विज्ञ भन्छन् : दोहोरिएर डेंगु हुनु ज्यादै घातक
विज्ञ भन्छन् : दोहोरिएर डेंगु हुनु ज्यादै घातक
काठमाडौँ : कलंकीका ३२ वर्षीय विवेक शर्मा (नाम परिवर्तित) दुई वर्षअघि डेंगुका विरामी भए। निकै गाह्रो भएपछि उनी अस्पताल भर्ना भए। एक हप्ता अस्पताल बसेर घर फर्किएका उनी सामान्य अवस्थामा फर्कन लगभग एक महिना लाग्यो। दुई वर्षपछि अहिले फेरि उनी डेंगुका विरामी भएका छन्।
डेंगु देखिएपछि उनी अहिले चिकित्सकको निगरानीमा घरमै उपचार गराइरहेका छन्।
यतिखेर काठमाडौँ उपत्यकामा डेंगु संक्रमण तीव्र फैलिरहेको छ। विवेक मात्रै होइन यतिखेर काठमाडौँमा डेंगुका विरामी हुनेहरू प्रायः दोस्रोपटक भएको पाइएको छ। स्वास्थ्य तथा संख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)को विवरणअनुसार हाल काठमाडौँको संक्रमणदर १२ प्रतिशतभन्दा माथि रहेको छ।
सेप्टेम्बर महिनामा काठमाडौँमा विरामी तीव्ररूपमा बढिरहेका छन्। अहिले काठमाडौँ जिल्लामा मात्रै डेंगुका एक हजार ५४० जना विरामी छन्।
यी विरामीमध्ये प्रायः दुई वर्षअघि पनि डेंगुको विरामी भएको हुँदा अहिले फेरि धेरैलाई दोहोरिएर संक्रमण भएको पाइएको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताए। उनका अनुसार दोहोरिएर डेंगुका विरामी भएर अस्पताल आएकाहरूमा कडा लक्षण रहेको छ।
डा. पुनले भने‚ ‘सन् २०२२ मा काठमाडौँमा डेंगु व्यापक रूपमा फैलिएको थियो र धेरै संक्रमित भएका थिए। त्यसैगरी पछिल्ला दिनमा हाल काठमाडौँमा पनि तीव्र रूपमा डेंगु संक्रमित बढ्न थालेका छन्। रोचक कुरा त दुई वर्षअघि डेंगु संक्रमित भएकाहरू योपटक पनि संक्रमित भएका पाइएको छ, दोहोरिएर डेंगु संक्रमित हुनु स्वास्थ्यको जोखिमले ज्यादै घातक मानिन्छ।’
डा. पुनका अनुसार हालसम्म नेपालमा डेंगुका ४ वटा प्रकार (सेरोटाइप) पुष्टि भएका छन्। तीमध्ये नेपालमा हाल १ र २ व्यापक र केही सेरोटाइप ३ बाट संक्रमित हुने गरेका छन्।
एउटै व्यक्तिलाई डेंगुको फरक-फरक प्रकारको संक्रमण भए निकै गम्भीर असर हुने हुँदा दोहोरिएर विरामी भएकाहरूलाई फरक खालको सेरोटाइपबाट भएको पुष्टि भएपछि धेरै सावधानी अपनाउनुपर्ने डा. पुनको भनाइ छ। ‘दोहोरिएर डेंगु हुनु ज्यादै जोखिम हो भने फरक फरक सेरोटाइपका रोगी हुनु एकदमै जोखिम हो।
दोहोरिएर फरक/फरक सेरोटाइपबाट संक्रमण हुँदा विरामीमा जटिलता हुने र मृत्यु हुने जोखिम धेरै हुन्छ। हाम्रोमा कुन खालको सेरोटाइपका विरामी बढी छन् भनेर परीक्षण गर्ने काम कम भइरहेको छ’‚ डा. पुनले भने।
काठमाडौँमा पनि डेंगु तीव्ररूपमा फैलिरहेको अवस्थामा केहीलाई दुई वर्षपछि पुनः संक्रमण भएको पाइएको बताउँछन् इडिसिडीका किटजन्य शाखा प्रमुख डा. गोकर्ण दाहाल।
