बैतडी : संविधान दिवसका अवसरमा बैतडीमा ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको छ। असोज ३ गते मनाइने संविधान दिवसको पूर्वसन्ध्यामा आज खुल्ला डबल ब्याडमिन्टन प्रतियोगिता शुरू भएको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले बताए।
नवनिर्मित जगन्नाथ बहुउद्देश्यीय हलमा सञ्चालित प्रतियोगितामा ३१ टोलीको सहभागिता रहेको छ। ३ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा बैतडीसँगै, दार्चुला, डडेल्धुराका साथै भारतीय टोलीको पनि सहभागिता रहेको प्रमुख जिल्ला अधिकारी शर्माले बताए।
संविधान दिवस जिल्ला मूल समारोह समितिको आयोजनामा शुरू प्रतियोगितामा प्रथम हुनेलाई १५ हजार नगद, मेडल र प्रमाणपत्र, दोस्रो हुनेले १० हजार नगद, मेडल र प्रमाणपत्र, तेस्रो र सान्त्वना स्थान प्राप्त गर्ने टोलीलाई ५/५ हजार नगद पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।
संविधान दिवसलाई भव्यताका साथ मनाउन ब्याडमिन्टन प्रतियोगिताका साथै सरसफाई कार्यक्रम, दीपावली, प्रभातफेरी र कोणसभाको पनि आयोजना गरिएको छ।
बुधवार प्रत्येक सरकारी कार्यालय सरसफाइ गर्ने र बुधवारदेखि शुक्रवारसम्म प्रत्येक दिन साँझ सरकारी कार्यालय र घरघरमा दीपावली गर्ने कार्यक्रम छ।
बिहीवार विहान सदरमुकाममा प्रभातफेरीपश्चात् प्रशासन कार्यालयअगाडि शहीद दशरथचन्दको सालिकनजिक कोणसभा आयोजना गरिएको संविधान दिवस जिल्ला मूल समारोह समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख खगेन्द्रसिंह धामीले बताए।
कोणसभापश्चात जगन्नाथ बहुउद्देश्यीय हलमा ब्याडमिन्टन प्रतियोगिता समापनका साथै हल निर्माण गर्न सहयोग गर्नेहरूलाई सम्मानको कार्यक्रम रहेको छ।
शुक्रवार यहाँका प्रशिद्ध जगन्नाथ मन्दिर र त्रिपुरासुन्दरी मन्दिर सरसफाइका साथै पूजाआजा गरिने संविधान दिवस जिल्ला मूल समारोह समितिले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।