|

काठमाडौँ : ओलम्पियाड खेल्न जाने तयारीमा रहेको नेपाली चेस टोलीलाई युरोपेली मुलुक हंगेरीले भिसा दिन अस्वीकार गरेको छ।

यसअघि नेपालस्थित जर्मन राजदूतावासले चेस टोली फर्कनेमा आशंका जनाउँदै भिसा नदिएपछि चेस टोलीले भारतबाट हंगेरीको भिसा लिन प्रयास गरेको थियो। 

नेपाली टोलीमा खेलाडीभन्दा बढी पदाधिकारी भएकाले नेपालस्थित जर्मन दूतावासले बुद्धिचाल टोलीलाई भिसा दिन अस्वीकार गरेको थियो।

चेस टोलीलाई भारतस्थित हंगेरीको दूतावासले भिसा नदिएको नेपाल बुद्धिचाल महासंघले जनाएको छ। नेपालमा हंगेरीको दूतावास छैन। 

४५औँ ओलम्पियाड बुधवार नै हंगेरीको राजधानी बुडापेष्टमा शुरु भएको छ। नेपालका खेलाडी र अफिसियलले सहभागी हुन नपाए पनि अष्ट्रेलियाबाट बुडापेष्ट पुगेका विवेक थिङले भने ओलम्पियाड खेल्ने बुद्धिचाल महासंघले जनाएको छ। 

हंगेरी जाने टोलीमा नेपाली टोलीको हेड अफ डेलिगेट्सको रूपमा महासंका अध्यक्ष हेराकाजी महर्जन, महासचिव धरमबहादुर लामा, कोषाध्यक्ष ताराबहादुर रानाभाट र सदस्य राजु ताम्राकार समावेश थिए।

पुरुष खेलाडीहरूमा राजन सुवेदी, सिएम सुश्रुत दहाल, एफएम क्षितिज भण्डारी, सिएम रुपेश जैसवाल र २२८१ उच्च रेटेड विवेक थिङ थिए। महिला खेलाडीतर्फ सिन्दिरा जोशी, कृतिसरा अधिकारी, पूजा भण्डारी, शान्ति धिमाल र रिया श्रेष्ठ थिए। 

भारतस्थित हंगेरी दूतावासले भिसा नदिएपछि केही नेपाली पदाधिकारी भारतबाटै स्वदेश फर्किएको महासंघले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.