५१ जनाको उद्धार, अझै अनुगमन गर्दै काठमाडौँ महानगर
५१ जनाको उद्धार, अझै अनुगमन गर्दै काठमाडौँ महानगर
काठमाडौँ : गत बिहीबार काठमाडौँ महानगरपालिका वडा नं-१४ कुलेश्वर आवास क्षेत्रबाट बालिका करणी आरोपमा ५४ वर्षीय पुरुष आफ्नै घरबाट पक्राउ परे। बालिकाले आफू जोखिममा रहेको र ३ वर्षदेखि आफूलाई ती पुरुषले जबरजस्ती करणी गरिरहेको भनी सूचना दिएपछि अनुगमन टोलीले तयार पारेको प्रतिवेदनका आधारमा आरोप लागेका पुरुषलाई पक्राउ गरिएको हो।
महानगरपालिकाको प्रमुख सचिवालयका अनुसार आरोपित व्यक्तिलाई कालीमाटी प्रहरीवृत्तमा राखेर अनुसन्धान भइरहेको छ। १७ वर्षीया बालिका गत ६ वर्षदेखि त्यही घरमा आफू घरेलु कामदारका रूपमा राखिएको र गत ३ वर्षदेखि आफूलाई ती पुरुषले जबरजस्ती करणी गरिरहेको बालिकाले बताएकी छन्।
महानगरपालिकाले बालबालिकाहरूको अवस्था अध्ययनका लागि सार्वजनिक यातायात क्षेत्र, होटल, रेष्टुरेन्ट तथा होस्टलमा रहेका बालश्रमिक र आफ्ना नातागोताबाहेक अन्य व्यक्तिसँग रहे बसेका बालबालिका सम्बन्धी जानकारी लिन परिचालन गरेका इन्टर्न विद्यार्थीहरूले बालबालिकाको अवस्थाका विषयमा जानकारी लिने गरेका छन्।
यसरी प्राप्त गरिएको जानकारी र संयुक्त अनुगमन टोलीले गरेको अनुगमनपछि तयार पारिएको प्रतिवेदनले बालिकामाथि यौनजन्य दुर्व्यवहार भएको देखिएको महानगरपालिका प्रमुखको सचिवालय सदस्य धिरज जोशीले बताए। उनले भने, ‘यो प्रतिवेदन आफैँमा जाहेरी हो, हामीले बालिकाका अभिभावकलाई पनि बोलाएका छौँ, अब कारबाही प्रक्रिया अगाडि बढ्छ।’
गत वैशाखमा सोही इन्टर्न विद्यार्थीको टोलीले प्रश्नावली भर्ने क्रममा १४ वर्षीया बालिकाले आफूलाई बालुवाटारको घरमा घरेलु कामदार राखेर दाङ तुल्सीपुर उपमहानगरपालिका वडा नं ५ बस्ने रेखाकुमारी शर्माले विभिन्न यातना दिएको बताएकी थिइन्।
प्रश्नावलीमा दिइएको जवाफमा उनले आफूलाई पाइप र लठ्ठीले पिटेर सजाय दिने गरिएको, धम्की दिने, खाना पकाउने, घरमा पोछा लगाउने, बिरुवामा पानी हाल्ने काम गर्ने गरेको विवरण लेखेकी थिइन्।
विवरणमा उनले आफूलाई परिवारसँग भेट गर्न नदिएको समेत उल्लेख गरेकी थिइन्। त्यसपछि जेठ १४ गते नेपाल प्रहरी, बालबालिका खोज तलास सेवा (१०४), वडाका जनप्रतिनिधि र बाल उद्धार कार्यदलको टोलीले उनलाई उद्धार गरेर संरक्षण दिएको थियो। शर्मा नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य हुन्।
५१ जना बालबालिकाको उद्धार
यी माथि घटेको दुई घटना प्रतिनिधिमूलक मात्रै हुन्। १८ वर्षमुनिका बालबालिकालाई जोखिमपूर्ण श्रममा लगाउनु कानुनी अपराध हो तर पछिल्लो समय काठमाडौंभित्र विभिन्न लोभलालच देखाएर घरेलु कामदार राखी बालबालिका नारकीय जीवन बिताउन बाध्य छन्।
महानगरपालिकाले घर, होटल लगायत विभिन्न ठाउँमा त्यसरी यातना दिएर राखिएका ५१ जना बालबालिकाको उद्धार गरेको छ। महानगरपालिका प्रमुखको सचिवालय सदस्य जोशीका अनुसार वैशाखयता अहिलेसम्म जोखिममा रहेका २७ जना बालिका र २४ जना बालक गरी ५१ जना बालबालिकालाई उद्धार गरिसकिएको छ।
‘तीमध्ये २३ जनालाई अस्थायी संरक्षण गृहमा राखिएको छ, सुरक्षा, शिक्षादीक्षा तथा स्वास्थ्योपचार सुनिश्चित गरेर बाँकीलाई पारिवारिक पुनर्मिलन गराइएको छ,’उनले भने।
बालशोषण गर्नेलाई उन्मुक्ति दिइँदै
