|

काठमाडौँ : नेपालका सीएम विवेक थिङ नेपालकै पहिलो फिडे मास्टर बन्न सफल भएका छन्। उनले हंगेरीमा भइरहेको बुद्धिचाल ओलम्पियाडमा फिडे मास्टरको  उपाधि प्राप्त गर्न सफल भएका हुन्।

उनले ओलम्पिक रिङ एक्सपो क्लासिक बुद्धिचाल प्रतियोगितामा व्यक्तिगत रेटिङ १९.४ अंकले बढाउँदै २३०१.४ रेटिङ पुर्‍याएर खेल प्रदर्शनका आधारमा फिडे मास्टरको उपाधि प्राप्त गरेका हुन्।

हंगेरी चेस फेडेरेशनले आयोजना गरेको राजधानी बुडापेष्टमा चलिरहेको बुद्धिचाल स्पर्धामा नेपालका क्याण्डिडेट मास्टर विवेकले एकल अग्रतासमेत लिएका छन्। 

अन्तरराष्ट्रिय प्रतियोगितामा रेटिङ २२८२ प्राप्त सीएम विवेकले चौथो चरणको खेलमा दोस्रो वरीयताका २२७८ रेटेड हंगेरीका अन्तरराष्ट्रिय मास्टर टर्जु अटिलालाई पराजित गरेका हुन्। 

अन्तरराष्ट्रिय खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगितामा नेपालका उच्च रेटेड खेलाडी सीएम विवेक शीर्ष वरीयतामा रहेका छन्। विश्वका ११ राष्ट्र सहभागी प्रतियोगितामा चौथो चरणसम्म गरेर २६ जना अन्तरराष्ट्रिय खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। 

विवेकले पहिलो चरणमा जर्मनका हाहन निक्लासलाई, दोस्रो चरणमा हंगेरीका बाकी बेन्स र तेस्रो चरणमा हंगेरीकै २११९ रेटेड अन्तरराष्ट्रिय मास्टर मेस्जारोस आन्द्रासलाई पराजित गरे। चार चरणको खेलसँगै विवेकले सबै खेल जितेर ४ अंक जोडेका छन्।

दोस्रो स्थानमा रहेका इटलीका २०७० रेटेड ला बार्बेरा मानफ्रेडीको ३.५ अंक छ। अब विवेकले मानफ्रेडीसँग पाँचौँ चरणमा प्रतिस्पर्धा गर्नेछन्। 

नवौँ चरणसम्म हुने प्रतियोगिताको विजेताले ३७५ युरो, उपविजेताले ३ सय युरो र तेस्रो हुनेले २५० युरो नगद पुरस्कार पाउनेछन्।

अष्ट्रेलियामा बस्ने विवेक ओलम्पियाडमा भाग लिन उतैबाट हंगेरी गएका हुन्।

खेलाडीभन्दा बढी संख्या अफिसियलको भएका कारण हंगेरीले भिसा नदिएपछि अन्य नेपाली खेलाडी ओलम्पियाडमा खेल्न जानै पाएनन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.