|

काठमाडौँ : स्वास्थ्य बिमा बोर्डका अध्यक्ष डा गुणराज लोहनीले राजीनामा दिएका छन्। आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुगेर स्वास्थ्यमन्त्री प्रदिप पौडेल मार्फत उनले बोर्डको अध्यक्षबाट राजीनामा दिएको बुझिएको छ।

'राजीनामा बुझाउन आउनुभएको थियो तर मन्त्रीज्यू नभएपछि सचिवालयमा राजीनामा पत्र छाडेर जानु भएको छ‚' स्वास्थ्य मन्त्रालयका एक अधिकारीले बताए। 

अस्पतालहरुले बिमामार्फतको सेवा दिएबापत तिर्न बाँकी दावीवापतको तिर्ने पैसा नभएको भन्दै स्वास्थ्य बीमा बोर्डले सरकारसँग यस आर्थिक वर्षको एकमुष्ठ अनुदान माग गरेको थियो। सो विषयमा स्वास्थ्य तथा जनसंख्यामन्त्री र मन्त्रालय सकारात्मक नभएपछि उनले राजीनामा दिएको निकट स्रोतले जानकारी दिएको छ। 

पछिल्लो समय बिमामार्फतको सबैभन्दा धेरै सेवा दिने त्रिवि शिक्षण अस्पताललगायत अस्पतालहरुमा बोर्डले दावीबापतको धेरै रकम बुझाउन बाँकी रहेको छ। 

राजीनामा दिएको विषयमा जानकारी लिन डा लोहनीसँग पटक पटक सम्पर्क गर्दा उनी सम्पर्कमा आउन चाहेनन् तर उनले आफ्नो फेसबुक पेजमा भने ‘जिम्मेवारीबाट भाग्नु सामाजिक बेइमानी हो तर अहिलेका लागि ………’  लेखेका छन् ।

स्वास्थ्य  मन्त्रालयका पूर्वअतिरिक्त स्वास्थ्य सचिवसमेत रहेका डा लोहनीलाई १३ मंसिर २०८० मा बसेको मन्त्रिपरिषद् बैठकले बीमा बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.