|

पर्वत : चाडपर्व आएको बेला होस वा गाउँमा विकास निर्माणको काम नै किन नहोस् विगतमा ‘झारा’ जाने प्रचलन धेरै थियो। हरेक सामाजिक काममा परिवारको एक जना सदस्य पुगेर सामूहिक रूपमा काम गर्दा गुणस्तर कायम हुने, बजेटको पर्खाइमा बस्नु नपर्ने र राज्यको मुख ताकेर बस्नु नपर्ने अवस्था थियो।

तर आजभोलि ‘झारा’ जाने अर्थात् जनश्रमदान गर्ने चलन हराएको छ। राज्यबाट विकास निर्माणको लागि गाउँ गाउँमा आउने बजेट कार्यान्वयनको लागि केही प्रतिशत जनश्रमदान गरिएको हुनुपर्ने सर्तहरू राखिने भए पनि ती सर्तहरूलाई कागजी रूपमा मिलाइन्छ।

जिल्लाको जलजला गाउँपालिकाले भने गाउँका सबैजना भेला भएर सडक, चौतारी, बस्ती, पानीका मुहान, कुलो लगायतमा काम गर्ने चलनलाई निरन्तरता दिन टोल विकास संस्थाहरूमार्फत यही अभ्यासलाई निरन्तरता दिइरहेको छ।

गाउँपालिकाका सामाजिक विकास अधिकृत भेषनाथ आचार्यका अनुसार गाउँपालिकामा गठन भएका एक सय ३९ वटा टोल विकास संस्थामध्ये एक सय ११ वटा टोल विकास संस्थाहरूले झन्डै आठ लाख रुपैयाँ बराबरको काम गरेका छन्। ती संस्थामा आबद्ध रहेका एक हजार नौ सय ९८ जनाबाट सात हजार नौ सय ९२ घण्टा काम गर्दा गाउँपालिकाका लागि उक्त योगदान मिलेको छ।

‘हाम्रा चाडबाडहरू नजिकै आएका छन्। यो अवस्थामा ‘सहज यात्रा र स्वच्छ वातावरण’ भन्ने नारा सहित असोज एक गतेदेखि सात गतेसम्म एक हप्ते अभियान चलाएका हौँ। हरेक वडाका अधिकांश टोल विकास संस्थाले यो काम गरेका छन्’, सामाजिक विकास अधिकृत आचार्य भन्छन्, ‘जे काम गर्दा पनि राज्यकै भर पर्नुपर्छ भन्ने मानसिकताको लागि यो अभ्यास राम्रो हो। हामीले गरेको मूल्याङ्कनमा आठ लाख रुपैयाँ बराबरको काम भएको छ। यसले समूहमा मिलेर काम गर्ने बानीको विकास गर्दै बस्तीको एकता पनि कायम हुन्छ।’

सामाजिक सहकार्यको भावना जागृत गराउने ‘झारा’ को प्रचलन प्रायः मगर समुदायले भने पालना गर्दै आइरहेका देखिन्छन्। चाडबाडको बेलामा गाउँका सबै जना भेला भएर सडक, चौतारी, बस्ती, पानीका मुहान, कुलो लगायतमा उनीहरूले काम गरेको देख्न पाइन्छ। मगर समुदायले यसलाई मौलिक परम्पराको रूपमा लिएर काम गर्ने गरेको भए पनि अन्य समुदायबाट भने यो प्रचलन करिब लोप भइसकेको छ।

गाउँपालिकाका अध्यक्ष राजु आचार्यले सडक र बस्ती सरसफाइ मात्रै नभएर कृषि उत्पादन, आर्थिक अवस्था कमजोर भएको परिवारमा समस्या आउँदा, कासैको घरमा मृत्यु पर्दा, विवाह हुँदा लगायतका हरेक गतिविधिमा टोल विकास संस्थामार्फत नै सामूहिक रूपमा काम गर्ने बानीको विकास गर्दै लगिएको बताए।

टोल विकास संस्थाको बैठक मासिक रूपमा बसेपछि टोलमा आवश्यक भएका काम गर्ने, टोलमा आवश्यक पर्ने सामग्रीहरूको माग वडा र स्थानीय तहमा गर्ने, स्थानीय तहको पहुँचमा जान नसक्ने अवस्थामा रहेकाहरूको माग पनि संस्थाले नै लैजाने लगायतका असल अभ्यासहरू भइरहेको उनको भनाइ छ।

‘सरसफाइ अभियानका साथै विपन्न नागरिक आर्थिक सहायता, मृतक परिवार भेटघाट, श्रद्धाञ्जली सभा, आर्थिक सहयोग, विवाद समाधान, सडक मर्मत, धारा, कुलो निर्माणमा पनि यसरी नै सामूहिक रूपमा काम हुने गरेको छ’, अध्यक्ष आचार्य भन्छन्, ‘विकासमा प्रत्यक्ष श्रमदान, विविध भइपरी कोष निर्माण, आनीबानी परिवर्तन, बचत गर्ने बानीको विकास लगायतका असल, अनुकरणीय र उदाहरणीय कामहरू निरन्तर रूपमा सञ्चालन हुँदै आइरहेका छन्।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.