फाराम भरेका ३ हजार अनुपस्थित

|

काठमाडौँ : राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई)को पूरक (ग्रेडवृद्धि) अर्थात् मौका परीक्षाको नतिजा हिजो प्रकाशित गरेको छ। गत साउन २३ देखि ३१ गतेसम्म सञ्चालित एसइई पूरक (ग्रेडवृद्धि) परीक्षामा २ लाख १० हजार ३२१ जना परीक्षार्थी सहभागी थिए।

तर दुईपटक अर्थात् एसइईको मौका परीक्षा दिँदा पनि झण्डै एक लाख परीक्षार्थीहरू फेल (ननग्रेडेड)भएका छन्। २ लाख १० हजार ३२१ जना परीक्षार्थीमध्ये एक लाख १९ हजार ४२५ जना परीक्षार्थी अर्थात् ५६.७८ प्रतिशत परीक्षार्थीले मात्रै ग्रेड प्राप्त गरेका छन्।

तीमध्ये ९० हजार ८९६ जना फेल अर्थात् ननग्रेडेड भए। यसभित्र यसअघि एसइई परीक्षामा अनुपस्थित विद्यार्थीहरू पनि सहभागी छन्। २०८० साल चैत्र १५ गतेदेखि सञ्चालन भएको एसइई परीक्षामा नियमित परीक्षार्थीको रूपमा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुपस्थित सबै परीक्षार्थीका लागि पूरक (ग्रेडवृद्धि) परीक्षा सञ्चालन भएको थियो।

दुईपटकसम्म एसइई परीक्षा दिँदा पनि यति धेरै संख्यामा विद्यार्थी फेल भएपछि शिक्षण सिकाइमा ठूलो प्रश्न खडा भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले एसइई को नतिजा ७० प्रतिशतसम्म पुर्‍याउने बारम्बार घोषणा गर्दै आएका छन्। 

बोर्ड भन्छ : विद्यार्थीहरूको कमजोरी हो

राष्ट्रिय परीक्षा बोर्डले असार १३ गते एसइईको नतिजा सार्वजनिक गरेको थियो तर सरकारले नयाँ लेटरग्रेडिङ निर्देशिका लागू गर्दा परीक्षामा सहभागी ४ लाख ६४ हजार ७८५ जना विद्यार्थीमध्ये करिब ४८ प्रतिशत विद्यार्थीमात्र उत्तीर्ण भए। ५२ प्रतिशत अर्थात् २ लाख ४२ हजार ३१३ जना फेल (एनजी) भए।

बोर्डले ३५ प्रतिशतभन्दा कम ल्याए ननग्रेडेड अर्थात् विद्यार्थीहरू फेल हुने निर्णय गरेको छ। जसअनुसार धेरै विद्यार्थी फेल भएपछि सरकारको चर्को आलोचना भयो। त्यसपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एसइईमा दुईभन्दा बढी विषयमा एनजी अर्थात् नन ग्रेड ल्याएका विद्यार्थीलाई पनि मौका परीक्षामा सहभागी गराउने निर्णय गरेको थियो।

जसअनुसार ती सबै ननग्रेडेड भएकाले मौका परीक्षा दिन पाएसँगै परीक्षा दिए तर फेल भए। दुईपटकसम्म पनि एसइई परीक्षा दिँदा पनि फेल हुनु भनेको परीक्षार्थीहरूकै कमजोरी रहेको बोर्डले जनाएको छ।

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेल भन्छन्, ‘दुईपटकसम्म पनि एसइई परीक्षा दिँदा पास गर्न नसक्नु भनेको परीक्षार्थीहरूकै कमजोरी हो। शिक्षण सिकाइमा पनि कमजोरी छ। हामीले कुनै कमी कमजोरी, त्रुटि गरेका छैनौँ, परीक्षार्थीहरूले लेखेकै आधारमा परीक्षण गरी नतिजा प्रकाशन गरिएको हो।’

उनले कतिपय परीक्षार्थीको तयारी नै नपुगेकाले फेल भएको हुनसक्ने बताए। ‘अब कुनैले ७ वटै विषय पास गर्न पनि सक्दैन, तयारी पुगेन। त्यसैले पनि फेल भए’, उनले भने।

‘पास प्रतिशत दर राम्रो छ’

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० का परीक्षा नियन्त्रक पौडेलले उत्तीर्ण प्रतिशत दरमा भने सुधार हुँदै गएको बताउँछन्।

उनले भने, ‘नतिजामा सुधार हुँदै गएको छ, पहिलाको र अहिले गरी उत्तीर्ण प्रतिशत ७४ प्रतिशतभन्दा बढी पुगेको छ। लक्ष्यअनुसार उत्तीर्ण प्रतिशत पुगेकाले यसलाई राम्रो नै मान्नुपर्छ।’

३ हजारले परीक्षा दिएनन्

यो मौका परीक्षामा परीक्षा दिन फाराम भरे पनि ३ हजारले परीक्षा दिएनन्। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० का परीक्षा नियन्त्रक पौडेलका अनुसार एसइई पूरक (ग्रेडवृद्धि) दिनेहरू दुई लाख ३४ हजार थिए। तीमध्ये २४ हजारले मौका परीक्षाका लागि फारमै भरेनन्। ‘परीक्षा फारम भरेका ३ हजारले पनि परीक्षा नै दिएनन्’, उनले भने।

एसइई परीक्षा गत चैत १५ देखि २७ गतेसम्म सञ्चालन भएको थियो। राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा सहभागी हुन ५ लाख ४ हजार विद्यार्थीले फाराम भरे पनि ४ लाख ६७ हजार ७८५ जनाले मात्रै परीक्षा दिए।

परीक्षा फाराम भरेका ३७ हजारभन्दा बढी परीक्षार्थी अनुपस्थित थिए। प्रवेशपत्र लिएकामध्ये पनि ८ हजारभन्दा बढी परीक्षार्थी अनुपस्थित रहेका थिए।

एनजी आएका विषयमा मात्र अर्को परीक्षा सहभागी हुन पाउने

परीक्षा बोर्डले यस परीक्षाको नतिजामा कुनै विषयमा एनजी भएमा लगातार तीन वर्षसम्म एनजी आएका विषयमा मात्र ग्रेडवृद्धिका लागि आगामी वार्षिक परीक्षामा सम्मिलित हुन पाउने व्यवस्था गरेको छ।

आगामी वर्षको वार्षिक परीक्षा २०८१ चैत ७ देखि सञ्चालन हुने गरी बोर्डको निर्णयानुसार पनिका कक्षा-१० बाट वार्षिक कार्यतालिका वेबसाइटमा सार्वजनिक भइसकेको छ। तदनुसार परीक्षार्थीहरू र सम्बन्धित विद्यालयले आफ्नो तयारी गर्न सक्ने बोर्डले जनाएको छ।

लेटर ग्रेडिङ निर्देशिका २०७८ (संशोधन सहित)को व्यवस्था अनुसार परीक्षार्थीले परीक्षा दिएको विषयको बाह्य सैद्धान्तिक परीक्षामा ३५ प्रतिशत र आन्तरिक मूल्या‌ङ्कनमा ४० प्रतिशत अङ्क प्राप्त गर्नुपर्ने व्यवस्था छ। जसमा सैद्धान्तिक ७५ पूर्णाङ्कका विषयमा कम्तीमा २७ अंक र आन्तरिक २५ पूर्णाङ्कमा कम्तीमा १० अंक प्राप्त गर्नुपर्ने हुन्छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.