|
तस्वीर सौजन्य : नेपाल क्रिकेट संघ (क्यान)

काठमाडौँ : नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले आईसीसी विश्वकप लिग–२ को आगामी श्रृंखलामा हरेक खेलाडीले आफ्नो जिम्मेवारीअनुरुप खेल्ने बताएका छन्।

घरेलु मैदानमा भएको लिग–२ को पहिलो श्रृंखला सुखद् नभएको उल्लेख गर्दै प्रशिक्षक मोन्टीले क्यानडा र अमेरिकामा हुने दुई श्रृंखलामा जित्ने अपेक्षा व्यक्त गरे। 

नेपालले आइसिसी विश्वकप लिग–२ साइकलअनुरूपमा क्यानडामा दोस्रो र अमेरिकामा तेस्रो श्रृंखला खेल्दै छ। नेपाल क्रिकेट संघ (क्यान) ले मंगलवार आयोजना गरेको विदाइमा प्रशिक्षक मोन्टीले यी श्रृंखलाका लागि क्यानले भारत र श्रीलंकामा व्यवस्थापन गरेको प्रशिक्षण क्याम्प उपयोगी सावित हुने आशा गरे। 

यस क्रममा खेलाडीले फरकफरक प्रशिक्षकसँग सिक्ने अवसर पाएको उल्लेख गर्दै त्यहाँबाट सिकेका स—साना कुरा आगामी खेलमा उपयोगी हुने उनले उल्लेख गरे। उनले जित र हार आफ्नो हातमा नभए पनि जितको मानसिकता हुनुपर्ने बताए।

क्यानले आईसीसी विश्वकप लिग–२ को श्रृंखलाका लागि क्यानडा जाने टोलीको विदाइ गरेको छ। मंगलवार राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङलगायतको उपस्थिति थियो। 

नेपालले आगामी सेप्टम्बर १६ देखि २० सम्म हुने एकदिवसीय श्रृंखलामा घरेलु टोली क्यानडा र ओमानसँग खेल्दै छ। 

एकदिवसीय श्रृंखलापछि यी तीनै टोली सम्मिलित टी–२० अन्तरराष्ट्रिय श्रृंखला पनि हुनेछ। श्रृंखलामा नेपालले सेप्टेम्बर २८ र अक्टोबर १ मा क्यानडा तथा सेप्टेम्बर २९ र अक्टोबर २ मा ओमानसँग खेल्नेछ।

त्यसपछि नेपाल लिग–२ नै खेल्न अमेरिका प्रस्थान गर्नेछ। अमेरिका, नेपाल र स्कटल्याण्डबीच त्रिकोणात्मक र टी–२० दुवै श्रृंखला हुनेछ। 

यसअघि सन्दीप लामिछानेले अमेरिकाको भिसा पाएका थिएनन्। यसपल्ट भने सकारात्मक सन्देश प्राप्त भएको र उनीमाथि लागेको बलात्कार आरोपबारे पनि फैसला भएकाले सन्दीपले भिसा पाउनेमा आशावादी रहेको क्यानका सचिव पारस खड्काले बताए। 

क्यानले यो भ्रमणका लागि जगत टमाटालाई सल्लाहकार प्रशिक्षक नियुक्त गरेको जानकारी दियो। 

नेपालले पहिलो श्रृंखला कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेलेको थियो। श्रृंखलामा नामिबियासँग दुवै खेल हारेको नेपालले नेदरल्याण्ड्ससँग एक जित र एक हार बेहोरेको थियो। 

नेपाली टोलीमा सन्दीपसँगै रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, अनिल साह, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, कुशल मल्ल, अर्जुन साउद, सोमपाल कामी‚ करण केसी, गुल्शनकुमार झा, रिजन ढकाल र ललितनारायण राजवंशी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.