मलेखु : त्रिभुवन राजपथअन्तर्गत नौबिसे-नागढुङ्गा सडकखण्ड लेदोसहितको पहिरोले अवरुद्ध भएको छ।
धादिङको धुनिबेंसी नगरपालिका–९ सुरुङमार्गनजिक सडकमाथिबाट खसेको लेदो माटोले सडक दुईतर्फी अवरुद्ध भएको हो। लुम्बिनी प्रदेश ०१००१ ज ०००५ नम्बरको स्कार्पियो जिप लेदोमा फसेको छ।
निरन्तरको वर्षातसँगैको लेदोले सडक अवरुद्ध हुँदा सवारीसाधनको लामो लाम लागेको छ। काठमाडौँबाट पूर्व–पश्चिमका जिल्लातर्फ छुटेको यात्रु बससहित साना ठूला सबै सवारीसाधन सडकमै रोकिएका छन्।
राजमार्गमा ठूलो मात्रामा लेदो थुप्रिएकाले खुलाउन ५ घण्टाभन्दा बढी समय लाग्ने इलाका प्रहरी कार्यालय गजुरी धादिङका प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठले जानकारी दिए। निरन्तर पानी परिरहेकाले लेदो पन्छाउन कठिनाइ भइरहेको उनले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।