|

काठमाडौँ : नेपाल आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानसँग पराजित भएको छ। क्यानडाको किङ्ग सिटीमा हिजो राति भएको खेलमा ओमानले नेपालमाथि १ विकेटको जित हात पारेको हो।

नेपालले दिएको २२१ रनको लक्ष्य ओमानले ४९ ओभर ५ बलमा ९ विकेट गुमाएर पूरा गर्‍यो। ओमानका लागि ओपनर जतिन्दर सिंहले ४९ बलमा सर्वाधिक ४१ रन बनाएका थिए। ओपनर सिंहलाई सन्दिप लामिछानेले आउट गरेका थिए।

ओमानका अर्का ओपनर काश्यप प्रजापतीले ५२ बलमा ३६ रन जोडे। प्रजापतीलाई आरिफ शेखले विकेटकिपर आसिफ शेखको हातबाट क्याच आउट गराए। कप्तान अकिब इल्यासले ३३ बलमा २९ रन बनाउँदै आउट भए। प्रतिक अथाभाले र सोएब खानले २६/२६ रन तथा खलिद कैलले १७ रन जोडे।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले रोहित पौडेल र गुलशन झाको अर्धशतकमा ५० ओभरमा ९ विकेट गुमाएर २२० रनको योगफल तयार पारेको थियो।

नेपालका लागि कप्तान रोहितले कप्तानी पारी खेल्दै ७२ बलमा २ चौका र ४ छक्काको सहयोगमा ६० रन जोडे। कप्तान पौडेलले ६४ बलमा आफ्नो दशौँ अर्धशतक पूरा गरेका थिए। रोहित महत्वपूर्ण पारी खेलेर ओमानका कप्तान अकिब इल्यासको बलमा आउट भए।

गुलशनले ३५ बलमा ४ चौका र ५ छक्काको सहयोगमा ५३ रन बनाएका थिए। झाले ३१ बलमा आफ्नो चौथो ओडीआई अर्धशतक पूरा गरेका थिए। महत्वपूर्ण रन बनाउँदै उनी फैयाज बटको बलमा आयान खानबाट समातिए।

एक समय ३१ बनाउँदा ३ विकेट गुमाएर संकटमा परेको नेपालका लागि कप्तान रोहित र आरिफ शेख मिलेर चौथो विकेटका लागि ८३ रनको महत्वपूर्ण साझेदारी गरे। आरिफ ८८ बलमा ३५ रन बनाउँदै सकिल अहमदको बलमा कट बिहाइन्ड भए। सोमपाल कामी ८ बलमा २० रन बनाएर आउट भए भने सन्दीप लामिछाने ११ रनमा नट आउट रहे।

त्यसअघि ओपनर अर्जुन साउद चौथो ओभरको पहिलो बलमा आउट भएका थिए। करिब १५ महिनापछि नेपाली टिममा फर्किएका अर्जुन १२ बलमा ५ रन बनाउँदै आउट भए। उनी कलिमुल्लाहको बलमा फैयज बटबाट क्याच भएका थिए।

अर्का ओपनर आसिफ शोएब खानको बलमा ११औँ ओभरको तेस्रो बलमा ११ रन बनाउँदै आउट भए। तेस्रो विकेटका रुपमा भीम पनि फैयाज बटको बलमा ११ रन बनाएर आउट भए।

ओमानका लागि फैयाज बट, अकिब इल्यास र कलिमुल्लाहले २/२ विकेट तथा सोएब खान र सकिल अहमदले १/१ विकेट लिए।

अन्तिम ओभरमा सम्हालिन नसक्दा नियमितजस्तै बनेको पराजय

गत जुनमा भएको आईसीसी टी–२० विश्वकपमा दक्षिण अफ्रिकाविरुद्ध नेपाल १ रनले पराजित भयो। पराजयसँगै दक्षिण अफ्रिकाविरुद्ध जित हात पार्ने नेपालको आशामा तुषारापात भयो। आफ्नो पक्षमा आइसकेको उक्त खेलमा नेपालले गुमाउनुपर्दा खेलाडीसँगै सम्पूर्ण नेपाली क्रिकेटप्रेमी निराश बने।

अन्तिम ओभरमा संयमित हुन नसक्दा नेपालले आफ्नो पक्षमा आइसकेका यस्ता खेलहरु गुमाउँदै आएको छ।

यसकै अर्को उदाहरण बन्यो हिजोको ओमानविरुद्धको खेल। नेपालले दिएको २२१ रनको लक्ष्य ओमानले ४९ ओभरमा ५ बलमा ९ विकेट गुमाएर पूरा गर्‍यो। अन्तिम ओभरका ६ बलमा ८ रन जोगाउन नसक्दा नेपालले पराजित हुँदै लिग-२ शृंखलामा महत्त्वपूर्ण २ अंक ओमानलाई सुम्पियो।

अभागी गुलशन

महत्वपूर्ण खेलमा नेपाली अलराउण्डर गुलशन झा अभागी बन्न पुग्ने गरेका छन्। विश्वकपमा दक्षिण अफ्रिकासँगको खेलमा पनि नेपालको क्रिजमा थिए गुलशन। अन्तिम ओभरमा जितका लागि ८ रन बनाउनु पर्नेमा ६ रनमात्र बनाएपछि नेपाल १ रनले पराजित हुन पुगेको थियो।

