|

काठमाडौँ : प्रतिनिधिसभाका सांसद डा.अमरेशकुमार सिंहले सहकारी ठगी छानबिनमा काँग्रेस एमाले फस्ने भएपछि प्रतिवेदन बुझाउन हतार गरेको खुलासा गरेका छन्। आइतवार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सांसद सिंहले उक्त खुलासा गरेका हुन्। 

उनले नेपाली काँग्रेसका धनराज गुरुङ जस्ता सयौँ र एमालेका पनि सयौँ नेताहरूले सहकारी ठगी गरेका भेटिने बताएका छन्।

सहकारी ठगी आजको नभएर वर्षौंदेखिको समस्या भएको बताउँदै यो अवधिमा एमाले र काँग्रेस सत्तामा भएकाले संसदीय छानबिन समितिले नभई सर्वोच्चका न्यायाधीशको नेतृत्वमा न्यायिक आयोग गठन गर्नुपर्ने माग गरे।

एमालेले त २०७० सालमा काँग्रेसले पनि सहकारीका प्रतिनिधिलाई सांसद बनाएको र एमालेले पनि सहकारीकै प्रतिनिधिका रूपमा इच्छाराज तामाङलाई सांसद बनाएको समेत स्पष्ट पारे।

सिंहले भने, ‘सहकारीबाट नेपाली जनताको करिब एक खर्बभन्दा बढी पैसा अपचलन भएको छ। २०७० सालमा यही काँग्रेसको सहकारीको प्रतिनिधिको रुपमा सांसद समेत बनाइएको थियो। एमालेले इच्छाराज तामाङलाई बनाएको थियो। सहकारीको पैसा प्रयोग गरेको नै काँग्रेस र एमालेले हो। त्यो त उनीहरूले रविको मुख बन्द गराउन खोजेको हो। ऊ भर्खरको नयाँ सहकारीमा फसेको हो। सहकारीको न्यायिक छानबिन गर्नुपर्छ।’

त्यो अपचलन रास्वपाले मात्रै नगरेको उनको कथन थियो। रास्वपाको जन्म कति वर्ष पहिले भयो र सहकारीमा समस्या कहिलेदेखि छ भन्दै प्रश्न गरे।  

सांसद सिंहले सहकारी ठगहरूको सम्पत्ति जफत गरेर भए पनि सरकारले पीडितहरूको रकम फिर्ता गर्नुपर्ने बताए। उनले सहकारी ठगीमा रवि लामिछाने देखिए पनि त्यसमा बढी जिम्मेवार काँग्रेस–एमाले भएको तर्क गरे।

सांसद सिंहले काँग्रेस–एमालेले बढी सहकारीको पैसा प्रयोग गरेको भन्दै यसको अपचलनमा पनि उनीहरू नै बढी जिम्मेवार देखिएको तर्क गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.