काठमाडौँ : अबदेखि सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रले राष्ट्रिय खेलाडीहरूको मुटुसहितको स्वास्थ्य परीक्षण नि:शुल्क गर्ने भएको छ।
मंगलबार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल र युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको उपस्थितिमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) र सहिद गंगालाल राष्ट्रिय हृदयरोग उपचार केन्द्रबीच राष्ट्रिय खेलाडीहरूको स्वास्थ्य परीक्षण निःशुल्क गर्ने सम्झौता भएको हो।
कार्यक्रममा पारा ओलम्पिकमा कांस्य पदक विजेता पलेशा गोवर्धनको स्वास्थ्य परीक्षण गरेर परीक्षणको सुरुआत गरिएको थियो।
सम्झौतानुसार यसका लागि आवश्यक आर्थिक व्यवस्थापन केन्द्र आफ्नै स्रोतबाट गर्नेछ। उक्त सम्झौता हरेक वर्ष नवीकरण गर्ने व्यवस्था गरिएको छ।
सो अवसरमा मन्त्री पौडेलले खेलाडीको स्वास्थ्य परीक्षणसम्बन्धी कार्यक्रमका लागि अर्को वर्ष थप स्रोत सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरे।
यसैगरी युवा तथा खेलकुदमन्त्री चौधरीले खेलाडी विदेशिनुमा उपचार अभाव पनि एउटा कारण रहेको जनाउँदै यसबाट अन्ताराष्ट्रिय प्रतिस्पर्धामा देशका तर्फबाट सहभागी राष्ट्रिय टिमका ७५७ खेलाडी लाभान्वित हुने विश्वास व्यक्त गरे।
तपाईंको ईमेल गोप्य राखिनेछ ।