काठमाडाैँ : कृषि तथा वनविज्ञान विश्वविद्यालय (एएफयू) को केन्द्रीय क्याम्पस रामपुर चितवनमा लगाइएको ताला अझै खुलेको छैन।
विश्वविद्यालयको छात्रावासमा बस्ने नेविसंघ र अनेरास्ववियूमा आबद्ध विद्यार्थीहरूबीच भदौ १३ गते झडप भएको थियो। झडपमा आफ्ना कार्यकर्ता गम्भीर घाइते भएपछि नेविसंघले भदौ १५ गतेदेखि तालाबन्दी गरेको छ।
नेविसंघको माग
नेविसंघले रामपुर एकाइ समितिका निवर्तमान अध्यक्ष शुभमसिंह ठकुरीसहितका विद्यार्थीलाई अनेरास्ववियूमा आबद्ध सक्षम काफ्लेसहितको समूहले निर्घात कुटपिट गरी गम्भीर घाइते बनाएको बताएको छ।
कुटपिटमा संलग्नलाई पक्राउ गर्नुपर्ने, विश्वविद्यालयले अनुशासनको कारबाही गरी निष्काशन गर्नुपर्ने, घाइतेहरूको उपचार विश्वविद्यालयले गराउनुपर्ने लगायतका माग गर्दै नेविसंघले ताला लगाएको हो।
विश्वविद्यालयको छात्रावासमा विगतदेखि देखा पर्दै आएको समस्या समाधान गर्न पनि नेविसंघले माग गरेको प्रवक्ता सुरज सेजुवालले बताए। ‘विश्वविद्यालयले आफ्नो छात्रावासमा भएका घटनाको जिम्मेवारी लिनुपर्छ, छात्रावासभित्रका विद्यार्थीको आपसी झडपमा विद्यार्थीको आँखा, टाउको फुटेको छ। तिनको उपचारको थोरै पनि जिम्मा लिएको छैन’‚ उनले भने।
डिन, भिसी र रजिष्ट्रारसँग निरन्तर सम्पर्कमा रहेको बताउँदै उनले भने‚ ‘अहिलेसम्म विश्वविद्यालयले ठोस प्रतिक्रिया दिएको छैन, आफ्नो छात्रावासभित्र भएको घटनाको जिम्मेवारी नलिई पन्छिरहेको छ र संगठनको नाम दिएर दोषीलाई उम्काउने, कारबाही नगर्ने प्रवृत्ति देखिएको छ।’आफूहरूको माग पूरा नहुन्जेल ताला नखोल्ने नेविसंघले बताएको छ। कुटपिट गर्ने‚ अंगभंग गराउने छुट कसैलाई नभएको भन्दै उनले त्यस्ता विद्यार्थीलाई अनुशासनको कारबाही गरी क्याम्पसबाट निष्काशन गर्नुपर्ने माग राखे।
विगतमा पनि एएफयूमा यस्ता घटना हुँदै आएका छन्। विशेषगरी छात्रावासमा बस्ने विद्यार्थीहरूबीच तनाव हुने गरेको छ। यसलाई मद्देनजर गर्दै छात्रावासको पुनर्संरचना गर्नुपर्ने माग पनि नेविसंघको छ। कुटपिटमा संलग्न विद्यार्थीलाई कारबाही गर्ने परिपाटी शुरुवात गर्नुपर्ने र छात्रावासको पुनर्संरचना गर्नुपर्ने नेविसंघको मुख्य माग रहेको प्रवक्ता सेजुवालले बताए।
कुटपिटबाट आँखामा गम्भीर चोट लागेका रामपुर एकाइ समितिका कोषाध्यक्ष कमन दाहाल र टाउकोमा चोट लागेका सचिव प्रीतम भण्डारीको काठमाडौंमा उपचार भइरहेको नेविसंघले जनाएको छ। घटनापछि नेविसंघले आक्रमणमा संलग्न अनेरास्ववियूका विद्यार्थीहरूविरुद्ध जाहेरी दर्ता गराएको थियो। प्रहरीले केहीलाई पक्राउ गरे पनि अझै तीनजना फरार रहेको भन्दै उनीहरूलाई पनि पक्राउ गर्नुपर्ने नेविसंघको माग छ।
परीक्षा प्रभावित
विश्वविद्यालयमा नेविसंघको तालाबन्दीका कारण निर्धारित परीक्षा नै प्रभावित भएको छ।
यही भदौ १४ गते हुने तय भएको नियमित र मौका परीक्षा स्थगित गरिएको छ। यसैगरीे भदौ २८ गतेदेखि नयाँ भर्नाका लागि हुने प्रवेश परीक्षा असोज ९ सम्मलाई स्थगित गरिएको छ।
समस्या समाधानको पहल ?
छात्रावासभित्र विद्यार्थीहरूबीच भएको झडपको घटना छानबिन गर्न उपकुलपति प्रा.डा. पुण्यप्रसाद रेग्मीले छानबिन समिति बनाएका छन्।
विश्वविद्यालय कृषि संकायका डिन प्रा. डा. अर्जुनकुमार श्रेष्ठ समस्या समाधानका लागि पहल गरिरहेको बताउँछन्। ‘सरोकारवालाहरूसँग आन्तरिक छलफल पनि भइरहेको छ। उपकुलपतिले छानबिन समिति बनाउनुभएको छ, प्रतिवेदन आएपछि छिट्टै समस्या समाधान हुन्छ’‚ उनले भने।
तनाव उत्पन्न भएपछि डिनको कार्यालयले करिव २ सयजना बराबरको छात्रावास खाली गराएको छ। प्रहरीको निर्देशनमा छात्रावास खाली गराइएको डिन श्रेष्ठले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।