|

सुर्खेत :  रारा ताल ! सायद यहाँ जो कोही जानका लागि समय मिलेसम्म तयार नै हुने ठाउँको रुपमा पर्दछ। चारै तीर सेताम्य हिमालहरूले घेरेर बीचमा विशाल भुगोल ओगटेर थरी , थरीका रंग पर्ने रारा ताल जान जो कोही तयार नहुने कुरै भएन। यहाँ तालले मात्र सुन्दर बनाएको छैन। धार्मिक रुपमा पनि यो ठाउँ त्यतिकै महत्वपूर्ण रहेको छ। 

मुलुकका चार धाम मध्य महत्वपूर्ण एक धाम यही तालसँगै जोडिएको भागमा पर्दछ। छायाँनाथ पनि हिन्दु धर्मावलम्बीहरूको लागि प्रसिद्ध ठाउँको रुपमा आफूलाई स्थापित गर्दै आएको छ। यहाँको नगरपालिकाको नाम समेत छायाँनाथ रारा नगरपालिका हो। धार्मिक तथा पर्यटकीय क्षेत्र रारासँग जोडिएर यसको नाम राखिएको नगरप्रमुख विष्णु भामले बताए।

ताल र छायानाथ देवताको संयुक्त अस्तित्वलाई मान्यता नगरपालिकाले आफूलाई स्थापित गरेको छ।  सन् २००८ मा रामसार क्षेत्र घोषणा गरिएको यो ताल १०.८ किलोमिटर क्षेत्रफलमा फैलिएर रहेको छ। तालको औसत लम्बाइ ५ किलोमिटर, चौडाइ ३ किलोमिटर र गहिराइ १ सय ६७ मिटर छ। रारा तालको किनारैकिनार पूरै एक फन्को मार्न करिब ५ घण्टा लाग्छ। रारा तालको सुन्दरता एकै शव्दमा गर्न मुस्किल रहेको छ। यहाँ मौसम अनुसार तालले रुपमा फेर्ने गर्दछ। हिउँदको समयमा हिउँले ढाकेर सेताम्य हुन्छ भने  वर्षायाममा रारा ताललाई फूलैफूलले पगरी गुथेको हुन्छ। रारा ताललाई राजा महेन्द्रले वि.सं. २०२० मा ‘स्वर्गकी अप्सरा’ भनेर नामकरण गरेका थिए।

सूर्यको किरण अनुसार तालले आफूलाई समायोजन गरि रुप बदल्ने गर्दछ। प्रकृतिको उपहारका रूपमा सृजित रारा ताललाई रारा राष्ट्रिय निकुञ्जको मनोरम हरियालीले थप आहा बनाएको छ।  

हिमाली काखमा हरिया वनजंगलले घेरिएको कञ्चन पानी सल्बलाउने रारा ताल नै हो। यस तालको क्षेत्रफल १०.६५ वर्ग कि.मी. छ। यस तालको लम्बाइ करिब ५ कि.मी., चौडाइ ३ कि.मी. र गहिराइ १६७ मिटर छ। नेपालको सबभन्दा ठूलो तालको रूपमा रहेको रारा ताल सन् २००७ मा रामसार सूचीमा सूचीकृत हुनुले यसको अन्तर्राष्ट्रिय महत्वलाई समेत दर्शाउँछ। तालको दक्षिणतर्फ चुचेमारा टाकुरा (४०८७ मिटर), उत्तरतर्फ रुम काँध (६७३१ मिटर) र मालिका काँध (३४४४ मिटर) जस्ता हिम चुचुराहरू पर्दछन्। यि चुचुराले रारा राष्ट्रिय निकुञ्जको मनोरम प्राकृतिक दृश्य एवं सुन्दरतालाई अझ भव्य बनाइदिएको छ। 

तालको किनार तथा आसपासको क्षेत्रमा हिमाली कालो भालु, थार, हाब्रे, घोरल, रतुवा, कस्तुरी मृग, बँदेल आदि गरी ५१ प्रजातिका स्तनधारी वन्यजन्तु पाइने निकुन्जले जनाएको छ। निकुञ्जमा डाँफे, मोनाल लगायत २७२ प्रजातिका चराचुरुङ्गी पाइन्छन्। निकुञ्ज अन्तर्गत रारा ताल र वरिपरिको कोणधारी वन क्षेत्र स्थानीय र बसाई सरी आउने विभिन्न चराचुरुङ्गीहरूको उपयुक्त बासस्थान बन्न पुगेको छ। यहाँ नेपालका ७ मध्ये ३ प्रजातिका रैथाने असला माछा पाइन्छन्।

पर्यटनको अधिकतम सम्भावना भए तापनि भौगोलिक विकटता र यातायातको सहज पहुँचको अभावको कारण यहाँ पर्यटनको समुचित विकास हुन बाँकी नै रहेको छ। मध्यवर्ती क्षेत्रको मुख्य आम्दानीको स्रोत नै निकुञ्जको पर्यटन भएकाले मध्यवर्ती क्षेत्रको आम्दानी पनि न्यून रहेको छ।

