अधिकांश व्यापारीले मूल्य वृद्धि गरेको पाइयो

|

काठमाडौँ : सरकारले दशैँलक्षित बजार अनुगमन तीव्र पारेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले टोली खटाएर दैनिक ३५ भन्दा बढी खाद्यान्न, पसल,रेष्टुरेण्ट लगायत क्षेत्रमा अनुगमन गरी कारबाही गर्ने गरेको जनाएको छ। 

विभागले स्थानीय तह, सम्बन्धित निकायको समन्वयमा असोज ४ गतेदेखि दशैँ लक्षित बजार अनुगमन गरेको थियो। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक एवं सूचना अधिकारी डिकबहादुर कार्कीले ८ टोली बनाएर काठमाडौँ, ललितपुर र भक्तपुर यी तीनवटै जिल्लामा यतिवेला बजार अनुगमन भइरहेको जानकारी दिए।

उनले भने, ‘असोज ४ गतेदेखि शुरु भएको दशैँ लक्षित बजार अनुगमन हामीले तीव्र बनाएका छौँ, अहिले ८ टोली खटिएका छन्। यी अनुगमन टोलीले होटल, खाद्यान्न, दूध, कपडा, रेष्टुरेण्ट, पानीलगायत क्षेत्रमा केन्द्रित रहेर बजार अनुगमन गरिरहेका छन्।’

अधिकांश व्यापारीले गरे मूल्यवृद्धि

सरकारले उपभोक्त  नठगियून भनेर वर्षेनि दशैँ लक्षित बजार अनुगमन गर्ने गरेको छ तर उपभोक्ताले अपेक्षा गरेअनुसार प्रभावकारी भने हुन सकेको छैन। राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जनका अनुसार पछिल्लो समय बजारमा कालोबजारी हुन थालिसकेको छ। व्यापारीहरूले ह्वात्तै मूल्य बढाएका छन्। 

उनले भने, ‘व्यापारीहरूले आफूखुसी मूल्य बढाएका छन् तर सरकारले यसमा हस्तक्षेप गरी नियमन गर्न सकिरहेको छैन।’ वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका सूचना अधिकारी कार्कीले भने कालोबजारी गर्ने व्यापारीलाई कारबाही गर्दै आएको बताउँछन्।

उनका अनुसार बढी व्यापारीहरूले मूल्य वृद्धि गरेको बजार अनुगमनबाट पाइयो। त्यस्तै म्याद नाघिसकेको खाद्यपदार्थ बेचिरहेको पाइएको छ। ‘हामीले त्यस्तो गर्नेलाई ऐन कानुनअनुसार जरिवाना गराउने, सचेत गराउने, अखाद्य वस्तु नष्ट गर्ने काम गर्दै आएका छौँ’, उनले भने।

१२१ वटालाई कारबाही, १३ लाख उठ्यो जरिवाना

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका सूचना अधिकारी कार्कीले अहिले दैनिक बजार अनुगमन गरी कारबाही विवरण, जरिवाना सबै विभागको वेबसाइटमा राख्दै आएको जानकारी दिए।

उक्त विभागको विज्ञप्तिअनुसार दशैँ लक्षित बजार अनुगमन शुरु (असोज ४ गते) भएदेखि हालसम्ममा १२१ वटा होटल, खाद्यान्न, दूध, कपडा, रेष्टुरेण्ट, पानीलगायतलाई कारबाही गरेको उल्लेख छ।

असोज ४ गते १६ वटा, ५ गते १९ वटा, ६ गते २१ वटा, ७ गते ३२ र ८ गते (हिजो) ५४ वटा पसल, रेष्टुरेण्ट लगायतलाई कारबाही गरिएको विवरण छ। जरिवाना भने पाँच हजारदेखि ३ लाखसम्म जरिवाना गराएको विज्ञप्तिमा उल्लेख छ। जारी गरिएको विज्ञप्तिअनुसार ती कारबाहीबाट १३ लाख ४० हजार जरिवाना उठाइएको छ।

विभागले गत सोमबार वेदिका इन्क प्रा.लि. (शाखा) काठमाडौं महानगरपालिका-३१ स्थित नयाँ बानेश्वरमा रहेको जिम्बु थकाली रेष्टुरेण्टमा अनुगमन गर्दा पिउने पानीको बोटलमा एमआरपीभन्दा बढी मूल्य लिई विक्री वितरण गरिएको पाएको थियो।

त्यसपछि उपभोक्ता संरक्षण ऐन, २०७४ को दफा १६ को उपदफा (१) को खण्ड (क) बमोजिम अनुचित व्यवसायजन्य क्रियाकलाप गरेकाले सोही ऐन को दफा ३८ को खण्ड (ङ) बमोजिमको कसूरमा सोही ऐनको दफा ३९ को उपदफा (१) को खण्ड (ख) बमोजिम उक्त​ व्यावसायिक फर्मलाई तीन लाख जरिवाना गराएको थियो।

काठमाडौं महानगरपालिकाले आज (बुधबार) खुद्रा तथा थोक बिक्रेतालाई ४ बुँदे निर्देशन जारी गरेको छ। महानगरपालिकाले महानगरपालिका क्षेत्रभित्र सञ्चालित खुद्रा तथा थोक बिक्रेतालाई महानगरपालिकाले मूल्य सूची बनाएर पसलको अग्रभागमा सबैले देख्ने गरी राख्नुपर्नेछ, अङ्कित अधिकतम मूल्यभन्दा बढी मूल्यमा बिक्री वितरण नगर्ने सुनिश्चित गर्नुपर्ने निर्देशन दिएको छ।

त्यसैगरी उपभोग गर्ने अवधि बाँकी भएको मालसामान मात्र बिक्री वितरण गर्नुपर्ने, खाद्य, पेय तथा अन्य वस्तुको गुणस्तर, शुद्धता र स्वच्छता कायम गर्नुपर्ने निर्देशन दिएको छ।

महानगरपालिका प्रमुख साहले भनेका छन्, ‘अनुगमनका क्रममा माथि उल्लिखित अवस्थाविपरीत कसैले कुनै वस्तु वा सेवा बिक्री वितरण गरेको पाइएमा, उजुरी परेमा वा गुनासो प्राप्त भएमा यस कार्यालयबाट खटिने अनुगमन टोलीका सदस्य वा कार्यालयबाट प्रचलित कानुनबमोजिम कारबाही गरिनेछ।’

केही समस्या परे वा उजुरीका लागि ११८० मा सम्पर्क गर्न सकिने महानगरपालिकाले जनाएको छ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.