|

बेलायतका वैज्ञानिकहरूले शिशुको दिशाको अध्ययन गरेका छन्। दिसाको दुई हजारभन्दा बढी नमुना संकलन गरी वैज्ञानिकहरूले नवजात शिशुको आन्द्रामा पहिलोपटक कुन प्रकारको ब्याक्टेरिया फस्टाउँछ भनी बुझ्ने प्रयास गरेका हुन्। 

अनुसन्धानबाट शिशुहरूको दिसा तीन फरक माइक्रोबायोलोजिकल प्रोफाइलमा पर्ने,  प्रत्येकमा जुनसुकै नयाँ वातावरणमा बस्न र फस्टाउन सक्ने भिन्नाभिन्नै ‘पायनियर ब्याक्टेरिया’ ठूलो मात्रामा पाइने वैज्ञानिकहरूले पत्ता लगाए।

शिशुलाई पोषक तत्व 

वेलकम सेङ्गर इन्स्टिच्युट, युनिभर्सिटी कलेज लन्डन र युनिभर्सिटी अफ बर्मिङ्घमका वैज्ञानिकहरूले १ हजार २८८ जना स्वस्थ शिशुहरूको दिसाको नमूना जाँच गरेका थिए। ती सबै बेलायतको अस्पतालमा जन्मिएका एक महिनाभन्दा कम उमेरका शिशुहरू थिए।

शिशुको दिसाका अधिकांश नमूनाहरू फरकफरक ब्याक्टेरियाहरू प्रमुख रहने तीनवटा व्यापक समूहमा पर्दछन्। तिमध्ये बि. ब्रेव र बि.लोङ्गम ब्याक्टेरिया समूह लाभदायक मानिन्छ। ति ब्याक्टेरियाको आनुवंशिक प्रोफाइलबाट तिनीहरूले शिशुलाई आमाको दूधमा रहेको पोषक तत्वहरूको प्रयोग गर्न मद्दत गर्न सक्ने पत्ता लागेको वैज्ञानिकहरू बताउँछन्। 

प्रारम्भिक परीक्षणबाट ती मध्ये एक विशेष ब्याक्टेरिया बी.ब्रेव (बिफिडोब्याक्टेरियम ब्रेव) रहेको पाइयो। यो ब्याक्टेरियाले शिशुलाई स्तनपानको क्रममा दूधमा पाइने पोषक तत्वहरू पचाउन र कीटाणुहरूबाट बचाउन मद्दत गर्न सक्छ।

नेचर माइक्रोबायोलोजीमा प्रकाशित प्रारम्भिक रिपोर्टमा यो ब्याक्टेरियाको अर्को प्रकार हानिकारक हुन सक्ने र यसबाट बच्चाहरूमा संक्रमणको बढी जोखिमको खतरा हुनसक्ने चेतावनी दिइएको छ। ​

वैज्ञानिकहरुले एउटा मान्छेको माइक्रोबायोम, अर्थात् उसको आन्द्रामा बस्ने लाखौं भिन्नाभिन्नै सूक्ष्मजीवहरूले त्यस व्यक्तिको स्वास्थ्यमा ठूलो प्रभाव पार्छ भन्ने प्रमाणहरु पनि प्रसस्तै भेट्टाए । यस्तैगरी ई.फिकलिसबाट कहिलेकाँही शिशुहरुलाई संक्रमणको जोखिम हुनसक्ने पाइयो ।

वैज्ञानिकहरूले अध्ययनमा समावेश गरेका शिशुहरूलाई जन्मेपछिका केही हप्ता कसैलाई पुरै र कसैलाई आंशिक रूपमा स्तनपान गराइएको थियो तर शिशुलाई स्तनपान वा फर्मुला (पाउडर) दूध दिँदा उसको आन्द्रामा बस्ने पायनियर ब्याक्टेरियामा कुनै असर नपर्ने अनुसन्धानकर्ताहरूले बताएका बिबिसिले जनाएको छ। 

प्रसवका समयमा एन्टिबायोटिक्स दिइएका आमाहरूबाट जन्मेका शिशुहरूलाई ई. फिकलिस (एन्टरोकोकस फेकेलिस) हुने सम्भावना बढी हुने पनि पाइएको छ। 

यसले स्वास्थ्यमा दीर्घकालीन असर गर्छ कि गर्दैन भन्ने अझै स्पष्ट भइसकेको छैन। यस्तैगरी, अन्य कारकहरू जस्तैः आमाको उमेर, जात र आमाले कतिपटक बच्चा जन्माइन् भन्ने कुराले पनि माइक्रोबायोमको विकासमा महत्त्वपूर्ण भूमिका खेल्छ।

बालबालिकाको दीर्घकालीन स्वास्थ्यमा यी माइक्रोबायोमहरूको सही प्रभाव जान्नका लागि वैज्ञानिकहरूले अनुसन्धान गरिरहेका छन्। वेलकम सेङ्गर इन्स्टिच्युटका डा. यान शाओले १२०० भन्दा बढी शिशुको दिसाको नमुना परीक्षणबाट प्राप्त जानकारी विश्लेषण गरेर तीन पायोनियर ब्याक्टेरियाहरू पहिचान गरिएको बताए। ‘यी ब्याक्टेरियाहरूले आन्द्राको माइक्रोबायोटाको विकास गर्छ’, उनले भने।

सीवीच क्वीन म्यारी युनिभर्सिटी अफ लन्डनमा माइक्रोबायोम विज्ञानका व्याख्याता डा. रुईरी रोबर्टसनले भने, ‘यस अध्ययनले जीवनको पहिलो महिनामा पेटको माइक्रोबायोम निर्माणको बारेमा विद्यमान जानकारीलाई उल्लेखनीय रूपमा विस्तार गर्दछ।’ यद्यपि उनी यस अनुसन्धानमा संलग्न थिएनन्।

आफूहरूले हालका वर्षमा पेटको माइक्रोबायोम संयोजन र दम र एलर्जी जस्ता बाल्यकालका सामान्य विकारहरूमा जन्मको ढाँचा र स्तनपानको प्रभावसँग सम्बन्धित धेरै जानकारी प्राप्त गरेको उनले बताए। ‘तर यो अझै प्रभावकारी माइक्रोबायोम–केन्द्रित उपचारमा परिवर्तन गर्न सकिएको छैन’, उनले भने। 

बच्चा जन्माउने र स्तनपान गराउने निर्णयहरू ‘जटिल र व्यक्तिगत’ हुने भन्दै युनिभर्सिटी अफ लिभरपूलका प्रोफेसर लुइस केनी उत्तम विकल्पहरूको कुरा गर्दा ‘सबैका लागि एउटै दृष्टिकोण’ अपनाउन नसकिने बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.