|

काठमाडौँ : संसद् विघटनको कदमसँगै तत्कालीन परिस्थितिमा धेरैले केपी शर्मा ओलीको साथ छाडे। सर्वोच्च अदालतले नेकपा एकता बदर गरेसँगै एमाले र माओवादी केन्द्र पूर्ववत् अवस्थामा फर्किए भने नेताहरूले आ–आफ्नो कित्ता रोजे।

तर पुनः वामपन्थी एकता गराउने भन्दै वामदेव गौतम एमालेतिर नगई अर्कै बाटो लागे। एमालेमा बढ्दै गएको विवादका कारण पछि फेरि तत्कालीन वरिष्ठ नेता माधव नेपालले पार्टी फुटाए। त्योसँगै एमाले छाड्नेमा थुप्रै चर्चित नेताहरू थपिए।

त्यसरी विभिन्न परिस्थितिमा एमाले छाडेकाहरूमध्ये केही पहिल्यै एमालेमा फर्किसकेका छन् भने अरू केही नेता त्यही पुरानो घर फर्कन चाहिरहेका छन्। केही नेताले खुलेरै अध्यक्ष ओलीले नबोलाउँदा एमालेमा नफर्किएको बताउने गरेका छन् भने केहीको गतिविधिले नै एमाले फर्कन चाहेको तर ओलीको औपचारिक निम्तो कुरिरहेको स्पष्ट हुन्छ।

विगतमा एमाले छोडेका पश्चात्ताप मान्दै अहिले त्यही फर्कन आतुर रहेकामध्येका एक हुन्- वामदेव गौतम। एमालेका निवर्तमान उपाध्यक्षसमेत रहेका उनले नेकपा बदरताका पुनः एमाले-माओवादी मिलाउने भन्दै फरक बाटो रोजेका थिए।

‘पुनः नेकपा एकता अभियान’ नै घोषणा गरेर एमाले–माओवादी मिलाउन लागेका नेता गौतमले खुलेरै ओलीले बोलाए एमालेमा गएर सक्रिय हुने बताउने गरेका छन्। तर एमाले नेतृत्वले भाउ नदिँदा २०७९ को स्थानीय तह चुनावदेखि नै एमालेमा जाने उनको प्रयत्न अझैसम्म सफल हुन सकेको छैन। 

अहिले एमालेमा वाम एकताकै लागि जान चाहेको तर्क नेता गौतमको छ। तपाईंलाई हिजो एमाले छाडेर ठूलो गल्ती गरिएछ भन्ने लाग्या हो भन्ने थाहा खबरको प्रश्नमा उनले भनेका छन्, ‘जहिले पनि लागिराख्या छ नि ! एमालेलाई छोड्न हुन्नथ्यो मैले। त्यही भएर त एकताको निम्ति लाग्नुपर्छ भनेर त्यहाँ जानुपर्छ भन्ने लागेको।’  

गत २४ वैशाखमा काठमाडौँमा आयोजित एक कार्यक्रममा त नेता गौतमले ‘मलाई एमालेमा फर्काउन केपी ओलीलाई दबाव दिनुहोस्’ भनेर एमाले कार्यकर्तासँग आग्रह नै गरेका थिए।

गौतम मात्रै होइन, तीन वर्षअघि एमाले छाडेर माधव नेपालको साथ रोजेका नेताहरू पनि यति वेला एमालेमा फर्कन चाहेका देखिन्छन्। खासगरी निर्वाचनमा पराजित केही चर्चित अनुहारहरू एमालेसँग नजिकिएका छन्। 

महिला उपाध्यक्षमा पराजित रामकुमारी झाँक्री विगतदेखि एमालेसँग निकै नरम देखिँदै आएकी छन्। एमाले नेताहरूसँग भेटवार्ता र संवाद गरिरहने उनले एमालेलाई माइतीघर भन्ने गरेकी छन्। पदाधिकारीमा पराजित हुनुको कारक पनि धेरैले त्यसैलाई मानेका छन्।

केही दिनअघि मात्रै पनि सामाजिक सञ्जालमा झाँक्रीले एमाले अध्यक्ष ओलीको समर्थनमा स्टाटस लेखेकी थिइन्। काठमाडौँ महानगरका प्रमुख बालेन साहसँग एमालेको विवाद चर्किँदा बालेन समर्थकले ओलीलाई अनफलो गर्ने अभियान चलाएका थिए।

