काठमाडौं: अल्जाइमर्स अर्थात् बुढ्यौलीमा लाग्ने रोग। अक्सर ६० वर्ष उमेर पुगेपछि लाग्ने रोग हो यो। रोग पुष्टि भइसकेपछि पूर्णरूपमा निदान गर्न नसकिने भए पनि समयमानै पत्ता लागेर उपचार गर्न सकियो भने राम्रोसँग रोकथाम गर्न सकिने यो समस्या भएका बिरामी विश्वमा मात्रै हैन नेपालमा पनि धेरै छन्।
सन् २०१५ को एक अध्ययनका अनुसार हाल नेपालमा ८० हजार अल्जाइमर्सका बिरामी छन्। अझै डरलाग्दो कुरा के छ भने यो संख्या बढेर सन् २०३० सम्ममा एक लाख ५० हजार पुग्ने र सन् २०५० सम्ममा तीन लाख पुग्ने अनुमान गरिएको छ। नेपालमा हाल भएका अल्जाइमर्सका बिरामीमध्ये ९० प्रतिशत भन्दा बढी बिरामी ६० वर्षमाथिका छन्।
नेपालमा ६० वर्ष माथिका जेष्ठ नागरिकको जनसंख्या १०.१ प्रतिशत रहेको छ भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मानसिक स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार ६० वर्षभन्दा माथिका करिब ७ प्रतिशत नागरिक कुनै न कुनै प्रकारको ‘डिमेन्सिया’बाट प्रभावित छन्।
विश्व स्वास्थ्य संगठनका अनुसार, हाल विश्वभर पाँच करोड ५० लाख मानिस डिमेन्सिया रोगबाट प्रभावित छन्। जसमध्ये अल्जाइमर्स रोगले सबैभन्दा बढीलाई प्रभावित गरको छ। प्रत्येक वर्ष करिब १ करोड डिमेन्सियाका नयाँ बिरामी थपिन्छन्, र यो संख्या २०५० सम्म दोब्बर हुने अनुमान गरिएको छ।
के हो अल्जाइमर्स?
अल्जाइमर डिमेन्सियाको एक प्रकार हो। यसमा स्मरण शक्तिमा ह्रास हुने,भर्खरै भएका कुराहरू सम्झिनलाई समस्या हुने र क्रमश: पुराना कुराहरू पनि बिर्सिँदै जाने र रोग निकै नै बल्झिएको अवस्थामा पुगेपछि आफ्नै दैनिक काम आफैँले गर्न समेत नसकेर परनिर्भर हुने अवस्थामा पुग्छन्।
सम्झिने क्षमता कम हुने रोगलाई अल्जाइमर्स भनिन्छ। अल्जाइमर्स ले व्यक्तिको व्यवहार तथा व्यक्तित्वमा परिवर्तन गर्ने, र्बिसने, अरुलाई विश्वास गर्न नसक्ने, शंका गर्ने, हिँडडुल गर्न नसक्ने अवस्थामा पुर्याउँछ। यो मस्तिष्कका विकृतिको समूहगत रोग हो। जसले सोच, स्मृति, निर्णय क्षमता तथा व्यक्तित्वलाई प्रभावित गर्छ। सुरुको अवस्थामा अधिकांश बिरामीले उपचारको आवश्यकता महशुस नगर्दा यो रोग बिस्तारै बढ्दै जान्छ।
यो समस्या किन हुन्छ?
यस रोगको प्रमूख कारण बढ्दो उमेर भएता पनि प्रमुख जोखिम- श्रवण शक्तिमा कमी, नसर्ने रोग उच्च कोलेस्ट्रोल, उच्च रक्तचाप, मोटोपन, मधुमेह , मस्तिष्कमा चोट, दृष्टिमा कमी, वायु प्रदूषण, पोषण तत्वको कमी, मदिरा र धुम्रपानको सेवन, डिप्रेसन, एक्लोपन, शारीरिक निष्क्रियता आदि हुन्।
यस्ता लक्षण देखिए...
