त्रिशूली : नुवाकोटको दुप्चेश्वर गाँउपालिका–६ मा अवस्थित प्रशिद्ध दुप्चेश्वर महादेव मन्दिरको दर्शन गर्नुपूर्व स्नानको क्रममा आज खोलाले बगाउँदा एकजना तीर्थयात्री बेपत्ता भएका छन्।
मन्दिर परिसरमा रहेको सूर्यमती (तादी) खोलामा स्नानको क्रममा सूर्यगढी गाँउपालिका–३ स्थायी ठेगाना भएर हाल काठमाडौँ बस्ने हिमकुमारी अधिकारीलाई आज खोलाले बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए।
उनका अनुसार परिवारको साथमा मन्दिर दर्शनका लागि आएकी ७२ वर्षीया अधिकारीलाई स्नानको क्रममा खोलाले बगाएपछि खोजी भइरहेको छ।
खोलाले बगाएलगत्तै थालिएको उद्धार र खोजतलास जारी रहेको छ। उनको अवस्था अपराह्नसम्म पत्ता लाग्न नसकेको सूर्यगढी गाउँपालिका अध्यक्ष सन्तबहादुर घलेले जानकारी दिए।
हराइरहेकी वृद्धालाई खोजतलासमा सहयोग गर्न आह्वान गर्दै गाउँपालिकाले उनलाई फेला पार्नेलाई प्रसंशास्वरुप ५० हजार रुपैयाँ नगद दिने घोषणा गरेको छ।
बाढीका कारण खोलाको बहाव ठूलो भएको र पानी धमिलो भएकाले खोजतलासमा समस्या भएको सुरक्षा अधिकारीहरूले बताएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।