|

काठमाडौँ : महालक्ष्मी विकास बैंक र मनकामना दर्शन प्रालिले नेपाल आएका भारतीय पर्यटकहरुलाई क्युआर मर्चेन्टमार्फत भुक्तानी सेवा प्रदान गर्न मिल्ने अन्तरदेशीय क्युआर पेमेन्ट सुविधा प्रवर्द्धन गर्न सहकार्य गरेका छन्। 

महालक्ष्मी विकास बैंक र मनकामना दर्शनले यही असोज १ गते एक कार्यक्रमबीच उक्त सहकार्यको विधिवत रुपमा शुरुवात गरेका हुन्। 

यसअन्तर्गत फोन पे (fonepay) सँगको सहयोगमा भारतीय पर्यटकहरुले भारतीय भुक्तानी सेवा प्रदायकहरु जस्तै भिमपे, यु.पि.आई., फोनपे, गुगलपे आदिको माध्यमबाट महालक्ष्मी बैंकले उपलब्ध गराएको क्युआर कोडमा स्क्यान गरी मनकामना दर्शन गर्न लाग्ने शुल्कको भुक्तानी गर्न सक्नेछन्। 

गोरखाको मनकामनास्थित मनकामना माताको दर्शन भारतीय धार्मिक पर्यटकहरुको पहिलो रोजाइमा रहेकोले डिजिटल भुक्तानीमा समेत उल्लेख्य वृद्धि हुने विश्वास महालक्ष्मी विकास बैंक र मनकामना दर्शनले लिएका छन्। 

यसबाट भारतीय पर्यटकहरुलाई मनकामना दर्शन सहज हुनुका साथै नेपाल-भारतबीच रहेको आर्थिक, सामाजिक तथा पारस्परिक सम्बन्ध थप नयाँ उचाइमा पुर्‍याउने, नेपालको आर्थिक तथा पर्यटन विकासमा सहयोग पुग्ने र सरकार तथा नेपाल राष्ट्र बैंकले लिएको डिजिटल नेपाल अभियानलाई समेत टेवा पुग्ने विश्वास महालक्ष्मी विकास बैंकले लिएको छ। 

यसअघि पनि महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउस (एनसिएचएल) ले नेपाल र भारतबीच अन्तरदेशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी गरेका थिए। 

डिजिटल भुक्तानीका माध्यमहरुको नवीनतम प्रयोगप्रति बैंक सधैँ प्रतिबद्ध रहेको र नेपालभरि रहेका बैंकका शाखा सञ्जाल तथा मर्चेन्ट नेटर्वकको माध्यमबाट अन्तरदेशीय क्युआर भुक्तानीमा समेत अग्रणी सेवा प्रदायकको रुपमा स्थापित हुने विश्वास बैंकले लिएको छ।

“सबल बैंक, सफल सहकार्य” नारा आत्मसात गर्दै ३० वर्षदेखि नेपालीको घरदैलोमा अनवरत गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकका देशभरि १०३ वटा शाखा कार्यालय र करिब ८ लाख ग्राहक रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.