उदास व्यवहार देखाउने साथीलाई खुलेर सहयोग गरौँ

|

काठमाडौँ : ​तपाईं पत्याउनु हुन्छ? नेपालमा हुने सडक दुर्घटनामा ज्यान गुमाउने संख्याभन्दा दैनिक आत्महत्या गरेर ज्यान गुमाउने संख्या धेरै छ।

सरकारी तथ्यांक अनुसार नेपालमा आत्महत्याबाट दैनिक २० जनाले ज्यान गुमाउँछन्। आत्महत्याबाट हुने यो मृत्युको संख्या कहिलेकाहीँ आकस्मिक रूपमा हुने सडक दुर्घटनाबाट हुने मृत्युको संख्याभन्दा डर लाग्दो संख्या हो।

आत्महत्याका कारण हुने मृत्यु रोक्न वा नियन्त्रण गर्न सकिने मृत्यु भए पनि दिन प्रतिदिन नेपालमा यो संख्या बढ्दो छ।

आत्महत्या गर्ने व्यक्तिले देखाउने व्यवहार, संकेतलाई समयमै बुझ्न सकेमा रोक्न सकिने विज्ञहरू बताउँछन् तर त्यसो हुन सकेको छैन।

सामाजिक वा व्यक्तिगत विभिन्न कारणले निम्तने मानसिक स्वास्थ्य समस्यालाई अन्य प्रकारका शारीरिक स्वास्थ्य समस्या जस्तै मानेर खुलेर बेलैमा उपचार नगर्दा अन्तिममा गएर मान्छेले आत्महत्याको बाटो रोज्ने गरेको बताउँछन त्रिवि शिक्षण अस्पतालका मानसिक रोग विशेषज्ञ डा. सरोज ओझा। उनले भने‚ ‘आफूलाई कुनै कुराको दबावमा नराख्ने खुलेर कुरा गर्ने र कसैले दैनिकमा सामान्य समयमा भन्दा फरक व्यवहार गर्छ केही समयदेखि उदास र नैराश्यका कुरा गर्छ भने परिवारका अन्य सदस्यले शारीरिक स्वास्थ्य जस्तै खुलेर उपचार गर्न सकियो भने धेरै जीवनलाई बचाउन सकिन्छ। त्यसैले जीवन बचाउन खुलेर कुरा गर्नुपर्छ’‚ डा ओझाले भने।

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. यदुचन्द्र घिमिरेका अनुसार पछिल्लो समय बढ्दो सामाजिक प्रतिस्पर्धा तथा युवा उमेरमा आफ्नो करियर निर्माणमा लिइने दबाव जस्ता कारणले मानिसहरूले आत्महत्याको बाटो रोज्न गरेको पाइएको बताउँछन्। ‘मानिसहरू बढ्दो सामाजिक प्रतिस्पर्धा तथा युवा उमेरमा आफ्नो करियर निर्माणमा लिइने दबाव जस्ता कारणले मानसिक दबावमा लामो समय रहिरहेका विस्तारै आफ्नो मृत्युको बारेमा सोच्न थाल्छ। त्यसैले निराशाका कुरा गर्ने, मर्न मन लागेको कुरा गर्ने जस्ता संकेत दिने भन्दै समयमै उनका कुरा सुनिदिने र सम्झाउने गर्न सकेमा मात्रै मान्छेलाई यस्ता घटनाबाट बचाउन सकिन्छ’‚ डा. घिमिरेले भने।

हुन पनि विश्वमा मृत्युको २० प्रमुख कारणमध्ये आत्महत्या पनि एक रहेको छ। विश्वमा हरेक वर्ष करिब ७ लाख व्यक्तिले आत्महत्याबाट ज्यान गुमाउने गरेका छन्। प्रत्येक आत्महत्याबाट आत्महत्या गर्ने मानिसको ज्यान गुम्ने मात्र नभई त्यसरी मृत्युवरण गरेका नजिका १३५ जनालाई सहित मानसिक आघात पुग्ने तथ्यांकले देखाउँदै आएको छ।

नेपाल सरकारले सन् २०३० सम्म आत्महत्याको दर प्रति लाखमा ४.७ जना झार्ने भनेको छ तर अहिले प्रतिलाखमा २५ रहेको छ। पछिल्लो ९ वर्षको तथ्यांक हेर्दा नेपालको आत्महत्या गर्ने दर बढ्दो क्रममा छ।

नेपाल प्रहरीले तीन वर्षअघि सार्वजनिक गरेको तथ्यांकमा आर्थिक वर्ष २०७८।०७९ मा ६ हजार ८३० जनाले आत्महत्या गरेका थिए, आर्थिक वर्ष २०७९।०८० मा ६ हजार ९९३ जनाले र गत आर्थिक वर्ष २०८०।०८१ मा ७ हजार २२३ जनाले आत्महत्या गरेका छन्।

आत्महत्याबाट हुने मृत्युलाई रोक्न घरपरिवार तथा नजिकका साथीहरूको भूमिका पनि धेरै हुने डा. घिमिरे बताउँछन। उनका अनुसार उदास र नैराश्य जस्ता स्वभाव देखाउने साथीहरूलाई  एकलै नछाड्ने र आवश्यक सहयोग गर्ने, उदासी व्यवहार बारेमा सोध्ने तथा साथीले सहयोग लिन नमानेको खण्डमा उसले कुरा सुन्ने अथवा सहयोग लिन चाहने आफन्त, दाजुभाइ, साथीभाइ वा अभिभावकलाई जानकारी दिने जस्ता काम गर्न सकियो भने पनि धेरै दुर्घटनाबाट बचाउन सकिन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.