अल्जाइमर्सको सुरुवाती लक्षणले दैनिक जीवनमा असर नगरेर पनि लक्षण बढ्दै जाँदा बिरामीको दैनिक जीवशैलीमा नै अप्ठ्यारो पर्न जान्छ। यदि ६० वर्षको उमेर भएका व्यक्तिमा एउटै कुरा बारम्बार दोहोर्याउने, ध्यान केन्द्रित गर्नलाई समस्या हुने, खाएको बिर्सिने जस्ता सुरुवाती लक्षण हुन तर यी लक्षणमा धेरैले त्यति ध्यान दिएको देखिँदैन। यो लक्षणलाई बेवास्ता गरियो भने समस्या जटिल बन्दै जान्छन्। आफूले जानेको कुरा तथा आफुले पहिला जानेका सिप बिर्सिँदै जाने मात्रै नभएर बिरामीले घर र परिवारका सदस्य बिर्सने जस्ता समस्या पनि देखिन्छ।
यदि समयमा नै यस्ता लक्षणको बेवास्ता नगरेर चिकित्सकको परामर्शमा पुर्याइएन भने यस्ता लक्षण झनै जटिल बढ्दै जान्छ र बिरामी दैनिक क्रियाकलापमा नै पूर्णरूपमा परनिर्भर हुन पुग्छ। रोग निकै नै बल्झिसकेको अवस्थामा भने खाना निल्न पनि समस्या हुन्छ। खाना वा पानी सर्केर वा निमोनिया भएर उनीहरूको मृत्यु हुन्छ।
समयमै पत्ता लगाएर उपचार गरे १५ वर्षसम्म नियन्त्रण गर्न सकिन्छ
अल्जाइमर्स रोग देखिए पछि पूर्ण सञ्चो नहुने भए पनि सुरुवाती लक्षण देखिँदैमा परीक्षण गरेर चिकित्सकको निगरानीमा रहे १०/१५ वर्षसम्म बिरामीले सामान्य जीवनशैली अपनाउन सक्छ। तर लक्षण जटिल हुँदै गएर उपचार गरियो भने बिरामीको लक्षणलाई ४/५ वर्षसम्म मात्र नियन्त्रणमा राख्न सकिन्छ। यसको मुख्य बुझ्नु पर्ने कुरा के हो भने अल्जाइमर्सको लक्षणको आधारमा उपचार गरिने हो। त्यसैले सुरुवाती लक्षणलाई नै नियन्त्रणमा राख्न सकियो भने बिरामीलाई धेरै सहज हुन्छ।
रोग पत्ता लगाउन परिवारको भूमिका महत्त्वपूर्ण
अल्जाइमर्सको पत्ता लगाउन परिवारको भूमिका महत्त्वपूर्ण हुन्छ। त्यसैले परिवारमा ६० वर्षमाथिका नागरिक बिरामी छन् र बारम्बार एउटै कुरा दोर्याउने, बिर्सने समस्या छ भने चिकित्सकलाई देखाइहाल्नु पर्छ। ६० वर्ष पुगेका जोसुकै नागरिकले अन्य स्वास्थ्य उपचार परीक्षण गरे जसरी वर्षमा एकपटक अल्जाइमर्सको जोखिम छ छैन भनेर परीक्षण गर्न सकियो भने यो समस्याबाट धेरै बच्न सकिन्छ।
यदि यो समस्या देखियो र जटिल बन्दै गए बिरामीलाई मात्रै नभएर परिवारका अन्य सदस्यको दैनिक जीवनमानै असर गर्ने हुँदा आफ्नो परिवारमा रहेका जेष्ठ नागरिकलाई वर्षमा एकपटक यससम्बन्धी चिकित्सककोमा परीक्षण गराउनु धेरै राम्रो हुन्छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।