दाङ : नेपाल वायुसेवा निगमले तुलसीपुरस्थित टरिगाउँ विमानस्थलमा प्रत्येक शुक्रबार मात्र उडान भर्ने भएको छ। निगमको एउटा जहाज ‘ग्राउण्डेड’ भएकाले शुक्रबार मात्र उडान भर्ने तय भएको निगमका दाङ प्रमुख बलबहादुर सुनारले बताए।
‘अहिले निगमसँग एउटा मात्र जहाज छ, एउटा जहाज ग्राउण्डेड छ’, उनले भने, ‘त्यसैले केही समय हप्ताको शुक्रबार मात्र चलाउने नीति लिइएको हो।’
प्रत्येक शुक्रबार दिउँसो १२ः०० बजे टरिगाउँ जाने र १२ः२० मा फर्किने उनले जानकारी दिए। हाल दाङबाट काठमाडौं जाँदा सात हजार १०० र काठमाडौंबाट दाङ आउँदा सात हजार २५० रुपैयाँ भाडा लाग्छ। अहिले दाङबाट काठमाडौं जान यात्रु नपाउने अवस्था छ। जहाज नियमित नहुँदा पनि यात्री भैरहवा वा नेपालगञ्ज जाने गरेको भन्दै नियमित भएमा यो समस्या नहुने सुनारले बताए।
यसअघिको शुक्रबार दाङबाट काठमाडौँ जाँदा एकजना मात्र यात्रु थिए। टरिगाउँ विमानस्थलमा पछिल्लो समय जहाज सेवा अनियमित भएको थियो। केही महिना जहाज नै आएन, तर अब त्यसो नहुने प्रमुख सुनारले बताए।
यहाँको विमानस्थल २०११ सालमा स्थापना भएको हो। ७५० मिटर लम्बाइ रहेको धावनमार्ग हुँदा अहिले १९ सिटे जहाज मात्र बस्ने गरेका छन्। यसलाई बढाएर एक हजार ५०० मिटर बनाउन सके ७२ सिट जहाज बस्ने र सेवा नियमित हुने बताइन्छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।