संक्रमितमा मृत्युदर २२.९५ प्रतिशत
संक्रमितमा मृत्युदर २२.९५ प्रतिशत
काठमाडौँ : जापानी इन्सेफ्लाइटिसले प्रकोपकै रूप लिन थालेको छ। स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका अनुसार गत जनवरीदेखि हालसम्म देशभरका प्रयोगशालामा परीक्षण गरिएका ६९५ वटा नमुनामा ६१ जनामा जापानी इन्सेफ्लाइटिस संक्रमण पुष्टि भएको छ। संक्रमितहरूमा मृत्युदर एकदमै उच्च देखिएको छ।
परिवार कल्याण महाशाखाले हालै सार्वजनिक गरेको विवरणअनुसार ६१ जना संक्रमितमध्ये हालसम्म १४ जनाको मृत्यु भइसकेको छ। मृत्यु हुने संक्रमितमध्ये प्रायको यही भदौ महिनामा मृत्यु भएको हो। मृत्यु हुनेमा कैलाली, कपिलवस्तु, पाल्पा, चितवन, सिन्धुली, रौतहट, सर्लाही, सिराहा, सुनसरी, झापा, जिल्लाका रहेको महाशाखाले जनाएको छ।
हाल संक्रमणबाट हुने मृत्युदर २२.९५ प्रतिशत रहेको छ। जुन हाल फैलिरहेको डेंगु र हैजाको मृत्युदरभन्दा अधिक हो।
प्रयोगशाला परीक्षणको नतिजा अनुसार यसका विरामीमा धेरैजसो १५ वर्षभन्दा कम उमेर समूहका रहेका छन्।
गतवर्ष यसको संक्रमणबाट ६ जनाको मात्रै मृत्यु भएको थियो । तर गतवर्षको तुलनामा यो वर्ष मृत्यु संख्या बढेको हो। गतवर्ष १०७ जना यो संक्रमण देखिएको थियो तर यो वर्ष ६१ जना मात्रै भेटिदा १४ जना संक्रमितको मृत्यु भइसकेको छ। जसले गर्दा गत वर्षभन्दा यो वर्ष जापानी इन्सेफ्लाइटिस संक्रमणको मृत्युदर उच्च रहेको परिवार कल्याण महाशाखा खोप शाखाका प्रमुख डा. अभियान गौतमले बताए।
पछिल्ला केही वर्षको विवरण हेर्ने यो भने सन् २०१७ पछि सन् २०२३ र यो वर्षमा धेरै संक्रमितको मृत्यु भएको छ।
सन् २०१७ मा ८१ जना संक्रमित देखिएका एकजना संक्रमितको मृत्यु भएको थियो। त्यसपछि सन् २०१८ मा ५८ जना, सन् २०१९ मा ७० जना, सन् २०२४ मा २४ जना,सन् २०२१ मा २८ जना, सन २०२२ मा ७९ संक्रमित भेटिएका थिए। तर सन् २०१७ मा एकजना संक्रमितको मृत्यु भएयता सन् २०२३ को बीचमा कुनै पनि संक्रमितको मृत्यु भएको थिएन।
यसको संक्रमण कसरी हुन्छ ?
जापानी इन्सेफ्लाइटिस संक्रमति लामखुट्टेले टोकेर मानिसमा सर्ने संक्रामक रोग हो। क्युलेक्स जातको पोथी लामखुट्टेले यो रोग सार्छ।
यो भाइरस सुँगुर, बंगुर, हाँसजस्ता घरपालुवा पशुपन्छीको शरीरमा लामो समय रहिरहन्छ। यस्तै धानखेती हुने तराईमा यस्तो संक्रमण बढी देखिने गरेको छ ।
संक्रमित लामखुट्टेले सुँगुर, बंगुर, हाँसजस्ता घरपालुवा पशुपन्छीलाई टोकेर मानिसलाई पनि टोके यो रोग सर्छ तर मानिसबाट मानिसमा यो रोग सरेको छैन।
लामखुट्टेले टोकेपछि यस्ता लक्षण देखिए हुनसक्छ जापानी इन्सेफ्लाइटिस
यो रोगको संक्रमण भए कडा गरी टाउको दुख्ने, कडा ज्वरो आउने र मस्तिष्क सुन्निएर मानिस विरामी बेहोससमेत हुन्छन्। बेहोस भएकामध्ये कतिपय विरामीको मृत्युसमेत हुन सक्छ। लक्षणअनुसार यसको उपचार गरिन्छ। उपचारपछि निको भए पनि पक्षाघात भई अपांगताको समस्या रहिरहन्छ।
यो रोग लागिसकेपछि निको नहुने र लागेकामध्ये ३० प्रतिशतको मृत्यु हुने जोखिम हुन्छ तर यो रोगविरुद्धको खोप लिए यो रोगको जोखिम हुँदैन। नेपालले जापानी इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान चलाइसके पनि छुटेकाहरूमा संक्रमणमा पर्दा मृत्यु भएको गौतमले बताए।
डेंगु र हैजा जस्ता संक्रमणभन्दा जापानी इन्सेफ्लाइटिस संक्रमणको स्वास्थ्य जटिलता अलि बढी हुन्छ। जापानी इन्सेफ्लाइटिस एन्टिभाइरल उपचार नभएकाले यसविरुद्धको खोप लगाउनु र लामखुट्टेको टोकाइबाट बच्च्नु नै सुरक्षाको सबैभन्दा राम्रो उपाय हो। ‘यो रोग देखिएपछि यसका लागि भनेर खास उपचार छैन। त्यसैले विभिन्न खालका जापानी इन्सेफ्लाइटिस एन्टिभाइरल उपचार छैन। अन्य खालका सहायक उपचार गरिने हो। त्यसैले कसैमा यो उपचार लाग्छ‚ कसैमा लाग्दैन तर बेलैमा यस विरुद्धको खोप लगाइयो भने संक्रमणबाट बच्ने सम्भावना धेरै हुन्छ’‚ खोप शाखा प्रमुख डा. गौतमले भने।
नेपालमा पनि यसविरुद्ध पाँच वर्षमुनिका बालबालिकालाई नियमित रूपमा खोप लगाइँदै आइएको छ। वेला वेलामा संक्रमण देखिदा विशेष खोप अभियान समेत सञ्चालन हुँदै आएको छ तर यो खोप लगाएको १० दिनपछि मात्रै काम गर्ने हुँदा संक्रमण देखिएपछि उक्त क्षेत्रमा खोप अभियान चलाउनुभन्दा नियमित खोप तालिका अनुरूप नै बालबालिकालाई जापानी इन्सेफ्लाइटिसविरुद्धको खोप लगाउनु उपयुक्त हुने खोप शाखा प्रमुख डा. गौतमले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।