काठमाडौं महानगरपालिकाले विभिन्न यातना दिँदै बालश्रममा लगाएका बालबालिकाहरूको उद्धार गरेर कारबाही माग गरे पनि ती बालशोषण गर्ने व्यक्तिहरू भने शक्तिको आडमा कारबाही परेका छैनन्। राजनीतिक दलहरूले नै उनीहरूलाई संरक्षण दिइरहेका छन्। त्यसो त काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले भदौ १६ गते नेकपा एमालेका सांसद शर्माकै तस्वीरसहित सरकारले कहिले समाउने भन्दै सामाजिक सञ्जालमा पोष्ट गरेका थिए।
उनले भनेका छन्, ‘उहाँ हुनुहुन्छ नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्मा, उहाँले विगत ८ वर्षदेखि बन्दी बनाएर एकजना नाबालिकालाई घरेलु कामदारको नाममा हिंसा गर्दै आउनुभएको छ। दैनिक रूपमा कुटपिट गर्दै आउनु भएको छ। काठमाडौं महानगरले विगत २ महिनादेखि कारबाही अगाडि बढाउनु भन्दा पनि यो सरकारले समाएको छैन। अदालतले पनि मुद्दा चलाउ भनेर भनिसकेको छ,सम्माननीय प्रधानमन्त्री खड्गप्रसाद ओली ज्यू, सुशासन भनेको अदालतले नि समाउ भनेको तपाईंको सांसद रेखा शर्मा जसलाई बालशोषण गरेको मुद्दा छ समाउनलाई भन्दछ, सायद तपाईंको लागि सुशासनको अर्थ सो बालिकाको मृत्युपछि गोहीको आँसु चुहाएर फेसबुकमा समवेदना दिँदै एक लाख घोषणा गर्नु नै होला, कहिले समाउने? कि नसमाउने?।’
उक्त पोष्टपछि नेकपा एमालेका कार्यकर्ताहरूले शर्माको बचाउ गरे। अनेरास्ववियु केन्द्रीय कमिटीका अध्यक्ष समिक बडालले बारम्बार स्टाटस हाल्दै शर्माकै बचाउ गर्दै आइरहे। उनलाई कारबाही गर्नुपर्ने माग संसद्मै उठेको छ।
हिजो बसेको प्रतिनिधिसभा बैठकमा सत्तारुढ दल नेपाली कांग्रेसकी सांसद रमा कोइराला पौडेलले शर्मालाई कारबाही गर्नुपर्ने माग गरिन्। उनले भनिन्, ‘कानुनले बालश्रमलाई निषेधित गरेको छ तर कानुन बनाउनेले नै बालश्रम प्रयोग गर्ने त्यस्ता व्यक्तिलाई सरकारले कारबाही गर्नुपर्छ।’
बालबालिकाको अवस्थामा अझै निगरानी बढाउँदै महानगर
काठमाडौं महानगरपालिकाले १८ वर्षमुनिका बालबालिकालाई जोखिमपूर्ण श्रममा नलगाउन आग्रह गरेको छ र त्यस्तो भेटिएमा महानगरपालिकामा सम्पर्क गर्न पनि अनुरोध गरेको छ। यसका लागि महानगरपालिकाले सूचना नै जारी गरेको छ।
जेठ १८ गते प्रकाशित सूचनामा भनिएको छ, ‘काठमाडौं महानगरपालिका क्षेत्रभित्र रहेका होटेल, बार, रेस्टुरेन्ट, घर, यातायात, निर्माण सेवालगायतका विभिन्न क्षेत्रमा गैरकानुनी रूपमा बालबालिकालाई श्रममा लगाइएको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही हुने ब्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ।’
महानगरपालिकाले कहीँ कतै बालबालिकालाई जोखिमपूर्ण श्रममा लगाएको वा कानुनले तोके बमोजिमका विशेष संरक्षणको आवश्यकता भएका कुनै पनि बालबालिका वा जीविकोपार्जनमा अत्यन्तै समस्यामा परी श्रममा आउन बाध्य भएको पाइएमा ११८० वा १६६००१०५५११ मा सम्पर्क गर्न/गराउन समेत आग्रह गरेको छ।
महानगरपालिकाले अझै बालबालिकाको अवस्थाको निगरानी बढाउने पनि जनाएको छ। महानगरपालिका प्रमुखको सचिवालय सदस्य जोशीले भने, ‘जसका कोही छैनन्, जसको केही छैन, त्यस्ताको संरक्षक स्थानीय सरकार हो, बालबालिकाहरू आफ्ना पीडा व्यक्त गर्न सक्दैनन्,उनीहरू आवाजविहीन हुन्। यसकारण हामीले जोखिममा रहेका बालबालिकाको अवस्थामा निगरानी बढाएका हौँ।’
उनका अनुसार अनुसन्धानमूलक कार्यपद्धतिबाट उनीहरूको अवस्थामा जानकारी लिएपछि प्राप्त जानकारी र विवरण पुष्टि गराउने आधार र प्रमाण संकलन हुन्छ। यसका आधारमा जोखिममा रहेका बालबालिकाको उद्धार र संरक्षण गर्ने गरिएको छ। यस कार्यका लागि ३१ जना इन्टर्न खटिएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।