विराटनगर : पछिल्लो समय युवा पुस्ता स्थानीय उत्पादनलाई व्यवसायीकरण गर्न विभिन्न अवधारणाका साथ बजारमा उपस्थिति जनाउन थालेका छन्।
महिलाले लगाउने गहना होस् या खानाका परिकारमा स्थानीय स्वाद खोज्न थालेका छन्। यसैलाई मद्देनजर गर्दै विराटनगरस्थित बरगाछीमा रहेको याक्सा क्याफे बार रेस्टुरेण्टले स्थानीय उत्पादनलाई प्रोत्साहन दिने उद्देश्यले एकदिने लोकल रुट्स मार्केट आयोजना गरेको छ।
शनिबार होटलकै प्रांगणमा स्थानीय युवाले उत्पादन गरेको सामग्रीको प्रदर्शन सहित विक्री वितरण गर्नका लागि १० वटा स्टल राखिएको थियो।
पूर्वमा पहिलोपटक यस्तो कार्यक्रम आयोजना याक्साले सुरु गरेको आयोजकको दाबी छ। स्थानीय उत्पादनमा अघि बढिरहेका युवा व्यवसायीलाई थप हौसला प्रदान गर्न यस्तो कार्यक्रम आयोजना गरिएको याक्सा क्याफे बारका सञ्चालक टिमको भनाइ छ। उनीहरूको अनुसार महिनामा एकपटक यो कार्यक्रम सञ्चालनमा ल्याउने होटल टिमले जानकारी दिएको छ।
स्टलमा हस्तनिर्मित गहना, पेन्टिङ, ऊनी झोला, लोकल कफी, लोकल रक्सी लगायतका स्थानीयस्तरमा उत्पादन भएका खानाका परिकार लगायतका सामग्री राखिएको थियो भने कार्यक्रममा विभिन्न सांगीतिक कार्यक्रम आयोजना गरिएको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।