काठमाडौँ : नेकपा (एमाले)को सचिवालय बैठकले आगामी कार्तिक भित्र बाँकी रहेका जिल्ला अधिवेशनहरू सम्पन्न गरिसक्नेलगायतका १८ विषयवस्तु समावेश गरिएको कार्ययोजना पारित गरेको छ।
कार्ययोजनामा आगामी मंसिरभित्र सबै तहका कमिटीहरूको अधिवेशन सम्पन्न गरिसक्ने उल्लेख गरिएको पार्टीका महासचिव शंकर पोखरेलले जानकारी दिए। कार्ययोजनामा पार्टीलाई आगामी २०८४ सालको निर्वाचनमा एक्लै बहुमत ल्याउने गरी अघि बढाउने भनिएको छ।
त्यसैगरी पार्टीमा युवाहरूलाई परिचालन गर्नका लागि ४० वर्षभन्दा मुनिका युवाहरूलाई समेटेर युथ समिट आयोजना गर्ने निर्णय पनि गरिएको छ। महासचिव पोखरेलले राष्ट्र निर्माणका लागि युवाहरूलाई परिचालन गर्ने उद्देश्यका साथ एमालेले आफ्नो नेतृत्वमा सो सम्मेलन आयोजना गर्ने कुरालाई वार्षिक कार्ययोजनामा समावेश गरेको बताए।
एमालेले समावेश गरेको १८ वटा विषयवस्तुसहितको कार्ययोजनामा सबै कमिटीहरूको कार्यालय व्यवस्थित बनाउने, सोसल मिडियालाई अनिवार्यरुपमा जोड्ने र हरेक पार्टी कमिटीहरूले सोसल मिडिया नेटवर्क निर्माण गरेर आफ्नो प्रचारको कामलाई व्यवस्थित गर्ने कुरामा जोड दिइएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।