार विस्तार कहिले हुन्छ भन्ने आफूलाई थाहा नभएको बताउँछन्।

कांग्रेसको भागमा ४ वटा मन्त्रालय परेका छन्। सरकारमा जाने होडबाजी चलेको कारण पनि कांग्रेसभित्र सहमति जुट्न  नसकेको कांग्रेस नेताहरु बताउँछन्।

४ मन्त्रालयमध्ये कांग्रेस नेता कोइरालाले २ मन्त्रालय मागेको र सभापति शेरबहादुर देउवाले संस्थापन पक्षलाई २, कोइराला समूहलाई १ र नेता कृष्णप्रसाद सिटौला समूहलाई १ मन्त्री दिने तयारी गरेका छन्।

उनको तयारीमा शेखर कोइराला सहमत नभएकाले कांग्रेसभित्र मन्त्रीका नाम तय गर्न किचलो भएको बताइएको छ। 

मन्त्रालय नबढाउने अडानमा मुख्यमन्त्री कार्की

आफ्ना पक्षका २ जना मन्त्री हुनपर्ने अडानका सम्बन्धमा नेता कोइरालाले प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफलसमेत गरेको बताइन्छ। 

भागबण्डामा असन्तुष्टि बढ्दै गएको विषय सुल्झाउन कांग्रेस सभापति देउवासहितका नेताहरु सफल नभएपछि कोशीका कांग्रेस संसदीय दलका नेता थापा काठमाडौँबाट रित्तो हात फर्किएका थिए।

छलफलपछि प्रदेशका ९ वटा मन्त्रालयको संख्या बढाएर ११ पुर्‍याउने चर्चा समेत राजनीतिक वृत्तमा चलेपछि  सञ्चारमाध्यममा समेत आयो। 

मन्त्रालय थप्ने विषयमा सर्वसाधारणले असन्तुष्टि व्यक्त गर्दै आइरहेका कारण मन्त्रालयको संख्या बढाउन नहुने पक्षमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अडान लिए। उनी यो अडानमा कायमै रहेका छन्।

कोशी प्रदेशमा हाल मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसहित ९ वटा मन्त्रालय छन्।

४० सांसद रहेको नेकपा एमालेले मुख्यमन्त्रीसहित ५ वटा मन्त्रालय लिने र २९ जना सांसद रहेको कांग्रेसले ४ वटा मन्त्रालय लिने विषयमा दुई पार्टीबीच यसअघि नै सहमति भइसकेको छ। 

सहमतिअनुसार एमालेले आफ्नो भागमा परेको मुख्यमन्त्री, आर्थिक मामिला तथा योजना मन्त्रालय, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय, सामाजिक विकास मन्त्रालय र आन्तरिक मामिला तथा कानून मन्त्रालयमा मन्त्री नियुक्त गरिसकेको छ। कांग्रेसको भागमा परेका मन्त्रालयहरु भने अझै मन्त्रीविहीन रहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.