विराटनगर : कुनै समय जीवनदेखि हार महसुस गर्दा क्यानभासमा पोतिएको रङ र सुन्दर चित्रमा उनी जीतको महसुस गर्थिन्। त्यसैले होला उनको साँघुरो बाटोबाट थालेको यात्राले फराकिलो गन्तव्य पछ्याउन पाइला डगमगाएको छैन।
यतिबेला, विराटनगर–१२ की नेहासा पोखरेल आफूले बनाएको पेन्टिङ र आफ्नो कम्पनीलाई ब्रान्डिङ गर्ने दौडमा दौडिरहेकी छन्।
अझ भनौँ रङसँग खेल्दै जीवनलाई रंगीन बनाउन पेन्टिङ रोजेको बताउने उनी कहिले तराईको लोकप्रिय खाजा चना चिउरा, मिठाई अंकित आर्ट बनाउन भ्याउँछिन्।
उनी आफूले बनाएको सुन्दर पेन्टिङ देखाउँदै सुनाउँछिन्,‘कुनै समय जीवनको लो फेसमा थिएँ, त्यहाँबाट आफूलाई निकाल्न पेन्टिङ थालेकी हुँ।’
तर, अहिले समयसँगै उनले रुचिलाई व्यवसायको बाटोमा डराउँदै अगाडि बढिरहेकी छन्। त्यसो त उनले कतै तालिम या भनौँ क्लास लिएकी छैनन्। आफ्नै मनमा लागेको विषयलाई क्यानभासमा उतार्ने गरेको उनी सुनाउँछिन्।
जीवनमा आउने उत्तरचढावहरूलाई अवसरको रूपमा लिएर अगाडि बढ्न सके जीवन सुन्दर छ भन्ने एउटा पाठ उनीबाट सिक्न सकिन्छ। हार्नु हुँदैन हारेको महसुस भए जीतको बाटा र गन्तव्य आफैँले पछ्याउन सक्दा सफलताको एउटा खुड्किला उक्लन सकिन्छ।
किनकि ७ वर्षदेखि क्यानभासमा आफ्नो भावनाहरू कोर्दै आएकी नेहासाले कमेरो नाम दिएर कम्पनी दर्ता गरेकी छन्।
जुन कम्पनीलाई उनी विराटनगरको बजारमा मात्रै होइन विश्व बजारमा चिनाउन प्रयासरत छिन्। व्यवसायमा एक्लो यात्रा तय गरेकी उनीसँग सहयात्री बनेर एकजना साथी थपिएकी छन्। पेन्टिङमा मात्रै सीमित नरहेर नेहासाको कम्पनी अर्थात् कमेराले महिलाहरूले लगाउने गहनाहरू पनि उत्पादन गर्ने गरेको छ।
आफूहरूले उत्पादन गरेको सामग्री काठमाडौंसम्म सप्लाई गरेको बताउने उनी यसलाई विस्तारै ब्रान्ड बनाउने तयारी रहेको सुनाउँछिन्।
माटोको भाँडाहरूमा पेन्टिङ गरिरहने भएकाले आमाले कम्पनीको नाम ‘कमेरो’ जुराइदिएको उनले बताइन्।
उनी सुनाउँछिन्,‘म माटोको भाँडामा पनि पेन्टिङ गर्छु , त्यही भएर आमाले यो कम्पनीको नाम कमेरो जुराइदिनु भएको हो।’
उनी सामाजिक सञ्जाल आफ्नो व्यवसायलाई विस्तार गर्न सदुपयोग गर्छिन्। इन्स्टाग्राममार्फत उनी आफूले बनाएको सामग्री पोष्ट गर्ने गरेको र त्यही हेरेर पनि ग्राहकहरू आउने गरेको उनी सुनाउँछिन्।
यो व्यवसाय उनले फाइदाको हिसाबले भन्दा पनि ‘प्यासन’ लाई स्थान दिएको बताइन्। ‘ब्राण्डहरू थोरै भएपनि बजारमा विस्तार हुँदैछ , कन्टयाक गरेर ग्राहकहरू आउनुहुन्छ। उनी सुनाउँछिन्,‘यहाँ रेष्टुरेण्टमा आउनुहुने ग्राहकहरूले पनि हेरेर भिजिट गर्नुहुन्छ र मनपर्ने समान किन्नुहुन्छ।’
त्यसो त उनी रेष्टुरेण्टमा कन्ट्र्याकअनुसार पेन्टिङ समेत गर्ने रहेछिन्। दुई वर्षदेखि कमेरो नाम दिएर दर्ता गरेर काम गर्न सुरु गरेको बताउने उनी भन्छिन्,‘प्यासनलाई प्रोफेसन बनाएको मात्रै हुँ।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।