ललितपुर : बागमती प्रदेश स्केटिङ एण्ड स्केट बोर्डिङ संघको आयोजनामा काठमाडौंमा पहिलो संस्करणको ‘जाम जाम स्केट जाम’ स्केट बोर्ड प्रतियोगिता आयोजना हुने भएको छ। प्रतियोगिता शुक्रबार र शनिबार हुन लागेको हो।
स्केट बोर्ड र रोलर स्केट गरी दुई विधामा आयोजना हुने प्रतियोगितामा र सातै प्रदेशका १७० खेलाडीले प्रतिस्पर्धा गर्ने मंगलबार आयोजित पत्रकार सम्मेलनमा बागमती प्रदेश स्केटबोर्डका अध्यक्ष प्रकाश श्रेष्ठले जानकारी दिए।
थापाथलीस्थित इन्जिनियरिङ कलेजमा हुने रोलर स्केटमा १०० प्रतिस्पर्धी हुनेछन्। स्केट बोर्ड पुल्चोक क्याम्पसको कोर्टमा हुनेछ। प्रतियोगितामा ७० खेलाडी सहभागी हुनेछन्।
खुला प्रतियोगितामा पुरुष र महिला दुवैले एउटै इभेन्टसमा बराबरी रूपमा प्रतिस्पर्धा गर्नुपर्ने पनि आयोजकले जनाएको छ।
शीर्ष चार स्थानमा आउने खेलाडीले क्रमशः ३० हजार, १५ हजार, १० हजार र ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिताको कुल अनुमानित बजेट ८ लाख रुपैयाँ छ।
पत्रकार सम्मेलनमा संघका केन्द्रीय अध्यक्ष अच्युत खनालले स्थानीय पालिकासँग खेलको विकासका लागि समन्वय गर्दै अघि बढ्ने नीतिअनुरूप काठमाडौं महानगरपालिकाबाट स्केट बोर्डको पूर्वाधार बनाउन जग्गा प्राप्त भइसकेको बताए।
संघले खेल पूर्वाधार निर्माण गर्न पहल थालिसकेको पनि अध्यक्ष खनालले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।