काठमाडौँ : नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले नेपाली क्रिकेटप्रतिको क्रेजलाई समेट्दै नेपाली क्रिकेटरलाई राम्रो प्लाट फर्म प्रदान गर्न नेपाल प्रिमियर लिग (एनपिएल) आयोजना गरिएको बताएका छन्।
शनिवार काठमाडौँमा आयोजना भएको मार्की छनोट कार्यक्रममा क्यानका सचिव पारसले एनपिएल आयोजना गर्नुको पछाडि नेपाली क्रिकेटरलाई राम्रो मञ्च दिने उद्देश्य रहेको बताए। उनले एनपिएलमा सहभागी आठ फ्रेन्चाइज टोलीलाई जिल्लाहरूसँग पनि जोड्ने उल्लेख गरे। समर्थकको साथ र समर्थनसँगै नेपाली क्रिकेटलाई अझ माथि उठाउन क्यान पनि पारदर्शी ढंगले काम गरिरहेको उनको विश्वास छ।
सचिव पारसले नेपाली प्रिमियर लिगले ग्रासरुट क्रिकेट विकासमा मद्दत गर्ने आशा व्यक्त गरे। उनले मार्की प्लेयर, टिमका मालिक र स्थानीय प्रशिक्षक मिलेर फ्रेन्चाइज टोलीको ब्रान्ड बढाउन भूमिका खेल्ने उल्लेख गरे। यो शुरुवात भएकाले पहिलो संस्करणमा आर्थिक भार नपरोस् भनेर केही मापदण्ड बनाइएको उनको भनाइ छ।
उनले एनपिएलको उचाइसँगै सबै फ्रेन्चाइज टोलीले पनि ब्रान्ड बिल्डिङ गर्दै जाने हो भने नेपाली क्रिकेटमा धेरै सुखद क्षण आउने बताए। क्यानका सचिव पारसले मार्की र फ्रेन्चाइज टोलीबीच तीन वर्षको सम्झौता रहेको र यो अवधिपछि दुवै पक्षले नयाँ यात्राको थालनी गर्न पाउने उल्लेख गरे।
तर मार्कीको पारिश्रमिकको विषयमा क्यान र फ्रेन्चाइजबीच छलफल गरेर निर्धारण गर्ने उनको भनाइ छ। उनले नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रदर्शन राम्रो गर्न एनपिएल आवश्यक रहेको औंल्याए। टिम खेलमा सबै खेलाडीको योगदान समान रहने भएकाले गोलाप्रथाबाट मार्की छनोट गरिएको क्यानका सचिव पारसले स्पष्ट पारे।
तीन वर्षको अवधिमा कुनै मार्कीलाई स्विच गर्नसक्ने प्रावधानबारे पनि छलफल भइरहेको उनले उल्लेख गरे। उनले नेपाली खेलाडीका आर्थिकस्तर सुधार गर्न मैदानमा हुने प्रदर्शनले निर्धारण गर्ने र त्यसका लागि ग्रासरुट क्रिकेटको भूमिका महत्त्वपूर्ण रहने भएकाले एनपिएल आयोजना गरिएको बताए।
क्यानका सचिव पारसले क्यानले विदेशी खेलाडीको सूची तयार पारिसकेको भए पनि फ्रेन्चाइज टोली यो कोटामा अनुबन्ध गर्न स्वतन्त्र रहेको स्पष्ट पारेका छन्। स्थानीय र अन्ताराष्ट्रिय खेलाडीका लागि छिट्टै रजिस्टर खुलाइने र दशैँभन्दा अगाडि नेपाली खेलाडीको अक्सन गरिने उनले बताए।
नेपाल प्रिमियर लिग (एनपिएल)का मार्की खेलाडी २० लाख रुपैयाँ पाउनेछन्। नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा आगामी मंसिर १५ देखि पुस ६ सम्म हुने तय छ। उक्त एनपिएलमा खेल्ने आठ फ्रेन्चाइज टोलीका मार्की खेलाडी २० लाख रुपैयाँ पाउने भएका हुन्। शनिबार गोलाप्रथाबाट नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल लुम्बिनी र पूर्वकप्तान सन्दीप लामिछाने विराटनगरको मार्की खेलाडी तय भएका छन्।
काठमाडौंले तीव्र गतिका अनुभवी बलर करण केसीलाई मार्की खेलाडीको रूपमा पाएको छ। त्यस्तै ओपनर कुशल भुर्तेल पोखरा र अलराउन्डर कुशल मल्ल चितवनको मार्की तय भएका छन्। अर्का ओपनर आसिफ शेख जनकपुर, अनुभवी बलर सोमपाल कामी कर्णाली र दीपेन्द्रसिंह ऐरी सुदूरपश्चिमका मार्की खेलाडीका रूपमा छनोट भएका छन्।
पोखराको स्वामित्व नेपाल टी–२० प्रा.लि., काठमाडौंको स्वामित्व कान्तिपुर पब्लिकेशन र चितवनको स्वामित्व चितवन मेडिकल कलेजले खरिद गरेको हो।
लुम्बिनीको स्वामित्व फर्च्युन हेल्थ केयर, जनकपुरको ड्रिम्स स्पोर्ट्स र कर्णालीको स्वामित्व हिमालयन बिल्डर्स एन्ड इन्जिनियर्सले खरिद गरेको हो। इम्पायर स्पोर्टस् म्यानेजमेन्टको स्वामित्वमा सुदूरपश्चिम छ। एमएडी ड्रिम स्पोर्टस्ले विराटनगर दुई करोड पाँच लाख खरिद गरेको थियो।
पोखराका लागि सबैभन्दा बढी तीन करोड ५७ लाख मूल्यमा खरिद भएको हो। कर्णाली सबैभन्दा कम एक करोड ११ लाखमा हिमालयनले फ्रेन्चाइजी पाएको हो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।