काठमाडौं : अमेरिकाले जलवायु परिवर्तनका असर कम गर्ने उत्थानशील उपाय अवलम्बन तथा स्वच्छ ऊर्जा प्रवर्द्धनका क्षेत्रमा नेपालसँग सहकार्य गर्न प्रतिबद्ध रहेको बताएको छ।
बिहीबार अमेरिकी विदेश मन्त्रालयले वक्तव्य जारी गरी नेपालसँगको ७७ वर्ष पुरानो मैत्रीलाई आफ्नो देशले अधिक महत्त्व दिएको जनाएको छ। विदेशमन्त्री एन्टोनी ब्लिङ्केनका तर्फबाट जारी प्रेस वक्तव्यमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई नेपालको आर्थिक वृद्धिमा सघाउने अनुदान परियोजनाका रूपमा व्याख्या गर्दै न्याय र प्रजातान्त्रिक मूल्य-मान्यताको प्रवर्धनका साथै जनस्तरको सम्बन्ध विस्तार र आर्थिक वृद्धिका निम्ति निरन्तर सहकार्य गर्न प्रतिबद्ध रहेको जनाइएको छ ।
सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक हालै पारित भएकोलगायत लोकतान्त्रिक प्रणालीलाई सबल बनाउन नेपालले धेरै उपलब्धि हासिल गरेको महत्त्वपूर्ण क्षणमा अमेरिका पीडितहरूलाई न्याय दिलाउने दिशामा उक्त विधेयकको सफल कार्यान्वयनको प्रतीक्षा गरिरहेको वक्तव्यमा उल्लेख छ।
वक्तव्यमा संविधान दिवसकोअवसरमा नेपाल सरकार र नेपाली जनताप्रति हार्दिक शुभकामना व्यक्त पनि गरिएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।