काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले सुनको स्वर्गको सपना देखाएर मानिसलाई सर्वनास गर्ने कुरा सह्य नहुने उल्लेख गर्दै सहकारी ठगीमा संलग्नलाई कारबाही गरेरै छाड्ने बताएका छन्। उनले सहकारीको मर्मअनुसारका नियमसङ्गत चलाएमा सहकारीहरू भने नडुब्ने र यसले कसैलाई नडुबाउने पनि बताए।
सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिको आज सिंहदबारमा भएको बैठकमा प्रधानमन्त्री ओलीले सहकारीमा गैह्रसहकारी र अनुचित लाभ लिने फरक उद्देश्य लिएर आउने व्यक्तिहरूको प्रवेशले यस क्षेत्रमा विकृति आएको बताए।
अर्थतन्त्रका तीन खम्बामध्ये सहकारीलाई एक खम्बाका रुपमा संवैधानिक व्यवस्था गरिएकामा आफूहरूले अर्थतन्त्रको विकासमा सहकारीलाई महत्व दिएको स्पष्ट पारे। प्रधानमन्त्री ओलीले सरकार अनियमतता, वेथिति, ठगी, कीर्तेजस्ता गलत कामलाई नियन्त्रण गर्न सजग रहेको पनि स्पष्ट पारे।
“विश्वमा अर्थतन्त्र अप्ठ्यारोमा परेका बेला सहकारीको आरम्भ भयो। स–सानो पुँजीलाई जम्मा गरेर विविध क्षेत्रका क्रियाकलापहरुमार्फत सापटी चलाउने, आम्दानी र रोजगारी बढाउने सहकारीका महत्वपूर्ण पक्षहरु छन्”, प्रधानमन्त्री ओलीले भने, “समितिले मेहनतपूर्वक गरेका अध्ययन र छलफलबाट निष्पक्ष सुझाव आओस्। समितिले सरकारलाई निर्देश गरोस्। त्यस्तो सुझावलाई सरकारले कार्यान्वयन गर्छ।”
तपाईंको ईमेल गोप्य राखिनेछ ।