काठमाडौँ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले राम्रो नीति बनाउने दृढताका साथ आफू अघि बढेको बताएका छन्।
नेपाल पर्यटन बोर्डले सोमवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले आफ्नो मन्त्रालयले नीति बनाउने जाँगर देखाएन भनेर सुन्न नपर्ने गरी काम गर्ने आश्वासन दिएका हुन्। उनले आफूले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय राम्रोसँग बुझेको उल्लेख गर्दै अब राम्रो नीति बनाउने कुरामा केन्द्रित हुने बताए।
मन्त्री पाण्डेले आफू मन्त्री रहेसम्म नीति बनाउने कुरामा अकर्मण्यता देखायो भन्ने गुनासो सुन्नु नपर्ने बताए। उनले नीतिगत निर्णय लिनका लागि आफूले प्रधानमन्त्री, अर्थमन्त्रीलगायतसँग छलफल गर्ने कुरालाई पनि तीव्रता दिएको उल्लेख गरे।
मन्त्री पाण्डेले भने, ‘अब म संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई बुझ्ने भएको छु भन्ने तहमा पुगेको छु। म मन्त्री भएपछि पनि यो नीति भएन। यसमा परिमार्जन गर्नुपर्ने थियो। सरकारले अकर्मण्यता देखायो नीति परिवर्तनमा जाँगर गरेन भन्ने कम्तिमा सुन्न पाउनु हुनेछैन। राम्रो नीति बनाउने दिशामा म सम्पूर्ण प्रयत्न गर्नेछु। आज पनि ४-५ वटा प्रस्ताव मन्त्रिपरिषद्मा पेश हुँदै छन्।’
मन्त्री पाण्डेले मन्त्रालयको कामलाई सक्रियताका साथ अघि बढाउने पनि बताए। कार्यक्रममा बोल्दै बोर्डका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले निजी क्षेत्रसँगको सहकार्यमा पर्यटन क्षेत्रको विकासमा लागिपर्ने प्रतिबद्धता व्यक्त गरे।
प्रमुख कार्यकारी अधिकृत जोशीले पर्यटन क्षेत्रको योजनाबद्ध विकासमा आफू केन्द्रित हुने बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।