झन्डै सात लाखबाट ओलीको फलोअर्स ५ लाख ८८ हजारसम्म झर्दा झाँक्रीले लेखिन्, ‘एमाले पार्टीका संगठित सदस्यहरूले मात्र फलो गर्दा पनि अध्यक्षको फलोअर्स अहिलेको भन्दा दोब्बर हुन्छ।’  

नेतृ झाँक्री स्वयंले पनि पोलिटब्यूरो सदस्यका रूपमा कस्तो जिम्मेवारी दिइन्छ, त्यसले पार्टीमा रहने नरहने निर्भर रहने संकेत गर्दै आएकी छन्। पार्टी समाजवादी मोर्चाको नाममा वा माओवादीसँग एकता गर्ने नाममा ध्रुवीकरणको बाटोमा गयो भने आफू मात्रै नभई अरू धेरै नेताहरू एमालेतिर जाने उनको दाबी छ। 

महाधिवेशनयता चर्को असन्तुष्टि जनाइरहेका अर्का नेता कृष्णकुमार श्रेष्ठ ‘किसान’ पनि हुन्। सांसदसमेत रहेका उनले महाधिवेशन हलबाटै पदाधिकारी र सबै केन्द्रीय सदस्यको निर्वाचन गराइनुपर्ने अडान राखेका थिए। तर त्यसविपरीत ९३ केन्द्रीय सदस्यका नाम घोषणा गरिएपछि उनी असन्तुष्ट बनेका हुन्। 

पछि अध्यक्ष, वरिष्ठ नेता र महासचिवले आफ्नो गोजीका मान्छेले केन्द्रीय कमिटी भरेको र उनीहरूले नै पदाधिकारी चुन्ने भएपछि आफूले कुनै पदका लागि प्रतिस्पर्धा नगरेको नेता श्रेष्ठ बताउँछन्। अब आफ्नो असन्तुष्टिको सम्बोधन कसरी हुन्छ त्यसकै आधारमा आफूले आगामी दिन लिने निर्णय भर पर्ने उनी बताउँछन्।         
‘अहिलेसम्म पार्टीको सिपाहीका इमानदार भएर काम गरेको छु। पार्टीको ह्वीप र निर्देशन मानिरहेको छु’, उनी भन्छन्‚ ‘तर अब कालखण्डले निहुँ खोज्दै गयो भने जे पनि हुन सक्छ। मुख्य कुरा मेरो असन्तुष्टिलाई कसरी सम्बोधन गर्छ त्यसमा भर पर्छ।’

नेता श्रेष्ठ पार्टीले आफ्नो असन्तुष्टि सम्बोधन नगरेको अवस्थामा एमाले जान सक्ने बताए। एमाले नेताहरूसँग नजिक रहेका उनी असार १७ गते बुवाको मुख हेर्ने दिन प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीबाट आशीर्वादसमेत लिए। 

‘देशको प्रधानमन्त्री, बासरहको व्यक्ति। फेरि मेरो आफ्नै प्रकारको सम्बन्ध छ उहाँ (ओली)सँग’, उनी भन्छन्। 

सांसद रहेका एकीकृत समाजवादीका नेता प्रेम आले अहिले पार्टीको केन्द्रीय कमिटीमा छैनन्। महाधिवेशन बहिष्कार गरेकाले केन्द्रीय कमिटीमा नअटाएको तर्क अरू नेताहरू गरे पनि उनी स्वयंले भने आफ्नै अनिच्छाले वास्ता नगरेको बताउँदै आएका छन्। 

पार्टीबाट निष्क्रिय भएसँगै स्वतन्त्र रहेर जनताका काम गर्ने दाबी नेता आलेको छ तर ढिलोचाँडो उनी एमालेमै फर्कने धेरेको बुझाइ छ। उनले पनि ओलीको औपचारिक निम्तो कुरिरहेको बताइन्छ।

एमाले प्रस्ताव गरे पार्टी नै जान तयार ?  

