काठमाडौँ : नेपाल योग खेलकुद सङ्घ, बागमती प्रदेशको आयोजनामा यही भदौ २९ गतेदेखि ‘दोस्रो उपत्यकास्तरीय योग खेलकुद प्रतियोगिता’ हुने भएको छ।
आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष केदारनाथ बस्ताकोटीले तारकेश्वर नगरपालिकाको सहकार्यमा योगलाई खेलकुदसँग जोड्नका लागि प्रतियोगिता आयोजना गर्न लागिएको बताए। प्रतियोगिता तारकेश्वरमा हुनेछ। उनका अनुसार योग प्रशिक्षण गराइरहेका विभिन्न विद्यालय तथा योग खेलाडी गरी २३२ र १३० सामूहिक गरी ३६२ जना सहभागी हुनेछन्।
प्रतियोगितामा एकल प्रतिस्पर्धा र सङ्गीतमय सामूहिक योगासन प्रतिस्पर्धा पनि हुनेछ। प्रतियोगितामा नौ वर्ष उमेरदेखि ५० वर्ष उमेरसम्मका खेलाडीले समेत सहभागिता जनाउनेछन्। आसनलाई खेलको रूपमा विकास गर्नका लागि प्रतियोगिता गरिएको अध्यक्ष बस्ताकोटीले बताए।
उनका अनुसार नेपालमा योग खेलकुदलाई प्रवर्द्धन गर्न नेपालमै विभिन्न स्तरका तीनवटा दक्षिण एसियाली योग खेलकुद प्रतियोगिता, पाँचवटा राष्ट्रिय प्रतियोगिता, एउटा प्रदेशस्तरीय र एउटा उपत्यकास्तरीय प्रतियोगिता भइसकेको छ।
नेपालमै अन्ताराष्ट्रियस्तरको प्रतियोगिताको तयारी गरिएको पनि अध्यक्ष बास्ताकोटीले जानकारी दिए। नेपालको मौलिक खेलको रूपमा रहेको योगासन खेलले मानिसलाई योगमा जोड्ने विश्वास गरिएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।