रारा भ्रमण गर्न असोज–कात्तिक र वैशाख–जेठ महिना उपयुक्त मानिन्छ। पुसदेखि फागुनसम्म यहाँको तापक्रम शून्यभन्दा पनि तल हुने भएकाले यो समयमा उपयुक्त मानिँदैन। रारा तालको पूरा आकृति हेर्नका लागि समुद्री सतहबाट करिब ४ हजार मिटर उचाइमा अवस्थित मुर्मा टप नै उपयुक्त स्थल मानिन्छ। यो स्थानबाट मौसम सफा भएको समयमा मध्य र सुदूरपश्चिमका ६ वटा जिल्लासमेत अवलोकन गर्न सकिन्छ।

रारा ताल रारा राष्ट्रिय निकुञ्जभित्र पर्ने भएकाले रारासम्म सवारी साधन प्रवेश निषेध छ। मिलीचौरमा सवारी साधन रोकेर रारा तालतर्फ पैदल यात्रा गर्नुपर्छ। पैदल यात्रा गर्न नसक्नेहरूका लागि घोडाको व्यवस्था पनि छ। सवारी साधन छोडेपछि करिब ३० मिनेटको यात्रा पश्चात् तालको छेउ पुग्न सकिन्छ। कर्णाली प्रदेशको सदरमुकाम सुर्खेतदेखि दुई दिनको सवारी यात्रा पश्चात् रारा पुग्न सकिन्छ। 

आ–आफ्ना देशमा उपलब्ध प्राकृतिक स्रोतसाधन, मानवीय क्षमता, भौतिक पूर्वाधार, सांस्कृतिक सम्पदा, व्यापारिक कारोबारका लागि उपयुक्त रणनीतिक एवं भू–राजनीतिक अवस्थाको सही पहिचान र उपयोगबाट विकासोन्मुख देशहरूले समेत आर्थिक विकास र वृद्धिमा उल्लेखनीय फड्को मारिरहेको अवस्था छ। 
यो क्षेत्र प्राकृतिक, सांस्कृतिक एवं धार्मिक पर्यटकीय सम्पदाको धनी भए पनि आन्तरिक तथा बाह्य पर्यटन बजारमा आवश्यक पहुँच , प्रसारको कमीले सोचेअनुसार पर्यटकको संख्यामा वृद्धि सकिरहेको छैन। प्राकृतिक तथा सांस्कृतिक पर्यटन गतिविधिलाई विकास गरी यसबाट अपेक्षित लाभ लिन लिन सके भारी गरिमा बढ्ने देखिन्छ।

ताल सम्मा जानका लागि निर्माण गरिएको घोडेको बाटो समेत प्रभावकारी नहुँदा आउन जान सजिलो नभएको गुनासो आइरहने गर्दछ।
 प्राकृतिक, ऐतिहासिक एवम् धार्मिक क्षेत्रको संरक्षण एवं प्रवर्द्धन प्रभावकारी बनाउन सके यस ठाउँको महत्व मात्र नभइ कर्णालीकै इज्जत बढ्ने कुरामा दुई मत छैन।  पर्यटकीय क्षेत्रको पहिचान एवं सम्भावनाका लागि बनाएका योजनाहरूमा निगरानी कम हुँदा गरिएको लगानीले प्रतिफल आउन सकेको अवस्था छैन। ५ वर्ष देखि साइकल लेन , पूर्वाधार निर्माणको काम सुरु गरिए पनि निर्माण व्यवसायीले बीचमै काम छोडदा लगानी चौपट भइरहेको छायाँनाथ रारा नगरपालिकाका नगरप्रमुख विष्णु भामले बताए।

ताल सम्म पुग्ने र आउनेका लागि बास बस्न होमस्टेलगायत पर्यटकीय सुविधाहरूको उपलब्धतामा हुनुपर्ने सबैको माग रहेको छ। ग्रामीण पर्यटकको विकास र स्थानीय सहभागितामा विशेष जोड दिँदै त्यसको ऐतिहासिक, प्राकृतिक तथा सांस्कृतिक सम्पदा एवं वातावरणको संरक्षण , सम्वद्र्धन गरेमा साँच्चिकै स्वर्गकी अप्सरा भन्ने यूक्रि झैँ हुने छ।  कर्णाली करिडोरलाई भरपर्दो तथा विश्वास योग्य बनाई , हवाई माग समेत नियमित बनाउन सके रारा मात्र नभई यहाँको अन्य कुराहरू समेत विकासको गतीमा जान सक्ने भारी सम्भावना रहेको छ। रारा ताल घुमेर कर्णाली नदीको किनारै किनार मुगुम कार्मारोङ गाउँपालिका जान सकिन्छ। यो छिमेकी डोल्पाको सिमानामा पनि पर्छ। 

बहुमूल्य यार्सालगायतका अन्य जडिबुटी यही पालिकामा पाइन्छ।  डोल्फु गाउँमा अवस्थित तामाखानी रहेको छ। प्रस्तावित भारतको रूपैडिया जमुनाहा–सुर्खेत–दैलेख–जुम्ला–गमगढी–नाक्चेलाग्ना जोडिएमा भारी मात्रामा लाभ लिन सकिन्छ।  

डोल्पा र मुगु जोडिएका जिल्ला हुन्। उता अर्को कुनामा फोक्सुण्डो ताल रहेको छ। भेरी नदीको किनारै किनार फोक्सुण्डो र कर्णालीको किनारै किनार गएमा रारा पुगिन्छ। राराबाट कर्णाली नदीको किनार हुँदै डोल्फु क्षेत्रबाट शे फोक्सुण्डो निकुन्जमा प्रवेश गरेर फोक्सुण्डो पुग्न सकिन्छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.