|

काठमाडौँ : आगामी मंसिरको तेस्रो सातादेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपिएल) का मार्की खेलाडीले २० लाख रुपैयाँ पाउने भएका छन्।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा आगामी मंसिर १५ देखि पुस ६ सम्म हुने उक्त एनपिएलमा खेल्ने आठ फ्रेन्चाइज टोलीका मार्की खेलाडीले उक्त रकम पाउने भएका हुन्। 

क्यानले शनिवार काठमाडौँमा आयोजना गरेको मार्की खेलाडी छनोट कार्यक्रममा उनीहरूले पाउने पारिश्रमिकबारे जानकारी दिएको हो। 

शनिवार गोलाप्रथाबाट नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल लुम्बिनी र पूर्वकप्तान सन्दीप लामिछाने विराटनगरको मार्की खेलाडी तय भएका छन्। काठमाडौँले तीव्र गतिका अनुभवी बलर करण केसीलाई मार्की खेलाडीको रूपमा पाएको छ।  

त्यस्तै ओपनर कुशल भुर्तेल पोखरा र अलराउण्डर कुशल मल्ल चितवनको मार्की तय भएका छन्। अर्का ओपनर आसिफ शेख जनकपुर, अनुभवी बलर सोमपाल कामी कर्णाली र दीपेन्द्रसिंह ऐरी सुदूरपश्चिमका मार्की खेलाडीका रूपमा छनोट भएका छन्।

पोखराको स्वामित्व नेपाल टी–२० प्राली, काठमाडौँको स्वामित्व कान्तिपुर पब्लिकेशन र चितवनको स्वामित्व चितवन मेडिकल कलेजले खरिद गरेको हो। लुम्बिनीको स्वामित्व फच्र्युना हेल्थ केयर, जनकपुरको ड्रिम्स स्पोर्ट्स र कर्णालीको स्वामित्व हिमालयन बिल्डर्स एण्ड इन्जिनियर्सले खरिद गरेको हो।

इम्पायर स्पोर्ट्स म्यानेजमेन्टको स्वामित्वमा सुदूरपश्चिम छ। एमएडी ड्रिम स्पोट्सले विराटनगरलाई दुई करोड पाँच लाखमा खरिद गरेको थियो। 

पोखराका लागि सबैभन्दा बढी तीन करोड ५७ लाख मूल्यमा खरिद भएको हो। कर्णाली सबैभन्दा कम एक करोड ११ लाखमा हिमालयनले फ्रेन्चाइजी पाएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.