उक्त खेलमा ८ रन चाहिएका वेला गुलशनले पहिलो र दोस्रो बल डट खेलेका थिए तर तेस्रो बलमा चौका तथा चौथो बलमा २ रन जोडेर नेपाललाई जित उन्मुख गराएका थिए।

यसपछि अफ्रिकाका ओटेनिल वार्टमानको पाँचौँ बल डट भयो। अन्तिम बलमा १ रन जोडे खेल टाई हुन्थ्यो भने २ रन जोडे जित। अन्तिम बलमा रनका लागि दौडेका गुलशन रन आउट हुन पुगे र नेपाल १ रनले पराजित हुन पुग्यो।

हिजो ओमानसँगको खेलमा गुलशनले उत्कृष्ट प्रदर्शन गरे। उनले ३५ बलमा ४ चौका र ५ छक्काको सहयोगमा ५३ रन बनाए। उनले ३१ बलमा आफ्नो चौथो ओडीआई अर्धशतक पूरा गरेका थिए। नेपालका लागि महत्वपूर्ण पाली खेल्दै उनी फैयाज बटको बलमा आयान खानबाट समातिए।

बलिङतर्फ पनि नेपालका लागि गुलशनले ५ विकेट लिए। उनको एक्लो अलराउन्ड प्रदर्शनले मात्र नेपाललाई जीत दिलाउन पर्याप्त भएन। जीत दिलाउन नसके पनि उनी म्यान अफ दी म्याच भए।

क्यानडासँगको खेलमा फ्लप भएको ब्याटिङ

३ महिनापछि अन्तरराष्ट्रिय क्रिकेट खेल्दा पनि नेपालले ब्याटिङमा आफूलाई सुधार नगरेको उदाहरण पेश गर्‍यो। फलस्वरूप क्यानडाविरुद्धको खेलमा नेपाल १०३ रनको फराकिलो अन्तरले पराजित भयो।

वन डे क्रिकेटमा नेपाल क्यानडाको हातबाट पराजित भएको यो पहिलो पटक हो। नेपालको पराजयको मुख्य कारण यसपटक पनि खराब ब्याटिङ नै रह्यो।

क्यानडाले ८ विकेटमा २५३ रन बनाएको थियो। जवाफमा नेपालले ४० दशमलव १ ओभरमा अल आउट हुँदै १५० रनमात्र बनाउन सक्यो। नेपालका लागि कुनै पनि ब्याटरले सम्झनलायक ब्याटिङ गर्न सकेनन्।

नेपालका लागि आक्रामक ब्याट्सम्यान कुशल भुर्तेलले १ रन, कुशल मल्लले १२ रन र ‘टाइगर’ दिपेन्द्रसिंह ऐरीले जम्मा ८ रन बनाए। दशौँ क्रमका ब्याटर करण केसीले २४ बलमा बनाएको २७ रन नै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रहन पुग्यो।

नियमित अन्तरमा विकेट गुमाएको नेपालका लागि सन्दीप लामिछानेले २२ रन र ओपनर आसिफ शेखले २० रन बनाएका  थिए।

यसअघि नेपालले आईसीसी टी–२० विश्वकपमा दक्षिण अफ्रिका, बंगलादेश र नेदरल्याण्ड्ससँगको खेल पनि खराब ब्याटिङकै कारण गुमाएको थियो।

ओमानसँग कस्तो रह्यो खेल?

ओमानसँगको खेलमा ३ खेलाडी कुशल भुर्तेल, दिपेन्द्रसिंह ऐरी र कुशल मल्ललाई आराम दिँदा अर्जुन साउद, अनिल साह र आरिफ शेखले अवसर पाए। उनीहरू तीनैजनाको खेल निराशाजनक रह्यो।

ओपनर साउदले १२ बलमा ५ रन बनाए भने साहले ९ बलमा ३ रन बनाए। शेखले ८८ बलमा ३४ रनको योगदान दिए पनि स्ट्राइक रेट भने ३९ को रह्यो।

अन्य खेलाडी आसिफ शेखले २८ बलमा ११, भीम सार्कीले ३२ बलमा ११ रन बनाए। कप्तान रोहित पौडेलले ७२ बलमा ६० रन बनाएर केही राहत दिए।

गुलशनले ३५ बलमा ५३ रनको आक्रामक खेल खेले। करण केसीले ८ बलमा २०, सन्दीप लामिछानेले १५ बलमा ११ र सोमपाल कामीले ३ बलमा १ रन बनाए।

त्यस्तै बलिङतर्फ नेपालका लागि गुलशनले ५ विकेट लिए भने करण केसीले २ विकेट तथा आरिफ शेख र सन्दीप लामिछानेले १/१ विकेट लिएका थिए।

अंक गुमाउँदै नेपाल

लिग–२ मा नेपालले खेलेको यो छैटौँ खेल हो भने पाँचौँ हार हो र टिमले २ अंकमात्र बटुल्न सकेको छ। जितपछि ओमान ५ खेलमा ५ अंकका साथ छैटौँ स्थानमा छ। नेपाल सातौँ स्थानमा छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.