समिति भन्छ : प्राविधिक रूपमा तयार छौँ
समिति भन्छ : प्राविधिक रूपमा तयार छौँ
काठमाडौँ : सरकारले घटस्थापनाअघि नै मेलम्ची खानेपानी काठमाडौँ उपत्यकामा ल्याउने तयारी गरे पनि अन्योल देखिएको छ। खानेपानीमन्त्री प्रदीप यादवले केही दिनअघि दशैँअघि नै मेलम्चीको पानी उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिएका थिए। दशैँअघि उपत्यकामा मेलम्ची पानी आउने सम्भावना न्यून बन्दै गएको हो।
मेलम्चीका बाढी पीडितहरूले आफूहरूका माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौँ उपत्यकामा लैजान नदिने चेतावनी दिइसकेका छन्। हिजो(बुधबार) मेलम्ची खानेपानी बाढीपीडित संघर्ष समितिले हेलम्बु गाउँपालिका क्षेत्रमा प्रदर्शन गर्यो।
उनीहरूले यति धेरै वर्षसम्म पर्खिएको तर सरकारले अहिलेसम्म पनि बेवास्ता मात्रै गर्दै आइरहेको भन्दै विरोध प्रदर्शन गरेका थिए। सरकारले पहिला माग पूरा गरिदिनुपर्ने, त्यसपछि मात्रै काठमाडौँमा पानी लैजान दिने उनीहरूको अडान छ।
अर्कोतर्फ जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजदेखि चार दिन लगातार मौसम बदली भई ठाउँठाउँमा भारी वर्षा हुने सम्भावना रहेको जानकारी दिएको छ। महाशाखाले वर्षाले ५६ जिल्ला रेड जोन (उच्च जोखिम)मा रहेको जनाएको छ। महाशाखाका अनुसार वर्षा हुने प्रणाली नै यो वर्षको दशैँसम्म लम्बिने देखिएको छ।
यी नै दुई कारणले गर्दा मेलम्ची पानी दशैँअघि नै काठमाडौँ उपत्यकामा आउँछ वा आउँदैन भन्ने हालसम्म निर्णय लिन नसकिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक निर्देशक रत्न लामिछानेले जानकारी दिए। यद्यपि पानी ल्याउन सकिने सम्भावना भने रहेको उनको भनाइ छ।
उनले प्राविधिक रूपमा दशैँअघि नै पानी पठाउने गरी तयारी अवस्थामै आफूहरू रहेको जानकारी दिए। ‘तर स्थानीयहरूले विभिन्न माग राख्दै विरोध गरिरहनु भएको छ,कतिपय माग त पूरा भइसकेको छ। अरू मागको विषयमा छलफल भइरहेको छ,अर्को चाहिँ यो वर्ष मनसुन लम्बिने भनिएको छ,मौसम पूर्वानुमान महाशाखाले भारी वर्षा हुने भनेको छ,रेड जोन पनि तोकेको छ,उक्त भित्र मेलम्ची पनि पर्छ, त्यही भएर हालसम्म दशैँअघि नै पानी पठाउने वा नपठाउने भन्नै सकिएको छैन’, उनले भने।
अब खानेपानी मन्त्रालयले निर्णय गरेपछि मात्रै त्यहीअनुसार गरिने उनले बताए। ‘दशैँअघि पानी पठाउन सकिने सम्भावना त छ, अब हेरौँ मन्त्रालयले के निर्णय गर्छ,’ उनले भने। मेलम्ची नदीको बहाव बढेर बाढी आई धमिलिन थालेपछि मेलम्ची खानेपानी गत असार १० गतेदेखि बन्द गरिएको थियो।
मेलम्चीको पानी बन्द गरिएसँगै काठमाडौँ उपत्यकामा पानी वितरण व्यवस्थापनमा समस्या भएको छ। काठमाडौँ उपत्यकामा दैनिक ४३ करोड लिटर पानी माग रहेकोमा हाल विभिन्न स्रोतबाट दैनिक १३-१४ करोड लिटर पानी मात्रै आपूर्ति भइरहेको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले जनाएको छ।
केयूकेएलका प्रवक्ता प्रकाशकुमार राईका अनुसार मेलम्चीको पानी नआएपछि अहिले २ देखि ३ दिनको अन्तरमा उपत्यकाभित्र पानी वितरण भइरहेको छ।
पटक पटक स्थानीयको माग तर राज्यको बेवास्ता
बाढीपीडितहरूले पटक पटक सरकारसँग माग सम्बोधन गर्न दबाब दिँदै आएका छन्। सरकारले भने बेवास्ता गरेको छ। गत जेठ २३ गते पनि मेलम्ची खानेपानी बाढीपीडित संघर्ष समिति र त्यस क्षेत्रमा क्रियाशील राजनीतिक दलहरूले संयुक्त विज्ञप्ति जारी गर्दै सुरुङ प्रवेश गराइएको पानी योस वर्षको वर्षायाममा निरन्तर पथान्तरण गर्न र नदीतिर नफर्काउन चेतावनी दिएका थिए।
संघर्ष समिति,हेलम्बु गाउँपालिका समिति नेपाली कांग्रेस, हेलम्बु गाउँपालिका कमिटी नेकपा (एमाले), हेलम्बु गाउँपालिका कमिटी नेकपा (माओवादी), हेलम्बु गाउँपालिका समिति राष्ट्रिय स्वतन्त्र पार्टी, हेलम्बु गाउँपालिका समिति राष्ट्रिय प्रजातन्त्र पार्टीले जारी विज्ञप्तिमा मेलम्ची खानेपानी आयोजना र यसबाट प्रभावित क्षेत्रमा २०७८ साल असार १ र साउन १६ र १७ गते आएको भीषण बाढीका कारण आयोजनाको मुख्य हेडवर्क्सभन्दा तल्लो तटीय क्षेत्रका मुख्य सडक मार्गमा क्षति पुगेको उल्लेख छ।
त्यसैगरी झोलुंगे पुल, पुल पुलेसा, सिँचाइ कुलो, पाटी पौवा, मठमन्दिर, हेलम्बु इलाका प्रहरी कार्यालय, हेलम्बु गाउँपालिका २ नं वडा कार्यालय, नागरिकका घर गोठमा क्षति पुगेको भनिएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘नागरिकका जीविकोपार्जनसँग जोडिएका हजारौँ रोपनी खेतीयोग्य फाँट, विद्यालय, क्याम्पसका पूर्वाधार तथा दर्जनौँ व्यावसायिक फार्म ट्राउट, कुखुरा, च्याउ फार्म, घट्ट, मिल, हाते कागज, काष्ठ, ब्लक, स–मिल, फर्निचर, पसल, होटल, रिसोर्ट इत्यादि तहसनहस हुनुका साथै नागरिकको दैनिकी जीवन कहालीलाग्दो रहेको सर्वविदितै छ।’
तैपनि राज्यले यस्तो परिस्थितिलाई सहजता, समाधान उन्मुख र नागरिकका चोटहरूमा मलमपट्टी गर्न केही पहल नभएको उनीहरूको गुनासो छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।