महाधिवेशनबाट समाजवादी कार्यक्रम पारित गरेको एकीकृत समाजवादी अहिले अरू दलहरूसँगको छलफलमा जुटेको छ। वामपन्थी धारका साना दलहरू विप्लव, मोहनविक्रम सिंह, नारायणमान बिजुक्छे, सिपी मैनाली लगायतले नेतृत्व गरेका पार्टीहरूसँग सहकार्य र एकता गर्ने सन्दर्भमा छलफल गरिरहेको छ।  

समाजवादी कार्यक्रममार्फत नेपाली समाजवादको यात्रासम्म पुग्नकै लागि यी दलहरूसँग छलफल भइरहेको एकीकृत समाजवादी सचिव सोमप्रसाद पाण्डे बताउँछन्। 

‘हामीले सकेसम्म बलियो मोर्चा बनाएर संविधानमा लेखिएको समाजवादमा पुग्ने लक्ष्य लिएका छौं। यसलाई प्रमुख एजेन्डा बनाएर हामीले महाधिवेशनबाट पारित गरिसकेका छौं। त्यसमै सम्पूर्ण शक्ति लगाउने र त्यसका लागि वातावरण तयार गर्ने भनेका छौं’, नेता पाण्डेले थाहा खबरसँग भने, ‘यसका निम्ति हामीले मोर्चा पहिल्यै बनाइसकेका छौं, अब वामपन्थी एकताको लागि प्रयास पनि भइरहेको छ।’ 

सचिव पाण्डेका अनुसार एमालेसँग भने अहिलेसम्म वामपन्थी एकताका लागि छलफल अघि बढाउने आँट एकीकृत समाजवादीले गरेको छैन तर एमालेबाट प्रस्ताव आए आफूहरू छलफलका लागि तयार रहेको स्पष्ट पारे। 

‘एमालेसँग चाहिँ अहिलेसम्म छलफल हुन सकेको छैन। उताबाट पनि छलफलको प्रस्ताव आएको छैन र हामीले पनि गरेका छैनौं’, उनले भने, ‘तर हामी कुनै प्रस्ताव आए हामी कुनै पनि वामपन्थी पार्टीसँग एकताका निम्ति र वाममोर्चा बनाउने कुरामा तयार छौं।’

एमाले रणनीति : भाउ दिएर कसैलाई नभित्र्याउने, आइहाले स्वागत गर्ने 

विगतमा पार्टी छाडेर अहिले फर्कन चाहनेहरूलाई एमालेले भने अझै नजरअन्दाजमै राखेको छ। उसले भाउ दिएर कसैलाई पार्टीमा नभित्र्याउने र आइहाले स्वागत गर्ने रणनीति लिएको देखिन्छ। 

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतम अहिले एमालेको ध्यान त्यसतर्फ नरहेको बताउँछन्। ‘एमालेबाट विभाजन हुनुको औचित्य पुष्टि गर्न नसक्दा र त्यसको दैनिक गतिविधि, नेतृत्व, चिन्तन धारा सबै भरपर्दो नहुँदा स्वाभाविक रुपमा एकीकृत समाजवादीका कार्यकर्तामा असन्तुष्टि जन्मिनु र आफ्नो घरमै फर्केर काम गर्छु भन्नु स्वाभाविक हो’, उनी भन्छन्, ‘तर हामी पार्टीगत रूपमा अहिले कुनै पनि पार्टीसँग मोर्चा बनाउने, एकता गर्ने जस्ता कुरा उठाइरहेका छैनौं। किनभने अहिले हामी कांग्रेससँग एउटा राष्ट्रिय सहमति गरेर नयाँ सरकार चलाइरहेको छौं।’ 

यद्यपि पार्टीमा आउन चाहनेलाई एमालेले सधैँ रातो कार्पेट ओछ्याएर स्वागत गर्ने नेता गौतम बताउँछन्। ‘हामी वामपन्थी पार्टीका नेताहरू एमालेमा आउन चाहनुहुन्छ भने उहाँहरूलाई रातो कार्पेट ओछ्याएर स्वागत गर्न तयार तयार छौँ। उहाँहरूको क्रियाशीलता, राजनीतिक हैसियत र कार्यसम्पादन क्षमता हेरेर पार्टीले उचित जिम्मेवारी दिनेछ।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.