|

काठमाडौं : चक्रपथअन्तर्गत कलंकी—वसुन्धरासम्मको सडक बिस्तार शुरु गर्ने भनिएको लामो समय भइसक्यो। पूर्व तयारीका लागि सडकमा पर्ने रुख कटानदेखि अन्य केही काम शुरु भएपनि सडक बिस्तारको काम शुरु हुन सकेको थिएन। यही भदौ ६ गते नेपाल र चीन सरकारका प्रतिनिधिहरूबीच सडक बिस्तारमा सहयोग गर्ने सम्बन्धी पत्रमा हस्ताक्षर भएपछि दोस्रो खण्डको निर्माण प्रक्रिया शुरु भएको छ।

८.२ किलोमिटरको दोस्रो खण्ड बिस्तारको काम २०७५ सालमै शुरु हुनुपर्ने थियो। तर नेपाल सरकार स्वयं र चीन सरकारले ढिलाइ गर्दा कामले गति लिन सकेको थिएन। २०६९ सालमा कोटेश्वर कलंकी पहिलो खण्डको काम शुरु भइ २०७५ सालमै सकिएको थियो। पहिलो बिस्तारको काम सकिए लगत्तै दोस्रो खण्डको सडक बिस्तार शुरु हुनुपर्ने थियो। थर विभिन्न कारणवश अहिलेसम्म पनि शुरु हुन सकेको थिएन।

जबकि चीनसँग सन् २०१८ मा यो सडक खण्ड बिस्तारका लागि जिटुजी सम्झौता भएको थियो । चीन सरकारले पूर्वतयारीका काम नटुंग्याई आफूहरू नआउने अडान लिँदै आएको थियो । यसैबीच कोरोना महामारी लगायतका कारण काम अघि बढेको थिएन। पूर्वतयारी स्वरुप नेपालले २०७५ मै रुख कटान लगायतका केही काम अघि बढाएको थियो। तर त्यसपछि दुई देशबीच सहमति बन्न नसक्दा आम नागरिकले भने दुःख र सास्ती व्यहोर्नुपर्‍यो। र अहिले पनि जारी छ। सडक बिस्तारको रुपमा अघि बढाइएको कामले गति लिन नसक्दा धुवाँ, धुलो, हिलो र खाल्डाखुल्डीहरू अहिले पनि प्रशस्त देखिन्छन्।

बालुवा, गिटी, थुपारिएको अव्यवस्थित स्वरुप पनि देखिन्छ। जसकारण सो क्षेत्रको व्यापार व्यवसायमात्रै चौपट्ट बनेको छैन, व्यवसाय नै छोड्नुपरेको गुनासो व्यवसायीहरूको छ। यसबीचमा स्थानीय नागरिक र सम्बन्धित जनप्रतिनिधिहरूले सडक बिस्तारको कामलाई तीब्रता दिन आन्दोलनसमेत गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.