उनका अनुसार सन् २०२२ मा काठमाडौँ लगायतका जिल्लामा महामारीकै रूपमा डेंगु फैलदा धेरैमा सेरोटाइप १,२ र ३ बाट धेरै संक्रमित भएका थिए। तर योपटक भने कुन खालको सेरोटाइपबाट संक्रमण तीव्ररूपमा फैलिरहेको छ भनेर भर्खरै केही नमूना परीक्षणको तयारीमा रहेको छ।
‘हाम्रोमा हालसम्म डेंगुको सेरोटाइप १,२ र ३ बाट धेरै संक्रमित भएको पाइएको छ। दुई वर्षअघि काठमाडौँमा तीव्ररूपमा डेंगु फैलदा यही ३ प्रकारका सेरोटाइपका विरामी भेटिएका थिए।
दोहोरिएर विरामी भए पनि कुन खालको सेरोटाइपका विरामी हुन् भनेर हालसम्म परीक्षण गरेका छैनौँ। कुन सेरोटाइपका विरामी बढी छन् भनेर नमूना परीक्षण गर्ने तयारी गरिरहेका छौँ’‚ डा. दाहालले भने।
फरक फरक सेरोटाइपका दोहोरिएर विरामी भए स्वास्थ्यमा जटिलता हुने अधिक सम्भावना रहेको डा. दाहालले बताए। ‘पहिलोपटक जुन सेरोटाइपले संक्रमण भएको थियो। दोस्रोपटक पनि सोही सेरोटाइपको विरामी भए त्यति जोखिम हुँदैन तर फरक फरक सेरोटाइपका विरामी छन् भने धेरै जोखिम हुन्छ’‚ डा. दाहालले भने।
सेप्टेम्बर महिना लागेपछि काठमाडौँमा पनि संक्रमण उच्च बढेको इडिसिडीको विवरणमा उल्लेख गरिएको छ। हाल काठमाडौँमा डेंगु संक्रमण उच्च भएर अवस्था भयावह भने नबनेको डा. दाहालले बताए।
इडिसिडीको विवरणअनुसार काठमाडौँ, तनहुँ, कास्की र पर्वत डेंगु संक्रमणको रेड जोनमा रहेका छन्। विरामीको संख्याको आधारमा काठमाडौँ अहिले तेस्रो नम्बरमा छ।
पहिलोमा कास्की र दोस्रोमा तनहुँ छन्। हाल कास्कीमा एक हजार ९०३, तनहुँमा एक हजार ६४५, काठमाडौंमा एक हजार ५४० र पर्वतमा एक हजार ११० जना संक्रमित रहेका छन्।
विगतमा पनि जुलाईदेखि सेप्टेम्बरसम्म संक्रमण उच्च रहेको थियो भने अक्टोबरपछि ओरालो लागेको थियो। सन् २०२३ को अगष्टमा सबैभन्दा धेरै १४ हजार ५३२ जना विरामी भएका थिए। त्यसपछि क्रमशः संक्रमण घट्दै गई सेप्टेम्बरमा १३ हजार ५४७, अक्टोबरमा १२ हजार ४८८, नोभेम्बरमा २१२२ को संख्यामा झरेको थियो।
इडिसिडीका अनुसार सो वर्ष सेप्टेम्बरमा २७ हजार ५२९ पुगेको थियो। अगष्टमा यो संख्या तीन हजार ७०८ मा सीमित थियो। सो वर्ष अक्टोबरमा १७ हजार ८८९ जना विरामी भई नोभेम्बरमा पाँच हजारभन्दा कम भएको थियो।
नेपालमा यसअघि पनि सन् २०१० मा तराईका रूपन्देही, नवलपरासीलगायतका जिल्लामा डेंगुले महामारीको रूप लिएको थियो। नेपालमा पहिलोपटक सन् २००६ मा चितवनमा डेंगु पुष्टि भएको थियो।
पछिल्ला वर्षहरूमा वर्षायाममा डेंगु गम्भीर स्वास्थ्य समस्याको रूपमा देखिने गरेको छ। पहिलोपटक भारतबाट आएका एक व्यक्तिमा डेंगु देखिए पनि पछिल्ला वर्ष नेपालमा वर्षाको समयमा डेंगु रैथाने रोगजस्तै हुन थालेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।