दमौली : पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-२ को नारीघाटमा मोटरसाइकल र बस ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने आँबुखैरेनी–३ स्थित गाउँपालिकाको कार्यालय अगाडिको पुलबाट बस खस्दा ११ जना घाइते भएका छन्।
मुग्लिनबाट पोखरातर्फ आउँदै गरेको ग १ ख ९४०२ नम्बरको बस आज पुलबाट खस्दा ११ जना घाइते भएका हुन्। वडा नम्बर ३ र २ जोड्ने खहरेखोलामा निर्माण गरिएको पुलको बीच भागमा ग्याप रहेको र सोही ग्यापबाट बस खसेको हो।
घाइतेहरू सबैलाई आँबुखैरेनी अस्पताल पुर्याइएको र अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक दीपक रायले जानकारी दिए।
उनले भने, “त्यस ठाउँमा नयाँ र पुरानो गरी दुईवटा पुल छन्‚ बीचमा ग्याप छ। बस चालक झुक्किएर ग्यापबाट बस खसेको देखिन्छ।”
बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ नारीघाटमा आज दिउँसो सवा २ बजे बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।
आँबुखैरेनीबाट डुम्रेतर्फ आउँदै गरेको ग १ ख ७१४५ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको बा ९१ प २४५७ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक आँबुखैरेनी गाउँपालिका–२ बस्ने २८ वर्षीय आस्विन सुनारको मृत्यु भएको थियो।
दुर्घटनामा घाइते सुनारलाई तत्काल आँबुखैरेनी अस्पताल लगिएकामा साढे २ बजे चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक टेकप्रसाद सुवेदीले बताए।
प्रहरीले बसचालक लमजुङको सुन्दरबजार नगरपालिका–८ बस्ने २८ वर्षीय दीप भुजेललाई नियन्त्रणमा लिएको छ। यसैगरी बसको पछाडिपट्टि बी ४६५० नम्बरको कार ठोक्किएको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।