|

काठमाडौँ : खानेपानीमन्त्री प्रदीप यादवले वर्षायाममा मेलम्चीको पानी नआउँदासम्म काठमाडौँ उपत्यकामा पानीको आपूर्ति सुधार्न र थप स्रोत खोजी गर्न निर्देशन दिएका छन्।

काठमाडौँको तारकेश्वर नगरपालिकास्थित अल्ले र बौडे तथा टोखा नगरपालिकास्थित भण्डारे मुहानको अनुगमन तथा निरीक्षण पश्चात उनले यस्ता स्रोतहरुको संरक्षण र सुधारलाई प्राथमिकता दिइ पानीको चुहावट रोक्न निर्देशन दिए।

उनले मन्त्रालयका कर्मचारीलाई हाल अल्ले, बौडे, भण्डारे र तारकेश्वरलगायतमा रहेका मुहानबाट आपूर्ति भइरहेको ६५ लाख लिटर पानी अपुग रहेको बताए। 

ती मुहानबाट दैनिक एक करोड २१ लाख लिटर पानी आपूर्ति हुनसक्ने सम्भावना रहेकाले सोहीअनुसार काम अगाडि बढाउन निर्देशन दिए।

यसैगरी मन्त्री यादवले उपत्यकाका पानीका स्रोतलाई दीर्घकालीन रुपमा संरक्षित गर्नु मन्त्रालयको प्रमुख दायित्व भएको उल्लेख गरे। उनले भने, “यस्ता स्रोतहरुको पानी नजोगिने गरी चुहावट भइरहेकाले त्यसलाई रोक्न अत्यावश्यक छ।”

मन्त्री यादवले खानेपानी समस्याको दीर्घकालीन समाधान गर्न मन्त्रालयबाट आफूले प्राथमिकताका साथ ठोस योजना अघि सारिरहेको दावी गरे। उनले भने, “खानेपानीको समस्याबाट देशभरिका जनताले दुःख पाइरहेका छन्, म यो विषयमा गम्भीर छु।” 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.